प्रथम ठोकर्पा कप भलिबल प्रतियोगिता : उपाधि सुनखानीलाई, पूर्व भलिबल खेलाडीहरू सम्मानित – Nepal Press

प्रथम ठोकर्पा कप भलिबल प्रतियोगिता : उपाधि सुनखानीलाई, पूर्व भलिबल खेलाडीहरू सम्मानित

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाको सहयोग र वडा नम्बर १ को आयोजनामा सुनकोशी गाउँपालिका–१ ठोकर्पामा आयोजित प्रथम ठोकर्पा कप वडा स्तरीय भलिबलको उपाधि वडा नम्बर–५ सुनखानीले हात पारेको छ । दीपावलीको अवसरमा सुनकोशी वडा नम्बर १ कार्यालयले भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नम्बर ५ सुनखानीले आयोजक समेत रहेको वडा नम्बर–१ ठोकर्पालाई २५–२० ,२६–२४ र २५–१८ को सोझो सेटमा हराउँदै उपाधिमा कब्जा जमाएको हो । त्यस्तै प्रतियोगितामा वडा नम्बर –६ पाडीडाँडाले वडा नम्बर–६, १२ किलोलाई हराउँदै तेस्रो भएको थियो ।

सुनकोशी वडा कार्यालय भित्रका विभिन्न ११ टिमको प्रतियोगितामा सहभागिता रहेको वडाध्यक्ष कुमार शाहीले जानकारी दिए । प्रतियोगितामा वडा नम्बर–५ का दिनेश भण्डारी वेस्ट स्पाइकर,सोही वडाका ईश्वर खत्री वेष्ट लिफ्टर र वडा नम्बर–६ को अन्तरपु–टिमुरे फेयर प्ले टिम घोषित भएको थियो । प्रतियोगिताभरको वेस्ट प्लेयर वडा नम्बर–१ का मिलन पहरी घोषित भएका थिए ।

प्रतियोगीताका उत्कृष्ट टिम तथा विजेता खेलाडीहरूलाई सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष श्रवणकुमार जिसी, उपाध्यक्ष कान्छी लामा, सुनकोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडका लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रथम हुने टिमले नगद ३० हजार सहित ट्रफी,मेडल र प्रमाण–पत्र पाएका थिए भने दोस्रो हुने टिमले नगद २० हजार र तेस्रो हुने टिमले नगद ५ हजार सहित ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले वडा को आयोजनामा अहिले वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना भएको र अब गाउँपालिकाले छिट्टै अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । खेलले सबै क्षेत्रलाई जोड्न सफल भएकोले गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । प्रतियोगितामा राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत राखेका थिए ।

पूर्व भलिबल खेलाडीहरू सम्मानित

सुनकोशी गाउँपालिका–१ ले आयोजना गरेको भलिबल प्रतियोगिताको अवसरमा सुनकोशी गाउँपालिकाका पूर्व भलिबल खेलाडीहरूलाई सम्मान गरेको थियो । आफ्नो ऊर्जामय युवा अवस्थामा गाउँपालिकालाई भलिबल खेलको माध्यमबाट अगाडि बढाउन योगदान दिएको भन्दै पूर्व खेलाडीहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा वडा नम्बर–६का स्वर्गीय भूपेन्द्र थापा (भतिज) लाई मरोणोपरान्त सम्मान गरिएको थियो । त्यस्तै निलध्वज थापा, गौतम भण्डारी, केशव न्यौपाने, श्रवणकुमार जिसी, दीपेश भण्डारी, प्रमोद न्यौपाने, नेत्रबहादुर कार्की, तुलबहादुर आचार्य, कृष्ण केसी, रामशरण कार्की, दीपक बराल, विक्रम भण्डारी लाई सम्मान गरिएको थियो ।

त्यस्तै पूर्व भलिबल खेलाडीहरू केवल न्यौपाने, निर्मल भण्डारी, ध्रुव पौडेल, चन्द्रमणि खनाल,राजकुमार कार्की र गोकुल न्यौपानेलाई सम्मान गरिएको थियो । सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले खेलाडीहरूलाई सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर