अर्नाको आजको हिसाब- दुई कुशल मालामाल, जोरा र विवेकले पनि खाता खोले – Nepal Press

अर्नाको आजको हिसाब- दुई कुशल मालामाल, जोरा र विवेकले पनि खाता खोले

काठमाडौं । अर्ना बियरले पूर्व घोषणा अनुसार आजको म्याचमा क्रिकेट खेलाडीहरूले पाउने नगद पुरस्कारको हिसाब सार्वजनिक गरेको छ ।

मलेसियाविरुद्धको म्याचमा नेपालले ६ विकेटको जित निकाल्दा अर्नाले कुल ८ लाख ४४ हजार रुपैयाँ खेलाडीहरूलाई वितरण गर्नुपर्ने भएको छ ।

आज कुशल मल्ल र कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गरेका थिए । सबैभन्दा बढी रकम उनीहरूले नै पाउने छन् । ४ चौका र ४ छक्कासहित ४३ रन बनाएका र दुई क्याच लिएका कुशल भुर्तेलले २ लाख १३ हजार रुपैयाँ पाउनेछन् भने ७ छक्का र २ चौकासहित ६५ रन बनाउनुका साथै १ क्याच लिएका मल्लले सर्वाधिक २ लाख ५४ हजार प्राप्त गर्नेछन् ।

तेस्रो सर्वाधिक रकम हात पार्ने भएका छन्- ओपनर आसिफ शेखले । उनले २ छक्का र एक चौकासहित ३२ रन जोडेका थिए । जसअनुसार आसिफ शेखको खातामा एक लाख ७ हजार रुपैयाँ चढेको छ ।

४ विकेट लिएका अविनाश बोहराले १ लाख ३ हजार प्राप्त गर्नेछन् । कुनै पनि विकेट लिन नसकेका सोमपाल कामीले २ बल डट फालेबापत २ हजार रुपैयाँ पाउनेछन् ।

सन्दीप लामिछानेले एक विकेट र आठ डट बलका लागि ३३ हजार रुपैयाँ पाउँदा गुल्शन झाले १ विकेट, एक रनआउट र ६ डट बलका लागि ४३ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । करण केसीले आज विकेट लिन सकेनन् । ५ डटबल र एक रनआउट बापत उनले १७ हजार ५ सय रुपैयाँ पाउने भएका छन् । ब्याटिङमा आज असफल भएका रोहित पौडेलले २ रन बापत दुई हजार र बलिङमा एक विकेट र ४ डट बल राखेबापत २९ हजार गरी ३१ हजार रुपैयाँ पाउनेछन् ।

हिजोको खेलमा बलिङ र ब्याटिङ दुवै गर्न नपाएर शून्यमा रहेका सन्दीप जोरा र विवेक यादवले पनि खाता खोलेका छन् । दुई चौकासहित १८ रन बनाएका सन्दीपले ३८ हजार रुपैयाँ पाउने निश्चित गरेका छन् भने २ रन बनाएका विवेकलाई दुई हजार मिल्नेछ ।

अर्नाले यसअघि बलिङ र ब्याटिङमा मात्रै पुरस्कार राखेकोमा आज फिल्डिङमा पनि थपेको छ । जसअनुसार रन आउट गर्नेलाई १२ हजार ५ सय र क्याच लिनेलाई २५ हजार रुपैयाँ दिइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर