पाँचौँ छेडेदह कप : क्वाटरफाइनल पुगे आठ टीम, पाँच टीम बाहिरिए – Nepal Press

पाँचौँ छेडेदह कप : क्वाटरफाइनल पुगे आठ टीम, पाँच टीम बाहिरिए

कैलाली । बाजुरामा जारी पाँचौँ छेडेदह कप फुटबल प्रतियोगितामा आठ वटा टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् । लिग चरणका खेल सकिएसँगै मंगलबार फाइनलमा प्रवेश गर्ने टिमको टुङ्गो लागेको हो ।

क्वाटर फाइनलमा प्रवेश गर्नेमा त्रिवेणी नगरपालिका, थ्री एक्स युनाइटेड, विएसवाईसी, रानीवन, स्पोर्टस्, आयोजक, कन्सन, टिम बडालेख र गौमुल स्पोर्टस् क्लब रहेका छन् । त्यस्तै बडीमालिका–९, केपी वा स्पोर्टस् क्लब, शारदा मावि, विएचसीसी र बीएसएससीसी क्लब खेलबाट बाहिरिएका छन् ।

बुधबार क्वाटर फाइनलका खेल हुने, १६ गते सेमिफाइनलका खेल हुने र १७ गते फाइनल खेल हुने छेडेदह स्पोर्टस् क्लबका खेल संयोजक कृष्ण ओलीले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिता सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लामा आयोजना हुने सर्वाधिक धन राशिको हो ।

विजेताले दुई लाख ३५ हजार ३३५ रुपैयाँ र उपविजेताले १ लाख २५ हजार २२५ रुपैयाँ पुरस्कार पाउने छन् । वेस्ट पिलियर, राइजिङ पिलियर, वेस्ट किपर, वेस्ट डिफेन्डर र सर्वाधिक गोल कर्ताले पनि पुरस्कारसहित मेडल र प्रमाण पाउने छन् ।

विजया दशमी तथा शुभ दीपावलीको अवसरमा दसैँ र तिहारको बिचमा प्रत्येक वर्ष छेडेदह स्पोर्टस् क्लवले प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । ११ गते सुदूरपश्चिम प्रदेशका सांसद जुना दानीले उद्घाटन गरेको प्रतियोगिताको समापन १७ गते सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गर्ने आयोजकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर