अन्तरजातीय विवाह गर्दा जनप्रतिनिधि नै सामेल भइ दलित युवकमाथि कुटपिट र जरिवाना, मार्ने धम्कीपछि विस्थापित – Nepal Press

अन्तरजातीय विवाह गर्दा जनप्रतिनिधि नै सामेल भइ दलित युवकमाथि कुटपिट र जरिवाना, मार्ने धम्कीपछि विस्थापित

जनकपुरधाम । अन्तरजातीय विवाह गरेकै कारण सर्लाहीमा एक युवकमाथि जनप्रतिनिधिकै अगुवाईमा कुटपिट र जरिवाना गरेको घटना सार्वजनिक भएको छ ।

विवाह गरिसकेको अवस्थामा युवतीलाई अलग गरेर मार्ने धम्की दिएपछि दलित युवक विस्थापित समेत भएका छन् । उनी हुन् सर्लाहीको बरहथवा नगरपालिका १७ का २३ वर्षीय रुपेश बैठा ।

रुपेश यादव समुदायकी युवतीलाई साउन २८ मा भगाएर विवाह गरेका थिए । उनीहरुबीच प्रेम चल्दै थियो ‌। समाजले नमान्ने सोचेर उनीहरु ईटहरी पुगेर विवाह गरेको बुझिएको छ ।

विवाह गरिसकेको अवस्थामा युवतीका आफन्तले रुपेशलाई ईटहरीबाट खोजेर ल्याए । त्यसपछि जनप्रतिनिधिको उपस्थितमा पञ्चायत बस्यो । उक्त पञ्चायतले रुपेशसहित चार जनालाई ४ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको दलित अगुवा विनोद महराले जानकारी दिए ।

उनका अनुसार विवाह गरेका युवक रुपेशलाई डेढ लाख, मुख्य सहयोगी भन्दै जलिन्दर यादवलाई पनि डेढ लाख तथा बेचन राय र दिपेश रामलाई ५०/५० हजार जरिवाना गरेको थियो । दिपेश रामले जरिवाना रकम तिर्न नसक्दा उनको घरबाट भैंसी खोलेर लगिएको छ ।

घरबाट भैंसी खोलेर लगेको विषयमा विवाद भएपछि त्यहांका दर्जनौं दलितहरुमाथि कात्तिक २० गते कुटपिट भएको छ । घाइतेहरुको बरहथवा र जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार दलित युवककी आमा र विवाह गरेकी युवतीको बुबा वडा सदस्य छन् । दुवैजना जनता समाजवादी पार्टी (जसपा)बाटै वडा सदस्यमा निर्वाचित भएकी हुन् । जसपा भने घटनामा मौन देखिएको छ ।

अन्तरजातीय विवाह गरेकै निहुंमा दण्ड जरिवाना गर्नु र जरिवाना तिर्न नसक्दा भैंसी खोलेर लग्नु, सांघातिक आक्रमण गर्नु जस्ता कानूनलाई चुनौती दिनेहरुलाई कारबाहीको दायरामा ल्याउन दलित अगुवा तथा दलित अधिकारका लागि आवाज उठाउने संघसंस्थाहरुले माग गरेको छ ।

सामाजिक पञ्चायतीमा भएको निर्णण बमोजिम केटा पक्ष र सहयोग गर्नेहरुलाई गरिएको जरिवाना फिर्ता गराउन स्थानीय प्रशासनसँग दलित अगुवा विनोद महराले माग गरे । उनले भने, ‘दलितमाथि जनप्रतिनिधिहरुले पञ्चायतको नाममा जघन्य अपराध गरेका छन् । यसको छानबिन गरी दोषीहरुमाथि कानूनी कारबाही गर्नुपर्छ ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *