ल्हासाका महावाणिज्य दूतलाई प्रश्न : माओ युगमा सडक आयो, सी युगमा रेल आउला ? – Nepal Press

ल्हासाका महावाणिज्य दूतलाई प्रश्न : माओ युगमा सडक आयो, सी युगमा रेल आउला ?

ल्हासा (तिब्बत) । ल्हासाको एकमात्रै विदेशी कूटनीतिक नियोग नेपालको हो । नेपाली महावाणिज्य दूतावास ल्हासाका प्रमुख नवराज ढकाललाई यही कारण भ्याइनभ्याइ हुन्छ । तिब्बतमा हुने उच्चस्तरीय सबै कार्यक्रममा उनलाई निम्तो आउँछ । नेपालबाट चीनको तिब्बत स्वायत्त प्रदेश पुग्ने जमातसँग पनि ढकाल जोडिन्छन् । पछिल्ला हप्ताहरुमा त उनी ज्यादै व्यस्त भए । सबैभन्दा पहिलो चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिब्बतको राजधानी ल्हासादेखि कैलाश मानसरोवरसम्म पुगे । प्रधानमन्त्रीसँगै ढकाल हुने नै भए । हालसालै चीनले सम्पन्न गरेको तेस्रो चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चको कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्याल पुगिन् । उनलाई विमानस्थलबाट लिनदेखि बिदाइ गर्न हुँदै मञ्चका कार्यक्रमसम्म ढकालको व्यस्तता उस्तै थियो ।

उनै ढकालले ल्हासाको महावाणिज्य दूतावास परिसरमा नेपालप्रेससँग नेपाल-चीन र चीनको तिब्बत सम्बन्धका बारेमा खुलेर कुरा गरे । प्रा.डा. गोपाल शिवाकोटीको ‘नेपाल चीन सम्बन्ध’, बुद्धिसागरको ‘फिरफिरे’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’लगायतका किताबहरु कार्यकक्षको एक कुनामा र दुई अग्ला नीलो रंगका अक्सिजन सिलिन्डरको पृष्ठभूमि बनाएर ढकाल गफिए । कोभिड अगाडिदेखि अहिलेसम्म ल्हासा बसेका ढकालले केही औपचारिक र केही अनौचपारिक कुरा गरे । यहाँ औपचारिक कुरामात्रै प्रस्तुत गरिएको छ ।

नेपाल-चीन सम्बन्धको ९० प्रतिशत हिस्सा नेपाल-तिब्बत सम्बन्ध

ढकालले नेपालको एकमात्रै महावाणिज्य दूतावास भएको कारणले मात्रै होइन हरेक कारणले नेपाल र चीनको सम्बन्धमा तिब्बत महत्वपूर्ण भएको बताए । नेपालबाट चीनको औपचारिक भ्रमणमा पुग्ने प्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवादेखि प्रचण्डसम्म चीनको तिब्बत पुगेको प्रसंग ल्याउँदै ढकालले नेपालीहरुको सघन बसोबास भएको चीनको हङकङपछिको मुख्य मुकाम तिब्बत भएको बताए ।

उनले भने, ‘हाम्रो रेकर्डमा तिब्बतमा स्थायी बसोबास गर्ने नेपालीहरु दुई हजार भएको देखाउँछ । नेपालीहरु स्थायी बसोबास भएको चीनको हङकङपछिको मुख्य क्षेत्र नै तिब्बत हो ।’

चीनसँग नेपालका तीन दुई देशीय र तीन अन्तर्राष्ट्रिय नाका तथा दर्जन हाराहारी भञ्ज्याङ भएको भन्दै ढकालले नेपालको चीनसँगको पारवाहन सन्धि र प्रोटोकल हस्ताक्षर हुँदै प्रधानमन्त्री प्रचण्डको भ्रमणमा खुलाउने नाका सबै तिब्बतकै भएकाले तिब्बत महत्वपूर्ण भएको बताए ।

उनले भने, ‘नेपालमा काम गर्ने चिनियाँ कम्पनीहरु पनि कतिपय तिब्बतमै कार्यालय भएका छन् । नेपाललाई दिने सहयोगमा पनि चीनको तिब्बत जोडिएरै आउँछ ।’

ल्हासा र काठमाडौं, सिगात्से र भरतपुर अनिनिङ्ची र पोखरा भगिनी सम्बन्ध भएको भन्दै नेपालका प्रमुख शहर र चीनको तिब्बतका प्रमुख शहर स्थानीयस्तरमा पनि जोडिएको ढकालले बताए । नेपाल र चीनको कूटनीतिक सम्बन्धको मुख्य मुकाम बेइजिङ दूतावास भए पनि नेपाल र चीनको सम्बन्धको मुख्य हिस्सा तिब्बत भएको र त्यसको सहजीकण महावाणिज्य दूतावासले गर्ने ढकालले बताए ।

ल्हासा-काठमाडौं-पोखरा बस तथा हवाई सेवा चलाउने तयारी

कोभिड अगाडिसम्म काठमाडौं ल्हासा सीधा हवाई उडान थियो । अहिले बन्द छ । महावाणिज्य दूतले काठमाडौं आउन छिमेकी सिचुवान प्रान्त हुँदै आउनुपर्छ । अब चाँडै हवाई सेवा पनि सुरु हुने ढकालले बताए । उनले हवाई सेवासँगै बस सेवाको पनि तयारी भएको बताए । ल्हासा-काठमाडौंदेखि पोखरासम्म सीधा बस चलाउने कुरा अगाडि बढेको ढकालले बताए ।

नेपाल र चीनका नाकाहरु अप्रिल १ बाट खुलेसँगै दुई सयभन्दा धेरै आगन्तुक विभिन्न आदानप्रदान कार्यक्रममा आएको भन्दै ढकालले सीधा बस र हवाई सेवा चलेपछि त्यसले गति लिने बताए । सिचुआन एयरलाइन्सले काठमाडौं-ल्हासादेखि काठमाडौं-पोखरा उडानमा चासो देखाएको ढकालले बताए ।

ल्हासामा सौन्दर्य क्षेत्रदेखि धातुकलाको काममा नेपालीको माग ज्यादा

ल्हासामा नेपालीको प्रवेश व्यापारीको रुपमा भएको इतिहास छ । त्यही व्यापारिक उपस्थिति बलियो बनाउन ल्हासामा नेपाली कूटनीतिक मिसन बस्ने प्रचलन सुरु भएको हो । अहिले ल्हासामा नेपाली व्यापार गर्नमात्रै आउँदैनन् । श्रम गर्न पनि आउँछन् । मूर्तिकला, धातुकलादेखि सौन्दर्य क्षेत्रमा काम गर्न नेपालीहरु ल्हासा आउने गरेका छन् । उच्च उचाइको कारणले तिब्बतलाई विश्वको धुरी भन्ने गरिएको छ । त्यही विश्वको धुरीमा काम गर्न आउनेहरुलाई कुनै बिचौलिया नलागून् र सामाजिक सुरक्षा राम्रो होस् भनेर महावाणिज्य दूतावास सचेत भएको ढकालले बताए ।

उनले भने, ‘बिचौलियालाई भिसालगायतको काममा स्थान दिँदा खराब काम गरेमा बद्नाम हुने भएकाले सबै अनलाइन गर्छौं । युरोप जाने जत्तिकै कमाइ हुने खालको काममा मात्रै भिसा प्रक्रिया अगाडि बढाउँदै आएका छौं । ल्हासाको तलब राम्रो छ । थोरैमा महिनाको नेपाली ८० हजारमाथि छ ।’

सबै गरेर पुगनपुग दश जनाको जनशक्तिको महावाणिज्य दूतावासलाई कामको चटारो चैँ बाक्लै हुने ढकालले संकेत गरे ।

उच्चस्तरीय भ्रमण र सम्झौताले काम गर्न सजिलो

नेपालका प्रधानमन्त्रीलगायतका उच्चस्तरीय भ्रमणले काम गर्न सहज भएको ढकालको अनुभव छ । उच्चस्तरीय भ्रमणमा सम्झौता हुने र त्यही सम्झौताको आधारमा काम गर्न सहज हुने ढकालले बताए । उनले भने, ‘प्रधानमन्त्री आएर खोल्ने भनेका नाकालगायतका विषयमा अब हाम्रो स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम अगाडि बढ्छ ।’

नेपालबाट तरकारी, फलफूल, मासु र जडिबुटी चीन निर्यात गर्ने कुरामा सहजीकरणको काममा व्यस्त हुने ढकालले बताए । ढकालले महावाणिज्य दूतावासलाई तिब्बत स्वायत्त सरकारदेखि चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीले समय माग गर्दा विलम्ब नगरी उपलब्ध गराउने भएकाले सहज भएको बताए । नेपाली महावाणिज्य दूतावासलाई विदेशी जस्तो व्यवहार नहुने भन्दै ढकालले भने, ‘कोभिडको समयमा स्थानीय वडाले नागरिकलाई दिएका कुरा हाम्रो महावाणिज्य दूतावास अगाडि पनि ल्याएर राखिदिएको रैछ । पछि पो थाहा भयो ।’

सी युगमा नेपाल-चीन जोड्ने रेल आउला ?

महावाणिज्य दूत ढकाल व्यापार क्षेत्र राम्ररी बुझ्ने उच्च सरकारी अधिकारी हुन् । उनले सन् २०१५ मा हार्वड विश्वविद्यालयको व्यापार सहजीकरणको तालिम लिएका छन् । सन् २०१९ का विभिन्न कालखण्डमा उनले नेपाल-भारत, नेपाल-चीनको तिब्बतदेखि नेपाल-बंगलादेश हुँदै नेपाल-भुटान आदिको व्यापार सहजीकरणका नेपाली मिसनहरुको नेतृत्व पनि गरेका छन् । उनी नेपाल पुग्ने सडक बनाउन, बिग्रिएका सडक मर्मत गर्न चीनको सहयोग माग्न कुनै लघुताभाष हुन नहुने बताउँछन् । नेपालबाट केही निर्यात भए पनि चीनबाट धेरै आयात हुने भएकाले चीनलाई नै सहज हुने भन्दै ढकालले त्यस्ता कुरामा सहजै कार्यक्रम प्रस्ताव गर्नुपर्ने बताउँछन् । विश्वका धेरै देशहरुले व्यापार घाटाको सन्तुलन मिलाउन धेरै सहकार्य गर्ने भन्दै नेपाल र चीनले त्यस्तै गर्न केहीले असर नगर्ने ढकालको तर्क छ ।

माओ युगमा सन् १९६३ देखि पाँच वर्ष लगाएर ११३ किलोमिटर हाराहारी लामो अरनिको राजमार्ग सञ्चालनमा आएको थियो । यो राजमार्ग नेपाल र चीन जोड्ने राजमार्गमात्रै थिएन । यो त चीन र दक्षिण एसिया जोड्ने राजमार्ग पनि थियो । अहिले सी चिनफिङ युग छ । अब नेपाल र चीन चुच्चे रेल अर्थात् विद्युतीय रेल जोड्ने चर्चा राजनीतिकदेखि कूटनीतिक तहसम्म पुगेको छ । नेपाल-चीन राजमार्ग जस्तै नेपाल-चीन रेलमार्ग पनि तिब्बतबाटै जाने हो । यसको सम्भावनाबारे नेपालप्रेसले ढकाललाई सोधेको थियो-

चीनबाट माओ युगमा सडक आयो, सी युगमा रेल आउला ?

ढकालले (एकछिन सोचेर) जवाफ दिए, ‘यसमा सीले कति कार्यकाल राष्ट्रपति हुने निर्णय गर्नुहुन्छ, त्यसमा भर पर्छ । तर, नेपाल-चीन रेल एक दिन चल्छ चल्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर