सर्वदलीय निर्णयप्रति रवि लामिछानेको जवाफ- भूकम्प प्रभावितको राहतमा जुट्नुहोस् व्यवस्था र परिवर्तन आफैं जोगिन्छ – Nepal Press

सर्वदलीय निर्णयप्रति रवि लामिछानेको जवाफ- भूकम्प प्रभावितको राहतमा जुट्नुहोस् व्यवस्था र परिवर्तन आफैं जोगिन्छ

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार राजधानीमा प्रमुख दलहरुले आफूहरुलाई नबोलाइ बैठक बसेर गणतन्त्र र संविधानमाथि आएको खतरा मिलेर सामना गर्ने निर्णयको आलोचना गर्दै पश्चिम नेपालमा आएको विपत्तिको मिलेर उद्दार गर्न आग्रह गरेका छन् ।

भूकम्प आएको अर्को दिन लुम्बिनी प्रदेशका पूर्वघोषित कार्यक्रम रोकेर जाजरकोट पुगेका लामिछानेले आज राजधानीमा बैठक गर्ने सबै पार्टी मिलेर भूकम्पपीडितका घरमा पाल र ब्ल्यान्केट पुर्याए स्थानीयको उद्धार हुने र अहिले व्यवस्था र परिवर्तन आफै जोगिने बताए । उनी जाजरकोटमा बसेर रेडियो कार्यक्रम चलाएर स्थानीय र सरोकारवाला निकायलाई समन्वय गरेको बताए पनि उनका आलोचकहरु यसलाई चर्चामा आउने बाटो बनाएको बताइरहेका छन् ।

लामिछानेले मंगलबार बेलुका सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै लेखेका छन्, ‘आदरणीय सर्वदलीय हेड सरूहरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस् । व्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ ।’

लामिछानेले अगाडि लेखेका छन्, ‘सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थायी शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ । जुटाइदिएको पाल,चामल,दाल समयमै बाड्न नसक्ने अनि चिन्ता व्यवस्थाको, परिवर्तन को तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ । फेरि पनि भन्छु,ब्यवस्थामा खतरा छैन, भए पनि जोगाउने जनता छन् । तिनको जीवन रक्षा गरिदिनुस् ।’

उनले थप लेखेका छन्, ‘परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए ।’

लामिछानेले सरकारले उद्दार कार्यमा गरेको कामको प्रशंसा गर्दै राहत वितरण हुनै नसकेको बताएका छन् । ‘उद्धार कार्य उत्कृष्ट थियो तर राहत वितरण कति पनि सहि भएन’, उनले भनेका छन् ।

मंगलबार सिंहदरबारमा राप्रपा र रास्वपाबाहेकका दलहरु बसेर अहिलेको व्यवस्थामाथि चौतर्फी प्रहार भएको भन्दै सबै मिलेर प्रतिवाद गर्ने निर्णयको राप्रपा र रास्वपाले कडा आलोचना गरेका हुन् ।


प्रतिक्रिया

One thought on “सर्वदलीय निर्णयप्रति रवि लामिछानेको जवाफ- भूकम्प प्रभावितको राहतमा जुट्नुहोस् व्यवस्था र परिवर्तन आफैं जोगिन्छ

  1. तिमी र तिम्रो पार्टी चाहिँ भुकम्प पिडितको उद्दारमा खोई जुटेको ? अर्कोलाई गाली गरेर र अरूका कुरा मात्र गरेर नेता भईदैन । मन्त्रि बन्न दुई करोड मागेको विषय कहाँ गयो ? गफ मात्र दिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर