मध्यपहाडी विशेष अभियान मंसिर १४ देखि गर्ने एमालेको निर्णय – Nepal Press

मध्यपहाडी विशेष अभियान मंसिर १४ देखि गर्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ ।

पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं । अभियानको नाम ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ’, उनले भने ।

ज्ञवालीका अनुसार अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् ।

पहाडको विकासको समस्या पहिचान गरी समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको उनले बताए । त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रित हुने बताइएको छ । सँगै सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार गर्ने विषयमा पनि अभियान केन्द्रित हुनेछ ।

‘अहिले निराशाको खेती छरिएको छ, परिवर्तनको विपक्षमा उभ्याउने कोसिस भइरहेको छ । पुष्पलालले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी ७५औं वर्षमा पुगिरहँदा यो बीचमा के काम गर्‍यौं । यो देशलाई हामीले नै राम्रो बनाउन सकिन्छ । परिवर्तनका लागि लडेकाहरू हामी यहीँ जनताको साथमा छौं भन्ने सन्देश हामीले दिनेछौं’, ज्ञवालीले भने ।

ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता-कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने छ ।

मध्यपहाडी लोकमार्ग पदयात्रामा परिचालनको निर्णय गर्न आगामी मंसिर ६ गते काठमाडौंमा केन्द्रीय कमिटीको छैटौं बैठक डाकिएको छ ।

बैठकले जाजरकोट भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । भूकम्पका कारण घरबास गुमाएकाहरुको अस्थायी बसोबासको व्यवस्था गर्न मंसिर १ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक अभियान सञ्चालन गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।

प्रभावित क्षेत्रमा राहत वितरण गर्ने क्रममा राजनीतिकरण देखिएकाले पारदर्शी, निष्पक्ष र प्रभावकारी रुपमा राहत अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको पनि एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर