महिला टी-२० सिरिज : नेपालले आज हङकङसित खेल्ने – Nepal Press

महिला टी-२० सिरिज : नेपालले आज हङकङसित खेल्ने

काठमाडौं । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधवार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले ७ः१५ बजे जापान र तान्जानियाबीच हुँदै छ ।

नेपाल पहिलो खेलमा बुधवार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । नेपालका लागि सीता राना मगरले मात्र सम्झिनलायक खेल प्रदर्शन गरिन् । उनले ४३ रन बनाइन् ।

हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी वरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै वरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर