मुगु हत्या काण्ड : प्रहरीले अझै भेट्टाएन ‘क्लु’ – Nepal Press

मुगु हत्या काण्ड : प्रहरीले अझै भेट्टाएन ‘क्लु’

सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँको एकै घरका आमा र तीन सन्तानको हत्या भएको छ दिन पुगेको छ । तर, अहिलेसम्म हत्याको कारण भने केही पनि भेटिएको छैन ।

हालसम्म अनुसन्धान टोलीले कुनै पनि ‘क्लु’ भेट्टाउन सकेको छैन । शुक्रबार घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले सुर्खेत र जुम्लाबाट छुट्टाछुट्टै टोली खटाएको थियो ।

साथै, प्रहरी टोलीमा कुकुरलाई समेत खटाइएको छ । यस्तै, प्रदेश प्रहरी प्रमुख डीआइजी भीमप्रसाद ढकाल थप अनुसन्धान टोली लिएर आइतबार घटनास्थल पुगेका छन् ।

डीआइजी ढकालका अनुसार अनुसन्धानमा नै लागि परेको र अहिलेसम्म कुनै पनि ‘क्लु’ नभेटिएको नेपाल प्रेसलाई जानकारी दिए । ‘कुकुरलाई समेत अनुसन्धानमा खटाएको छौं’, उनले भने, ‘८ गते घटेको घटना प्रहरीलाई १० गते मात्रै जानकारी भयो । कुकुरसहितको टोली ११ गते घटनास्थलमा पुग्यो । त्यसले गर्दा अपराधी पत्ता लगाउन समय लागेको छ । गाउँलेलाई घटनाका बारेमा सोधपुछ गर्दा पनि केही पत्ता लगाउन सकिएको छैन ।’

गत बुधबार मन्दु गाउँमा मंगलबार दसैंको टीका थाप्न छोराछोरीसहित माइती गाउँ कोटिला गएकी २८ वर्षीया श्रीदेवी बोहरा कात्तिक ८ गते साँझ घर फर्केकी थिइन् ।

उनीसहित ८ महिने छोरा रहर, ८ वर्षीया छोरी अप्सरा र ११ वर्षीय छोरा मनोज बोहरा मृत अवस्थामा फेला परेका थिए । दुई दिनसम्म घरमा ताला लगाएको देखेपछि छिमेकीले उनीहरूको खोजी गरेका थिए । छिमेकीले माइतमा नभएको कुरा थाहा पाएपछि ताला फोडेर हेर्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए । त्यसपछि प्रहरीलाई जानकारी दिएका थिए ।

श्रीदेवीका श्रीमान दीपक बोहरा कतारबाट फर्केपछि शव पोष्टमार्टमका लागि शनिबार जिल्ला अस्पताल लगिएको थियो । सोमबार आमाको पोष्टमार्टम भएको छ भने छोराछोरीको पोष्टमार्टमका लागि तयारी भइरहेको छाँयानाथ रारा नगरपालिका–६ का वडाध्यक्ष खेमबहादुर रावलले जानकारी दिए ।

दीपक वैदेशिक रोजगारीका लागि गत वर्षको कात्तिक महिनामा कतार पुगेका थिए । घटना घटेको दिन दीपक र श्रीदेवीबीच भिडियोमा कुराकानी भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *