नेपाल जेसीजको ५० औं महाधिवेशन बुटवलमा, २ हजार ५ सय प्रतिनिधि सहभागी हुने – Nepal Press

नेपाल जेसीजको ५० औं महाधिवेशन बुटवलमा, २ हजार ५ सय प्रतिनिधि सहभागी हुने

रूपन्देही । नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन बुटवलमा आयोजना हुने भएको छ । महाधिवेशन मङ्सिर २८ देखि पुस २ गतेसम्म सञ्चालन हुने बुटवल जेसीसले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

महाधिवेशनमा देशभरबाट करिब २ हजार ५०० प्रतिनिधि रहने जनाइएको छ । नेपाल जेसीजका पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले बुटवल जेसीसको ५० औँ वर्षको अवसरमा राष्ट्रिय जेसीजको महाधिवेशन गर्न लागिएको जानकारी दिए ।

उनले यसरी कार्यक्रम गर्नु बुटवलका लागि धेरै गर्वको कुरा भएको बताए । बुटवल जेसीजले यसभन्दा पहिला पनि दुईवटा राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको र यस पटकको महाधिवेशन पनि भव्यताका रूपमा नै सम्पन्न हुने महाधिवेशन निर्देशकसमेत रहेका पोखरेलले बताए ।

नेपाल जेसीजका अर्का पूर्वअध्यक्ष अनुपमान सैंजुले यो महाधिवेशनले बुटवलको आर्थिक गतिविधिलाई चलायमान बनाउन टेवा पुग्ने बताए । बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले पनि बुटवल जेसीजको स्वर्ण जयन्तीको अवसरमा ५० औँ राष्ट्रिय महाधिवेशन गर्न पाउनु ठुलो अवसर भएको बताए ।

यसले बुटवलको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उनको भनाइ छ । महाधिवेशनको अवसरमा बुटवलको मुख्य भाग परिसरमा शान्ति पदयात्रा (प्रभातफेरी) गरिने समेत जनाइएको छ ।

महाधिवेशनलाई भव्य, प्रभावकारी र ऐतिहासिक रूपमा आयोजना गर्न सन् २००७ पछिका १५ जना पूर्व अध्यक्षहरु आयोजक समितिको संयोजक, १२ जना पदाधिकारी सहसंयोजक र ८० जना सदस्यहरू विभिन्न उपसमितिमा रहेका छन् ।

सन् २००७ अघिका १२ जना पूर्व अध्यक्षहरूको सल्लाहकार समिति र ३ सदस्यीय विशेष प्रमुख सल्लाहकार समिति समेत गठन गरिएको छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि करिब २ करोड ६५ लाख ५० हजार खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशन भव्य रूपमा उद्घाटन गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर