‘प्रचण्डले ठाउँ छाड्दा हुन्छ, गगनले नेपाली हमास साइबर सेना विघटन नगरे उनलाई नै ‘ब्याकफायर’ गर्छ’ – Nepal Press
नेपाल टक

‘प्रचण्डले ठाउँ छाड्दा हुन्छ, गगनले नेपाली हमास साइबर सेना विघटन नगरे उनलाई नै ‘ब्याकफायर’ गर्छ’

कांग्रेस सांसद राजेन्द्र बजगाईं भन्छन्- देशको अर्थतन्त्र बिचौलिया दीपक भट्टमार्फत एउटा गिरोहले चौंरीको रगत चुसे जसरी चुस्दैछ, सरकार र गठबन्धनको विकल्प खोजौं

काठमाडौं । पछिल्लो समय कांग्रेसभित्र मात्र नभएर सामाजिक सञ्जालतिर पनि चर्चा र कन्ट्रोभर्सीमा छन् नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं । माओवादी अध्यक्ष प्रचण्डलाई चितवनबाट गोरखा लगेर प्रधामन्त्रीको उम्मेदवार बनाउने वातावरण निर्माणमा संलग्न एक पात्र बजगाईं गोरखा १ बाट निर्वाचित सांसद हुन् ।

तर, पछिल्लो समय उनी प्रधानमन्त्री र वर्तमान सरकारको विकल्प खोज्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छन् । कांग्रेस सभापति र सीमित नेताबाहेक प्रचण्डले अरुलाई बाल नदिएको र कांग्रेस कार्यकर्ताले यो सरकार आफ्नो हो भन्ने अनुभूति नगरेकाले प्रधानमन्त्रीले पद त्याग्नु राम्रो हुने उनको सुझाव छ ।

बजगाईं आफ्नै पार्टी र आफ्नो गुटका नेता महामन्त्री गगन थापासँग पनि नाराज छन् । आफूले गगनको आलोचना गर्दा उनका समर्थकहरुले सोसल भिडियाबाट आफूमाथि हिंसा गरेको राजेन्द्रको गुनासो छ । बजगाईं गगन थापाले नेपाली हमास साइबर सेना पालेको आरोप लगाउँछन् ।

प्रस्तुत छ, कांग्रेस सांसद तथा युवा नेता राजेन्द्र बजगाईंसँग गरिएको कुराकानी नेपाल टकमाः

– तपाईंले हालै सामाजिक सञ्जालबाट देशको अर्थतन्त्र एउटा व्यक्ति र सीमित मारवाडी घरानाको कब्जामा गयो भनेर लेख्नुभयो, दुर्गा प्रसाईंकै लाइनमा जानुभएको हो ? जहाँँ स्टक मार्केटदेखि इन्स्योरेन्ससम्मका कुरा गर्नुभएको छ । यो विषयलाई प्रस्ट रुपमा आम सर्वसाधारणले बुझ्ने भाषामा बुझाइ दिनुहुन्छ कि ?

नेपालको बजार सानो छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पूँजी यति ठूलो छ, त्यो पूँजीलाई नै मध्यनजर गरेर नयाँ स्टक एक्सचेन्जलाई जारी गर्ने, अनुमति दिने त्यसपछि दुइवटै संस्था सँगसँगै चल्न नसक्ने परिस्थितिको व्याख्या गर्ने तयारी रहेछ ।

अहिले भइरहेको नेपाल स्टक एक्सचेन्ज चुस्त दुरुस्त बनाउनुपर्नेमा अर्को ल्याउने कुरा नै भेस्टेड इन्ट्रेस्टबाट आएको छ । नेप्सेको स्थायी सम्पत्ति छन् । आज अर्को कम्पनी थपेर भोलि दुइटै चल्न सकेनन् भन्ने र लास्टमा सरकारको यो प्रपर्टी पनि हत्याउने योजनाबाट अर्को स्टक एक्सचेन्जको लाइसेन्स दिन लागिएको हो ।

अहिले तमाम मानिसहरु नेप्सेमा लालायित छन् । उनीहरु त्यसमा पेनिट्रेड हुन्छन् । त्यो भनेको नेपाल सरकारको अधिनस्थ रहेको संस्था निल्ने खेल हो । त्यसकारण मैले भनें, कमोडिटी एक जनालाई, रिइन्स्योरेन्स पनि एक जनालाई लगायत नेपालको सम्पूर्ण फाइनान्सियल सेक्टर एकै जनामार्फत नेपाली राजनीतिज्ञहरुलाई वितरण गरेर, त्यो हाम्रो गााउँतिर खसी भाग लगाए जस्तो बाँडेर सीमित मानिसहरुले इन्जोय गर्ने उद्देश्य देखियो ।

– एउटै व्यक्ति भन्नाले कसलाई भन्न खोज्नुभएको ? दीपक भट्टको त तपाईंले नामै लिनुभयो, होइन ?

दीपक भट्ट एउटा पात्रमात्रै हुन् । यहाँ धेरै प्रकारका उद्यमीहरु छन् । यहाँ ट्रेडका मानिसहरु पनि उद्यमी भन्छन्, होइनन् । दीपक भट्टजीले आफ्नो जीवनमा गरेको जानेको व्यापार गरिरहनुभएको छ । ‘हि इज अ कि म्यान, हि इज अ प्लानर’ । हिप्नोटाइज गरिदिनुहुन्छ उहाँले ।

– लाइसेन्स दिने कुरामै पैसाको चलखेल भयो, होइन ?

त्यही भन्न खोजेको हो । प्रिमियम चार्ज गर्ने । जहाँ वास्तविक शेयरको मूल्य अलग छ । त्यो प्रिमियमबाट तिनै मान्छेहरु पेनेट्रेड हुने । कतिले सुरुमै नजराना लिन्छन् । त्यसरी मानिसहरु पेनेट्रेड हुन खोजिरहेको देखियो । एउटै बिचौलियामार्फत यी एकाध मान्छेले नेपालको अर्थतन्त्रलाई सके । हाम्रोतिर कुनै पर्वमा चौंरीको रगत पिउने चलन छ, त्यसैगरी दीपक भट्टको मध्यस्थतामा सीमित व्यक्तिले नोपलको इकोनोमी चुस्ने पर्व चलाइरहन्छन् बेलाबेला । अहिले त्यही भइरहेको छ ।

एउटै बिचौलियामार्फत यी एकाध मान्छेले नेपालको अर्थतन्त्रलाई सके । हाम्रोतिर कुनै पर्वमा चौरींको रगत पिउने चलन छ, त्यसैगरी दीपक भट्टको मध्यस्थतामा सीमित व्यक्तिले नोपलको इकोनोमी चुस्ने पर्व चलाइरहन्छन् बेलाबेला । अहिले त्यही भइरहेको छ ।

– बैंकदेखि वस्तु बजारसम्म सबै उनीहरुकै छ । भनेपछि उनीहरु बिग्रिएपछि अर्थतन्त्र पनि ध्वस्त हुने हो ?

अरु प्रतिस्प्रर्धामा के छ जे-जे छ सबै कब्जा गरेपछि ? नयाँ त्यस्तो संस्था जन्माउने अथवा यसैलाई भरणपोषण गर्ने नेपाल स्टक एक्सचेन्जलाई नै राम्रो गर्ने गर्नुपर्‍यो सरकारले ।

– अर्थतन्त्र यसरी केही व्यक्तिले चुसिरहेको भन्नुभयो, यो विषयमा अर्थमन्त्रीसँग त कुरा गर्नुभएको होला नि ?

अर्थमन्त्रीज्यूसँग कुरा भएको छ । मैले सोधेका सबै प्रश्नको उत्तर व्यक्तिगत रुपमा चिया पिउँदा होस् वा कतै भेट्दा उहाँलाई आवश्यकता नपर्ला । मेरो पार्टीको नेता हुनुहुन्छ । मेहनत पनि गरिरहनुभएको छ । तर, सफल हुनुभएको छैन ।

– चुनाव भएको एक वर्ष भयो । सरकारमा गएको पनि एक वर्ष पुग्न लाग्यो । कांग्रेसका सांसदको हिसाबले अहिले पार्टीबाट गएका भेट्रान नेताहरुको सरकारमा परफरमेन्स कस्तो छ ?

यो व्यवस्थालाई टिकाउन सबै एकदम चुस्त दुरुस्त पर्फेक्ट छन् । सत्ता जोगाउनलाई, सरकारमा बस्नलाई र गठबन्धनको प्रतिरक्षा गर्नलाई कांग्रेसका सबै मन्त्री एक ठाँउमा छन् । तर, जनताको काम गर्न उनीहरु सम्पूर्ण रुपमा असफल भएका छन् ।

– तपाईं पछिल्लो समय कन्ट्रोभर्सीमा आइरहनु हुन्छ । महाधिवेशनमा शेखर गगन टीमको कोर सदस्य तर, अहिले अर्कै कुरा छ । महामन्त्री गगन थापाको चर्को आलोचक बन्नु पनि भएको छ । खासमा अहिले शेखर र गगन सँगै छैनन् भन्ने सन्देश दिनुभएको हो ?

मैले देखेको उहाँहरु सँगै हुनुहुन्न । कमजोरी दुवै जनाको देखिन्छ । म त्यहाँ लिडरसीप देखिरहेको छैन । महामन्त्री र डाक्टर शेखरबीचको एकता र हार्दिकता नभएको पाएँ । यसमा बराबर कमजोरी छ पनि म भन्दिनँ । शेखरलाई गगनले दलको नेता प्रस्ताव गरिदिएको भए वा शेखरले गगनलाई भावी प्रधानमन्त्री भन्दिएको भए हुन्थ्यो कि ? अहिले युनिक सेल्स गर्ने व्यक्ति गगनजी विश्वजीहरु हुन् । पब्लिक बीसबाइस वर्षको मान्छे अहिले गगन विश्वसँग पनि छैनन् । अलिकति रास्वपातिर गएका छन् । केही बालेनतिर छन् । दुर्गा प्रसाईंहरुको एउटा राष्ट्रिय एजेन्डा छ, भ्रष्टाचारविरुद्ध । त्यो ठीक हो ।

– तपाईंले संसदीय दलमा गगनलाई भोट दिनुभएन, शेरबहादुर देउवालाई भोट दिनुभयो भन्ने कुरा छ । एउटै टीमको सांसद भएर गगनलाई भोट नदिने अनि शेखर-गगन भनेर हुन्छ त ?

मविरुद्ध त्यो क्याम्पेन नै गर्‍यो, उहाँ (गगन थापा)को हमास साइबर सेनाले । नेपालको हमास साइबर भन्छु म तिनीहरुलाई । हमाससरह हमला गर्ने एउटा ग्रुप रहेछ । अस्ति पनि मविरुद्ध त्यही गर्‍यो, त्यो संगठित हमास साइबर सेनाले ।

सत्ता जोगाउनलाई, सरकारमा बस्नलाई र गठबन्धनको प्रतिरक्षा गर्नलाई कांग्रेसका सबै मन्त्री एक ठाँउमा छन् । तर, जनताको काम गर्न उनीहरु सम्पूर्ण रुपमा असफल भएका छन् ।

ऋषि धमलाजीसँग दिएको अन्तर्वार्तामा म होलिडे बसेको मान्छे । त्यो बिदाको दिन थियो । मैले कसैलाई अफेन्स गर्ने, विद्यालयमा जाने, सार्वजनिक यातायात चढ्ने, मान्छेहरुलाई दुर्व्यवहार गर्ने, गाली गरें भने ‘आई अफेण्ड द पब्लिक ल’ ।

तर, गगन थापाजीको साइबर सेनाले पिक गर्दो रहेछ यस्ता कुरा । उहाँलाई मैले भनेको पनि छु, ‘द्याट्स नट नाइस !’ कसैले कसैलाई यस्तो साइबर सेना लगाउन हुँदैन । उहाँको साइबर हमासले उहाँलाई नै ब्याक फायर गरिरहेको छ । उहाँले त्यसलाई खारेजै गर्नुपर्छ ।

– उहाँका स्वस्फुर्त समर्थक होलान् नि ?

होइन, मैले गहिरो गरी हेरेको छु । त्यसमा केही मान्छेहरु पत्ता पनि लगाएको छु । उनीहरु एकै ठाउँमा बसेर संगठित अट्याक गर्छन् । तर, त्यस्तो नगर्न सबैलाई भन्छु । त्यसरी कहाँ पुगिन्छ ? एकछिनलाई जनता झुक्याउने काममात्रै हो ।

– अहिले तपाईं पार्टीभित्र कुन गुटमा हो त ?

म शेखरसँगै छु । तर, गुटै बनाउने हो भने भ्रष्टाचारविरुद्ध गुट बनाउनुपर्नेछ । म त्यस्तो गुटको परिकल्पना गर्न चाहन्छु कांग्रेसभित्र, भ्रष्टाचारविरुद्ध गुट बनाउनु पर्नेछ । यद्यपि त्यो गुट बनाउँदा पार्टीभित्र म अल्पमतमा पर्छु । तर, जनताले मलाई विश्वास गर्छन् ।

– नेपाली कांग्रेसमा दलको नेता परिवर्तन गर्न हस्ताक्षर चल्यो भनिन्छ, तपाईं कसको पक्षमा उभिने ?

हस्ताक्षर त मैले शेखरको पक्षमा गर्नुपर्छ । मैले गर्छु नै ।

– त्यही ठाउँमा गगनको नाम आयो भने नि ?

गर्नुपर्‍यो । गुटले भनेपछि त गर्नुपर्‍यो । कि म गुटमा छैन भन्नुपर्‍यो । उहाँले मलाई भन्नुपर्‍यो, यसकारण दलको नेता परिवर्तन गर्नुपर्‍यो । मलाई कन्भिन्स गर्नुपर्‍यो । म कन्भिन्स भइनँ भने कसैलाई पनि गर्दिनँ ।

उहाँ (गगन थापा)को हमास साइबर सेनाले । नेपालको हमास साइबर भन्छु म तिनीहरुलाई । हमाससरह हमला गर्ने एउटा ग्रुप रहेछ । अस्ति पनि मविरुद्ध त्यही गर्‍यो, त्यो संगठित हमास साइबर सेनाले ।

– शेखर कोइरालाले त प्रधानमन्त्री अराजक भए अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भनिसक्नु भयो नि होइन ?

नेपाली कांग्रेसले लिड गर्नुपर्छ सरकारलाई भन्ने कुरामा मैले नाइ भन्न सक्दिनँ । अनि प्रचण्डजीको विकल्प खोज्नुपरेन ? अब जहिले पनि अस्थिरता, संसदमा कसैको बहुमत छैन । जहिले पनि सम्भावना सम्भावना । प्रचण्डजीले नेपाली कांग्रेसको पनि सरकार हो, त्यसैले कांग्रेसले सरकारले गरेको कामको जस पनि लिन्छ र अपजस पनि लिन्छ भन्ने बनाउनु भएको छ कि छैन ? यदि छैन भने उहाँले छोड्नुपर्छ ।

उहाँ नेपाली कांग्रेसका निश्चित साथीहरुसँग एकदमै नजिक भएर काम गरिरहनुभएको छ । सभापतिज्यूसँग पनि नजिकै देखिरहेको छु । बाहिरका कार्यकर्तामा भने यो हाम्रो सरकार होइन भन्ने परेको छ ।

– दुर्गा प्रसाईंले कतिपय सन्दर्भमा भनेका कुराहरु र तपाईंका कुराहरु मेल पनि खाइरहेका छन् । कहीं न कहीं तपाईंको कुरा भएको छ ?

दुर्गा प्रसाईंजीसँग मेरो परिचय वास्तवमा छैन । कहींकतै जम्काभेट भयो भने दुर्गाजी कसैले चिनाइ दिन्छ । कसैले फोन पास गरिदियो भने कुरा होला । उहाँले बनाएको अस्पताललाई त्यो क्षति पुगेको छ, त्यो मान्छु । उहाँले उठान गरेको अभियानको पछाडि थाहा नभएको भन्दिनँ । दुर्गा प्रसाईं एकल मान्छेको अभियानलाई प्रतिकार गर्ने किसिमको त्यो राम्रो कुरा होइन एमालेको लागि ।

– तपाईं आफै पर्यटन व्यवसायी पनि हो, गत महिनामात्रै इतिहासमै हालसम्मकै बढी पर्यटकहरु नेपाल भित्रिएका छन् । देशको पयर्टन क्षेत्र लयमा आएको हो ?

यस वर्ष एनआरएनको पनि निर्वाचन थियो । उनीहरु पनि अन्य देशको नागरिकता लिएकाले विदेशीमै पर्छन् । डुप्लिकेशन पनि धेरै छ । यद्यपि पर्यटन क्षेत्रमा अहिले आशालाग्दो छ । कोभिडपछि पहिलो वर्ष एक्साइटमेन्ट छ ।

दुःखको कुरा सन् १९५९ मा इक्जाइल भएको दलाइ लामाका कारण खम्पा विद्रोहको बेला गृह मन्त्रालयले निषेधित गरेको हिमाली क्षेत्र अहिले पनि उस्तै छ । जनता मरेका छन्, पर्यटक जान पाउँदैनन् । नेपाली जनतालाई पिकअप गर्न हेलिकोप्टर लैजानसमेत दिँदैनन् ।

मलाई कसैले ‘मलाई यो सरकारको आफ्नो मन्त्रीले मानेन निषेधित क्षेत्र खोल्नलाई’ भनेको छ । योभन्दा दुःखको कुरा के होला ? मान्छेहरु सुत्केरी परिरहेका छन्, भीरबाट लडिरहेका छन्, त्यसमा कसले उद्धार गरिरहेको छ ?

– प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्री सबै गोरखाकै भएका बेला पनि निषेधित क्षेत्र खोल्दैनन् भने कहिले खुल्छ त ?

यो अन्तिम मौका हो उनीहरुलाई । म यो खुलासा गर्छु राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा । उहाँहरुलाई म यो मौका दिन्छु । उहाँले एक्जुकेटिभ अर्डरबाट भए पनि खोल्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर