स्रोतको सकसमा अर्थतन्त्र, खर्च थेग्न ऋणकै भर – Nepal Press

स्रोतको सकसमा अर्थतन्त्र, खर्च थेग्न ऋणकै भर

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा उच्च सुधार भएको सूचक सार्वजनिक गर्दा यता महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले भने सरकार स्रोतको सकसमा परेको देखाउँछ ।

गत वर्ष जस्तै चालू आर्थिक वर्ष पनि स्रोतको सकसमा रहेको सरकारकै तथ्यांकले पुष्टि गरेको छ । सरकारको आम्दानी र खर्चको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले आम्दानी र खर्चको खाडल २ खर्ब नजिक पुगेको देखाएको छ ।

बैशाख २९ गतेसम्मको तथ्यांकमा आम्दानी ८ खर्ब ४५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ हुँदा खर्च १० खर्ब ३७ अर्ब २९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा चालू वर्ष यो खाडल केही कम छ । गत वर्ष यस्तो खाडल साढे २ खर्ब रुपैयाँ थियो ।

महालेखाका सूचना अधिकारी ओमप्रसाद रिजाल लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा आम्दानी र खर्चको खाडल बढेको बताउँछन् ।

सरकारले आम्दानी र खर्चको खाडल पुर्न आन्तरिक ऋण परिचालन गर्छ । बाह्य ऋणमा शर्त हुने भएकाले सरकारको खर्च टार्ने स्रोतको रुपमा आन्तरिक ऋण प्राथमिकतामा पर्दै आएको छ ।

तर, सरकारले लिने आन्तरिक ऋणको पनि सीमा छ । वित्त आयोगले जीडीपीको ५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउन नपाउने व्यवस्था गरेको छ । यस्तो व्यवस्था हरेक वर्ष हेरफेर गरिन्छ । जसअनुसार आयोगले आगामी वर्ष साढे ५ प्रतिशत आन्तरिक ऋण उठाउन पाउने गरी सीमा निर्धारण गरेको छ ।

सरकारले चालू वर्षमा हालसम्म १ खर्ब ९० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिए । सरकारले चालू वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । गत वर्ष २ खर्ब ५५ अर्ब रुपैयाँ लक्ष्यअनुरुप नै आन्तरिक ऋण उठाएको थियो । यस वर्ष पनि सरकारले लक्ष्यअनुसार नै ऋण उठाउने देखिएको छ ।

अर्थशास्त्री डा. रेशम थापा अर्थतन्त्रको ८० प्रतिशत हिस्सा निजी क्षेत्रको भएकाले सरकारले आन्तरिक ऋण बढी उठाउन नहुने बताउँछन् ।

उनी भन्छन्, ‘सरकारले बढी ऋण लिए निजी क्षेत्र संकुचन हुने र उनीहरुले पाउनुपर्ने ऋण पनि कटौती हुने अवस्था आउँछ ।’

सरकारले जीडीपीको ५ प्रतिशत आन्तरिक ऋण उठाउन पाउने सीमा पनि बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको जीडीपी ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । यस आधारमा सरकारले आगामी वर्ष ३ खर्ब १३ अर्ब रुपैयाँसम्म आन्तरिक ऋण लिन सक्नेछ ।

सरकारले चालू आर्थिक वर्षको १० महिना पूरा हुन लाग्दा जम्मा ८ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष यो अवधिमा सरकारले ७ खर्ब ८१ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षभन्दा यस वर्ष हालसम्म ६८ अर्ब ४९ करोड ३२ लाख रुपैयाँले बढी राजस्व संकलन गरेको छ । यद्यपि चालू वर्षको लक्ष्यको तुलनामा ५७ प्रतिशतमात्र राजस्व संकलन भएको छ ।

सरकारले हालसम्म विभिन्न शीर्षकमा ८ खर्ब ४५ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेकोे देखिन्छ । यो अवधिमा सरकारले १० खर्ब ३७ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । तर, त्यसमा पनि पूँजीगत खर्चको अवस्था भने दयनीय देखिएको छ । यो अवधिमा ३६ प्रतिशत पूँजीगत खर्च भएको छ ।

सरकारले यो पटक पनि असारे विकासको रुपमा पूँजीगत खर्च गर्ने भएको छ । चालू आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी छ । त्यस्तै आगामी आर्थिक वर्षको बजेट आउन १७ दिन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *