वन्यजन्तुलाई थापिएको धरापमा परेर मजदुरको मृत्यु – Nepal Press

वन्यजन्तुलाई थापिएको धरापमा परेर मजदुरको मृत्यु

रुपन्देही । बर्दियामा वन्यजन्तुबाट खेतबाली जोगाउन थापिएको विद्युतीय धरापमा परेर एक जनाको मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका २ वनमुढुवास्थित खेतमा राखिएको धरापमा पर्दा स्थानीय २८ वर्षीय रामभागीरथ थारुको मृत्यु भएको हो ।

सब डिभिजन वन कार्यालय, बाँसगढीका वन अधिकृत रामगणेश साहले थ्रेसरमा काम गर्ने मजदुर थारु धान दाउन जाँदा खेतमा राखिएको धरापमा परेको वन मृत्यु भएका जनाएका छन् ।

घटनास्थल बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र डिभिजन वन कार्यालयको सिमाना रहेको छ । घटनास्थलको कार्य क्षेत्र भने वन कार्यालय अन्तर्गत रहेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी एवं वन अधिकृत द्रोण शर्माले जनाए ।

घटना मङ्गलवार भए पनि बिहीबार बिहान सार्वजनिक गरिएको छ ।

धराप राखेको आशंकामा प्रहरीले सोही ठाउँका शंकर चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बताए । थारुको मृत्यु भएपछि चौधरीले धराप राखेका सामग्री घर लगेर लुकाएर राखेका थिए ।

यसैबीच सोही धरापमा एउटा वयस्क निलगाईको मृत्यु भएको छ ।

दुई वर्षअघि ठाकुरबाबा नगरपालिका ३ गोदानास्थित राजबहादुर शाहीको खेतको कुलोमा राखिएको विद्युतीय नांगो तारको धरापमा परी सोही ठाउँका बालकृष्ण थारु उनकी श्रीमती सुनिता र बालकृष्णकी भाउजू बेलमती मायाको मृत्यु भएको थियो ।

तराईमा वन्यजन्तुबाट जोगाउन राखिने यस्ता धरापका विषयमा सचेतना नपाउँदा यस्ता घटना दोहोरिइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *