विश्वासको मत दिए पनि कोशीमा माओवादी र नेकपा एसले तत्काल सरकारमा प्रवेश नपाउने ! – Nepal Press

विश्वासको मत दिए पनि कोशीमा माओवादी र नेकपा एसले तत्काल सरकारमा प्रवेश नपाउने !

एमालेसँगको समझदारी नतोड्ने पक्षमा डा. शेखर, केन्द्रीय गठबन्धनकै सरकार बनाउन मुख्यमन्त्रीमाथि देउवा र प्रचण्डको दबाब

विराटनगर । मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर ढोक्सा थापे पनि कोशी प्रदेश सरकारमा तत्काल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रवेश नपाउने भएका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले भने केन्द्रीय गठबन्धनअनुसारकै सरकार बनाउन दबाब दिइरहेका छन् ।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले कांग्रेस पार्टीमा आफूसहित ८ सांसदको विद्रोहलाई वैधानिकता दिएसँगै माओवादी र समाजवादीलाई सरकारमा भित्र्याएर एमालेलाई चिढ्याउन नचाहेको बताइएको छ । गठबन्धनकै सरकार बनाएमा एमाले सत्ताबाट बाहिरिनेछ ।

कांग्रेसका एक नेताले भने, ‘मुख्यमन्त्री जसको बलमा बन्नुभएको हो उसले अहिले नै केन्द्रको गठबन्धन कोशीमा ब्यूँताउन सिग्नल दिएको छैन । केपी शर्मा ओली र डा. शेखर कोइरालाको पहलमा यो सरकार बनेको हुनाले अहिले माओवादी र समाजवादीलाई मन्त्रिपरिषद्‍मा भाग दिने सम्भावना देखिन्न ।’

कार्कीलाई विश्वासको मत दिए पनि ती दुवै दल बुधबारको प्रदेशसभा बैठकमा विपक्षी लहरमा बसेका थिए ।

एमाले र कांग्रेसलाई मात्र समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । सत्ता गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई अघि सारेपछि केदार कार्की कांग्रेसका ८ सांसदसहित एमालेसँग समीकरण बनाएर मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री नियुक्तलगत्तै प्रधानमन्त्री प्रचण्डले कार्की गठबन्धनकै मुख्यमन्त्री भएको बताएका थिए ।

आफ्नो शपथसँगै कार्कीले कांग्रेसबाट शमसेर राई र एमालेका राम रानालाई मन्त्री बनाएका थिए । प्रधानमन्त्री प्रचण्डले भने देउवा-शेखरसँग आफू बसेर गरेको ‘चिर्केटो सम्झौता’ उल्लेख गर्दै हाललाई एकजना मात्र मन्त्री बनाउने सहमति भएकोमा एमालेले एकजना मन्त्रीमा छिराइहालेको भन्दै धनगढीको समाजवादी मोर्चाको सन्देशसभामा बताएका थिए ।

विश्वासको मत लिएसँगै कार्की काठमाडौं गएकाले फर्केर आएपछि केही दिनमा मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । मुख्यमन्त्रीनिकट एक नेताका अनुसार एमालेलाई कोशीमा सत्ता बाहिर राखेर सरकार सञ्चालन गर्न सक्ने अवस्था छैन ।

‘एमालेभन्दा बाहिर रहेर सरकार सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले, केन्द्रीय गठबन्धनमा रहेका अरू दलहरूलाई कोशीको सरकारमा लैजाने तयारी छैन’, ती नेताले भने, ‘कोशीमा कि त एमाले र माओवादीले सरकार बनाउँदा स्थायित्व हुन्छ कि त एमाले-कांग्रेसको सरकार बनाउँदा । एमाले र माओवादीको सरकार बनाउने अवस्था नरहेकाले कोशी सरकारको स्थायित्वका लागि अहिले यही गठबन्धनले निरन्तरता पाउँछ । माओवादी र एसलाई ल्याएर सरकारले स्थायित्व पाउँदैन ।’

कोशीमा मध्यावधि टार्न एमालेले खेलेको भूमिका महत्त्वपूर्ण रहेकाले सरकार बनाउने प्रमुख स्टेक होल्डरलाई बाहिर राखेर प्रदेशमा स्थायित्व नहुने उनले बताए ।

एमालेले माओवादीलाई सरकारमा ल्याउन चाहेको छैन । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले माओवादीलाई पनि सरकारमा ल्याए आफूहरू सरकारमा नबस्ने स्पष्ट पारे ।

भण्डारीले नेपाल प्रेससँग भने, ‘हामी माओवादीबाहेक कांग्रेससँग सरकार सञ्चालन गर्न चाहन्छौं । यदि माओवादी, जसपा र समाजवादीलाई समेत सरकारमा ल्याए प्रतिपक्षको भूमिकामा रहन्छौं ।’

एमालेले स्पष्ट अडान लिएका कारण पनि मुख्यमन्त्री कार्कीले माओवादी र समाजवादीलाई सरकारमा ल्याउन चाहेका छैनन् । कार्कीलाई राप्रपाबाहेकका सबै दलहरूले विश्वासको मत दिइसकेका छन् ।

सरकारमा आउने दाउमा समाजवादी र माओवादी

संविधानको धारा १६८ (५) अन्तरगत मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई विश्वासको मत दिँदै गर्दा नेकपा एसका सचिव एवं कोशी संसदीय दलका नेता राजेन्द्रकुमार राईले केन्द्रको निर्णयअनुसार आफूहरूले विश्वासको मत दिएको बताए ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले विश्वासको मत दिनुअघि रोष्ट्रममा उभिएर भने, ‘विश्वासको मत दिएपछि अब सरकारमा पनि जाने, मिलेर सरकार पनि चलाउने ।’

केन्द्रीय सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि कोशीको सरकारमा जाने इच्छा व्यक्त गरेको छ । नेकपा माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धन टिकाउन कांग्रेसको इतर समूहले सार्वजनिकरूपमा प्रतिबद्धता जनाएकाले त्यो प्रतिबद्धता पूरा गर्नुपर्ने बताए ।

उनले डा. शेखर कोइराला, शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा भएको सहमति कार्यान्वयनमा मुख्यमन्त्री केदार कार्की लाग्नुपर्ने बताए ।

आङ्बोले थपे, अहिलेसम्म मुख्यमन्त्रीले कुरा गर्नु भएको छैन । हामी छलफलको प्रतीक्षामा छौं । छलफल भएपछि हामी सरकारमा जानेबारेमा संस्थागत निर्णय गर्छौं ।’

उनले आफूहरूले मुख्यमन्त्रीको रूपमा केदार कार्कीलाई स्वीकार गरेकाले कार्कीले पनि गठबन्धन स्वीकार गरेर व्यवहारमा देखाउनुपर्ने बताएका छन् । यसअघि बुधबार कार्कीलाई विश्वासको मत दिएपछि एमालेले अब सरकारबाट बाहिरिएर नैतिकता देखाउनु पर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले भने कोशीको विशिष्ट अवस्थाका कारण सर्वपक्षीय सरकार गठनमा जोड दिएको बताएका छन् ।

कार्कीले पटक-पटक भन्दै आएका छन्, ‘हामी सर्वपक्षीय सरकारको पक्षमा छौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर