कोशीमा बजेट प्रतिस्थापन विधेयक पेश- एमालेले पनि स्वामित्व लिने मुख्यमन्त्री कार्कीको विश्वास – Nepal Press

कोशीमा बजेट प्रतिस्थापन विधेयक पेश- एमालेले पनि स्वामित्व लिने मुख्यमन्त्री कार्कीको विश्वास

हिक्मतको अध्यादेश बजेटभन्दा ५० करोड बढी, के-के थपियो ?

विराटनगर । २५ लाख रूपैयाँभन्दा माथिको योजनामा मात्रै बजेट विनियोजन गर्ने गरी कोशी प्रदेश सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा हिजो बजेट प्रतिस्थापन विधेयक संसदमा टेबुल गराएका छन् । विधेयकमा १० वर्षभन्दा मुनिका बालबालिकालाई प्रदेशका सरकारी तथा विभिन्न अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थाका लागि बजेट विनियोजन गरिएको छ ।

उनले चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको आयव्यय समेटिएको अनुमानित बजेट ल्याएका छन् । हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशभन्दा यो ५० करोड बढी हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले ल्याएको बजेट अध्यादेशमा भने ३६ अर्ब २४ करोड ३५ लाख १० हजार अनुमान गरिएको थियो । प्रतिस्थापन बजेटबारे आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले जनताको आधारभूत चाहना पूरा गर्ने गरी बजेट ल्याइएको दाबी गरे । उनले एमाले नेतृत्वको सरकारको बजेटलाई आफूले धेरै नचलाएको बताएका छन् ।

कार्कीको दाबी थियो, ‘यो बजेट एमालेले समेत स्वामित्व लिनेछ । यो एमालेले ल्याएकोजस्तै हो । यसको स्वामित्व एमालेले पनि लिन्छ र सांसदबाट पास हुन्छ ।’

उनले आधारभूत जनताको समस्या समाधान गर्नका लागि श्रोत सुनिश्चित भएका कारण थप ५० करोड रूपैयाँ बजेट बढाइएको उनको जिकिर छ । प्रतिस्थापन बजेटमा इटहरीमा प्रदेश जलन अस्पताल बनाउने, कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि बैङ्क तथा वित्तीय संस्थाबाट सहुलीयतपूर्ण कर्जा उपलब्ध गराउने जस्ता कार्यक्रम थपिएका छन् ।

यस्तै निजी क्षेत्रसँगको सहकार्यमा डेरीमा रहेको घिउ र पाउडर दूध निर्यातमा अनुदान दिने, सहकारी संस्थाको नियमित अनुगमन र छानबिनका लागि विज्ञहरूको समिति बनाउने उल्लेख छ । यसैगरी धरानमा तमोरबाट सुरुङ मार्ग हुँदै पानी ल्याउन अध्ययन गर्ने, प्रदेशभित्र आवश्यक पर्ने चिकित्सा, विज्ञान तथा कानून अध्ययन गर्ने स्नातक तहका विद्यार्थीहरूका लागि छात्रवृत्ति व्यवस्थापन गर्ने, प्रदेशभित्र दक्ष जनशक्ति उत्पादन गरी कृषि र पशु प्राविधिक अध्ययन गर्न प्रत्येक स्थानीय तहमा १ जनाको दरले छात्रवृत्ति उपलब्ध गराउने, जस्ता कार्यक्रम पनि थपिएको छ ।

अपाङ्गता भएका विद्यार्थीका लागि स्थापना भएको लागि आवास व्यवस्थापन, सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीका लागि बालमैत्री नमूना कक्षा सञ्चालन गर्ने जस्ता कार्यक्रम पनि प्रतिस्थापन बजेटमा समावेश गरिएको छ । राष्ट्रिय विभूति फाल्गुननन्द भाषा संस्कृति अध्ययन प्रतिष्ठानको स्थापना, शैलजा आचार्य हृदय रोग उपचार केन्द्र स्थापनाजस्ता कार्यक्रममा पनि बजेट विनियोजन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर