‘कोशीको प्रयोग सफल नभएपछि एमाले सत्ताको खेलमा छैन’  – Nepal Press
नेपाल टक

‘कोशीको प्रयोग सफल नभएपछि एमाले सत्ताको खेलमा छैन’ 

एमाले उपाध्यक्ष शाक्य भन्छिन्- एमालेलाई एक्ल्याएर गणतन्त्र र संघीयता बलियो हुँदैन 

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन भत्काउने प्रयास एकपछि अर्को गर्दै आएको छ । तर, संघदेखि कोशी प्रदेशसम्ममा एमालेले गरेको प्रयास सफल हुन सकिरहेको छैन ।

एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाउने गृहकार्य पनि अघि बढाएको थियो। तर, त्यो अहिलेसम्म अघि बढ्न सकेको छैन । एमाले नेताहरूले तिहारलगत्तै सत्ता समीकरण फेरबदल हुने दाबी गर्दै आएका छन् । एमाले नेताहरूले एमालेलाई एक्ल्याएर गणतन्त्र र व्यवस्थामाथि प्रहार बढेको विश्लेषण गर्न थालेको छ ।

पछिल्लो समय राजतन्त्रको एजेण्डा बोकेको राप्रपालाई उछिन्दै व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेपछि  ठूला दलहरू झस्किएका छन् ।

यही विषयसहित सरकार परिवर्तनमा एमालेले गरेको प्रयास, आगामी कदम, मंसिर १४ देखि सुरु हुने मध्य पहाडी लोकमार्ग केन्द्रित अभियानलगायतको विषयमा केन्द्रित रहेर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग नेपाल प्रेसले गरेको संक्षिप्त कुराकानी:

– तिहारलगत्तै सरकार ढल्छ भन्ने कतिपयको विश्लेषण थियो । अहिले पनि एमाले त्यसतर्फ केन्द्रित छ ?

अहिले हामी त्यसतर्फ केन्द्रित छैनौं । हामी जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा केन्द्रित भएका छौं । अहिले सत्ताको समीकरणमा लागेका छैनौं । अलिक अगाडि पहल भएकै हो, कोशीबाट नयाँ ढंगले जान सकिन्छ कि भनेर । कोशीको चलखेलले त संघीयताप्रति नै मान्छेहरूमा वितृष्णा जाग्ने परिस्थिति बन्यो । सत्ताको खेलमा सरकार ढाल्ने र बनाउने भइरहेको छ । यो जनताले सहने कुरा होइन । संघीयता भनेको यो होइन भनेर हामीले नयाँ ढंगले जान सकिन्छ कि भनेर प्रयास गरेका थियौं । तर, त्यो सम्भावना तत्काललाई टरेको छ ।

– भूकम्प प्रभावित क्षेत्रमा एमालेले कसरी काम गर्छ ? 

हामी राहत वितरणमा पनि कसरी एकपक्षीय भयो भन्नेमा केन्द्रित हुन्छौं । पुनर्निर्माणमा पनि लाग्छौं । खुला आकाशमा बस्नुपर्दा कतिको मृत्यु भइसकेको छ । पहिला पनि भूकम्प जाँदा हामीले पुनर्निर्माणमा नै विशेष ध्यान दिएका थियौं । स्कुल, स्वास्थ्य चौकी, व्यक्तिगत अस्थायी घर टहरा हामीले बनाएर हस्तान्तरण गरेका थियौं । अहिले पनि हामी त्यही केन्द्रित छौं । आजबाट एक हजार स्वयंसेवक काममा गइसक्नुभएको छ ।

– संघदेखि कोशीसम्म एमालेले गठबन्धन भत्काउने गरेको प्रयास किन असफल भयो ?

देशको परिस्थिति जटिल बन्दै गएको छ । सरकार गठबन्धनको नाममा राम्रो काम गर्न सकेको छैन । आर्थिक संकट पनि जटिल बन्दैछ । अहिले जाजरकोट भूकम्पपछि राहत वितरणमा पनि एकद्वार प्रणाली भनिए पनि न्यायोचित वितरण हुन सकेको छैन । त्यसैले सरकार भएर पनि असफल भएको एमालेले महसुस गरेको छ ।

सरकारको अनुभूति जनताले गर्न पाएका छैनन् । चाडपर्वको बेलामा महँगीको मारमा जनता छन् । सरकार जनताप्रति भन्दा पनि सत्ता समीकरणको नाममा मात्रै केन्द्रित रह्यो । सरकारले जनताको सुरक्षामा ख्याल गर्नुपर्ने हो, सुशासनमा ख्याल गर्नुपर्ने हो । भूकम्प पीडितलाई राहत उपलब्ध गराएर पुनर्निर्माणमा जुट्नुपर्ने बेलामा लाग्नुपर्ने हो । तर, सरकार उल्टो बाटोमा हिँडेपछि यसरी हुँदैन भनेर हामीले सोच्नुपर्छ भन्ने एमालेको कुरा हो । त्यसैले सत्ता समीकरण परिवर्तनमा सम्भावना हुन्छ कि भनेर एमालेले प्रयास गरेको हो । तर, तत्काल सम्भावना भएन ।

– गठबन्धन भत्काउने प्रयास असफल हुनुमा पार्टी नेतृत्व जिम्मेवार हुँदैन ?

यो पार्टी नेतृत्वको कारणले सफल नभएको होइन । हामीले देशको स्थिति र परिस्थितिलाई ख्याल गरेरै यसरी चल्दैन, यो सरकारलाई लामो समय चल्न दिनु पनि हुँदैन, चल्दैन पनि । देशमा एकपछि अर्को संकट आउँदैछ । यस्तो बेलामा सरकार गम्भीर नभएपछि मान्छेहरू आक्रोशित भइरहेका छन् ।

जनताले असन्तुष्टि व्यक्त गर्दै पीडामा रोइरहेका छन् । त्यसैले सत्तामा बसेकाहरू जनताप्रति गम्भीर हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो । सरकारले सामाजिक सुरक्षाको ग्यारेन्टी लिनुपर्छ । सुशासन कायम गरेर बलिदानबाट प्राप्त भएको व्यवस्थाको रक्षा गर्न सबै एकजुट हुनुपर्छ ।

यतिबेलासम्म आउँदा जनताले धेरै कुरा पाउनुपर्ने हो । एमालेलाई एक्ल्याएर अलग राख्ने ? एमाले एउटा शक्ति हो । शक्तिदेखि आतंकित भएकै देख्छु । एमालेलाई अलग राखेर जे जे छ, अरू पार्टीहरू मिलेर भागबन्डाको राजनीतिमा केन्द्रित छन् । भागबन्डाबाट मन्त्री र प्रधानमन्त्री भइराख्नेमात्रै देखियो । कुर्सीमा बसेर आफ्नो मात्रै स्वार्थ हेर्नेभन्दा अहिले अरू कुनै काम भएको छैन । यो खालको राजनीति जनताले खोजेको होइन ।

अहिले विकृति र विसंगति व्याप्त छ । त्यसो भएकाले हामीले यो तरिकाले हुँदैन भन्ने सोचेरै गणतन्त्रलाई बलियो बनाउन सकिन्छ । हामीले संघीयता ल्यायौं, यसलाई जोगाउन सक्दैनौं, संघीयतालाई बलियो बनाउनुपर्नेमा कमजोर बनाउने काम भइरहेका छन् । यो गलत सन्देशले वातावरण झन् झन् बिगार्दै गएको छ । एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन । हामीले सत्ता परिवर्तनको खेलमा नयाँ ढंगले जानुपर्छ, सोचेर लाग्नुपर्छ भन्ने सोचेरै छलफल गरेर कांग्रेससँग पनि कुरा गरेका हौं ।

– एमालेले लोकमार्ग केन्द्रित अभियान किन गर्दै छ ?

सचिवालयको निर्णयअनुसार मंसिर १४ गतेदेखि हामीले मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान गर्दैछौं। त्यहाँको वस्तुस्थितिबारे प्रदीप ज्ञवाली र विष्णु रिमालजी अध्ययनको लागि जानुभएको थियो। देशलाई समृद्ध बनाउन लोकमार्गको स्थिति, कहाँ के गर्नुपर्छ ? अध्ययन पनि गछौं। बैतडीको झुलाघाटबाट हाम्रो यात्रा सुरु हुन्छ।  हामी अहिले त्यही तयारीमा छौं ।


प्रतिक्रिया

One thought on “‘कोशीको प्रयोग सफल नभएपछि एमाले सत्ताको खेलमा छैन’ 

  1. एमालेलाई मात्र अलग राख्ने खेल भईरहेको तपाईले अहिले मात्र थाहा पाउनुभएको हो भने तपाईं राजनीतिमा अझै कच्चा हुनुहुँदोरहेछ । हामीले राजनीति नगरेको भए पनि सचेततापूर्वक हेर्दा के देखेका थियौं भने एमाले र खासगरी ओलिलाई एक्ल्याउन दिल्लीले नेकपा कालमा प्रचण्ड, माधवजस्ता सिखण्डी प्रयोग गर्यो । अहिले देशको माया नभएका, दलाली गरेर भए पनि सत्तामा नबसी नहुनेहरू, जसको सामूहिक नाम गठबन्धन भएको छ ,लाई एक गराउने पनि दिल्ली नै हो । यिनलाई सरकारमा ल्याए नेपालमा जे पनि गर्न सकिन्छ भन्ने दिल्लीलाई लागेको छ । अर्थात ठगबन्धनलाई सत्तामा राखिरहने र नेपाल लुटिरहने । ठगबन्धनका ठगहरूलाई सत्ता दिए देश बेच्न पनि तयार छन् । एमाले नभए यिनले देश बेचिसक्थ्ये अहिलेसम्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर