प्रहरी विभिन्न अभियान लिएर कर्णालीका घरघरमा पुगिरहेको छ, जनताले सरकार आएकाे ठानेका छन् : डीआईजी ढकाल – Nepal Press
नेपाल टक

प्रहरी विभिन्न अभियान लिएर कर्णालीका घरघरमा पुगिरहेको छ, जनताले सरकार आएकाे ठानेका छन् : डीआईजी ढकाल

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा नेपाल प्रहरीले ‘लालटिन अभियान’ अघि बढाएको छ । गत बैशाख १ गतेदखेखि सञ्चालित ‘सुरक्षित कर्णाली विशेष अभियान’ अन्तर्गत लालटिन अभियान अघि बढाइएको हो । यसले लागुऔषधको बेचविखन र दुर्व्यसन नियन्त्रण गर्ने प्रहरीको उद्देश्य रहेको छ ।

‘लागुऔषध नियन्त्रण गर्न हामीले कर्णालीमा ‘लालटिन अभियान’ सुरु गरेका छौं । यो अभियानका ४-५ वटा मुख्य विशेषता छन् । लालटिन अभियानमार्फत कानून कार्यान्वयन गर्नेछौं’, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक  (डीआईजी) भीमप्रसाद ढकालले भने, ‘अभियानमार्फत हाम्रो तदारुकता बढ्नेछ । जनशक्ति बढाउने छौं । साधनस्रोत बढाउने छौं । चेकजाँचको दायरा फराकिलो बनाउने छौं । जिल्ला, स्थानीय तह, वडा, कलेज र विद्यालय तहसम्म लालटिन समूह गठन गर्छौं ।’

उनले कर्णालीका हरेक संघसंस्थालाई संलग्न गरेर लालटिन समूह बनाइने बताए । ‘वडा तहमा वडा अध्यक्षकै संयोजकत्वमा लालटिन समूह बनाउँछौं । पालिकामा प्रमुख वा उपप्रमुखको संयोजकत्वमा लालटिन डेक्स बनाउँछौं’, नायब महानिरीक्षक ढकालले भने, ‘पालिकाभित्रको सम्पूर्ण लागुऔषधको स्थितिलाई आकलन गर्ने, मूल्याकंन गर्ने र आवश्यक रणनीति बनाउन काम गर्छाैं ।’

यस्तै कर्णाली प्रहरीले घरघरमा स्टिकर टाँस अभियान पनि अगाडि बढाइरहेको छ । प्रहरी नायब महानिरीक्षक ढकाल यसलाई प्रहरीको माध्यमबाट सरकार जनताको घरघरमा पुगेको मान्छन् । कर्णालीमा प्रहरीले सञ्चालन गर्दै आएका विभिन्न अभियान, प्रदेशको सुरक्षा अवस्था, प्रहरी युनिटहरूको भौतिक पूर्वाधार र चाडपर्व केन्द्रित सुरक्षा योजनालगायतका विषयमा केन्द्रित रहेर उनै कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालसँग नेपालप्रेसकर्मी अप्सरा विष्टले गरेको कुराकानीको सम्पादित अंशः

– कर्णालीको समग्र सुरक्षा अवस्थालाई कसरी विश्लेषण गरिरहनु भएको छ ?

कर्णाली प्रदेशको सुरक्षा व्यवस्था राम्रो रहेको छ । सुरक्षामा असर पुर्‍याउने जुन कारणहरू छन्, त्यसको पहिचान गरेर, म्यानेज र कन्ट्रोल गर्ने, यहाँको सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त बनाइराखेका छौं । कहींकतै असुरक्षात्मक घटना भए भने तत्काल पुलिस पुग्ने आवश्यक सुधार, कन्ट्रोल र मेन्टेन गर्ने काम हामीले गरिराखेका छौं ।

– सुरक्षा चुनौती के के छन् ?

विपद्का घटना, ट्राफिक दुर्घटना, मापसे गरेर झैझगडा गर्ने, घरेलु हिंसा, चोरी लुटपाटलगायतका विषयहरूले सुरक्षामा असर पार्छ । शान्ति सुरक्षामा असर पार्ने पोलिटिकल दङ्गाफसादलगायतका विषयहरुमा इन्फरमेसन लिएर, त्यसलाई पहिचान गरेर आवश्यक सुरक्षा निकायसँग बसेर समन्वय गर्दै त्यसलाई व्यवस्थित गर्ने अथवा कन्ट्रोल गरेर शान्ति सुरक्षालाई हामीले एकदमै बरकरार गर्ने काम गरिरहेका छौं ।

– सुरक्षा चुनौती टार्न के कस्ता रणनीति अख्तियार गरिएको छ ?

दुई किसिमका रणनीति अख्तियार गरिएका छन् । जसमा सामान्य अवस्था र विशेष अवस्था हुन् । चाडपर्व नजिकै आउँदा कर्णाली प्रदेशका प्रत्येक जिल्लाले आआफ्नो सुरक्षा रणनीति बनाएर र त्यहाँको सुरक्षा अवस्था र जोखिम के छ भनेर बुझेर पहिचान गरेर जनशक्ति परिचालन भइराखेको छ । चाडपर्व लक्षित सुरक्षा योजना सुरु गरिसकेका छौं । यसका लागि विभिन्न किसिमका रणनीति, कार्ययोजना कार्यान्वयन गरेका छौं ।

प्रदेशभरि ३०८ युनिट छ भने ५ हजारभन्दा धेरै जनशक्ति छ । उक्त जनशक्तिलाई यहाँको आवश्यकताअनुसार जनशक्ति परिचालन गरेका छौं । विशेषतः जिल्लाका सदरमुकाम, वित्तीय संघसंस्था, वित्तीय कारोबार भइरहेको छ, त्यहाँ धेरै जनशक्ति परिचालन गरेका छौं । नाकाहरुमा पनि सुरक्षा व्यवस्था कडा गरेका छौं । जसमा उत्तरी भेगमा हिल्सा नाका, बाँकेतर्फबाट आउने बबई नाका, पञ्चपुरी नाकामा सुरक्षा व्यवस्था मिलाइएको छ ।

बजारमा गस्ती पेट्रोलिङ, इन्फर्मेसन कलेक्सन, वित्तीय संघसंस्थालाई सुरक्षा, सदरमुकाममा विभिन्न माग राखेर हुने आन्दोलन, कोणसभा, डेलिकेसन र आमसभालाई सुरक्षा व्यवस्था मिलाएका छौं । भीआईपी मुभमेन्टलाइ विशेष ख्याल गरेका छौं । चाडपर्वमा हुने घटनालाई मध्यनजर गर्दै यात्रु मैत्री अभियान चलाएका छौं । भाडाका सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पर्ने दुःख, समस्या र गाडीमा भएको आरक्षण सीट उचित रुपमा पालना नभएको र भाडामा ठगिने यी कुराहरु भएका छन् या छैनन् भनेर यात्रुमैत्री अभियान सञ्चालन गरिराखेका छौं ।

– यसअघि स्टिकर अभियान थालियो । अहिले लागूऔषधविरुद्ध लालटिन अभियान सुरू भयो । विगतमा पनि हेर्दा प्रहरीका कतिपय अभियान सुरूमा तामझामका साथ सुरू हुने र प्रचारबाजी जस्तो मात्र भएको टिप्पणी हुन्छ नि ?

यिनै विषयलाई मध्यनजर गरेर कर्णालीको सुरक्षालाई मजबुत बनाउन जुन जुन अभियान चलाएका छौं, जुन कार्यक्रम चलाएका छौं । जसमा १५-१६ वटा अभियान र कार्यक्रम लन्च गरेका छौं । त्यसलाई कार्यान्वयनमा ल्याएका छौं । तामझाममा साथ उद्घाटन गरेर चुप लागेर बस्ने कुरा हुँदैन ।

– यस्ता अभियानको सफलताबारे कत्तिको विश्लेषण र समीक्षा हुने गरेको छ ?

प्रत्येक अभियान सञ्चालन हुन्छ । त्यसको दैनिक आउटकम कति आयो, गतिविधि के के भयो भन्नेबारे रिपोर्टहरु लिन्छौं । १५ दिन अथवा महिनामा हामी सबै अफिसरहरु बसेर त्यसबारे छलफल हुन्छ । कति सफल भयो, कति बाधाव्यवधान छन् भनेर एनालाइसिस गरेर बाधाव्यवाधान फुकाउन के गर्नुपर्ने, हो हामी लाग्छौं । घरघरमा स्टिकर टाँस अभियान, नागरिक सहजकर्ता अभियान र यात्रमैत्री अभियान जस्ता अन्य अभियानमा हाम्रो कार्यान्वयन एकदमै राम्रो भएको छ । त्यसको दुई तीन महिनामा सबैको रिजल्टहरु लिन्छौं । हामी हेटक्वाटर पनि पठाउँछौं । रिजल्ट राम्रो आउँदा हामी उत्साहित भएका छौं ।

– स्टीकर अभियानको परिणाम के देखियो ?

घरघरमा स्टिकर टाँस गर्ने अभियान साउन ३१ गते सुरु गरेका थियौं । तीन महिनाभित्र यो गरिसक्छौं, भनेका थियौं । शुक्रबार साँझसम्म १ लाख ८५ हजारभन्दा धेरै घरधुरीमा स्टिकर टाँस गरिसकेका छौं । कर्णालीमा ३ लाख ७१ हजार १२५ घर छन् । जसमा अब हामी १ महिनाभित्र सबै घरमा स्टिकर टासिसक्छौं । यो स्टिकर टाँसको अभियान सुरु गर्‍यो र यसको कार्यान्वयन हामीले गरिराखेका छौं । र यसको आउटपुटको पनि हिसाब गरिराखेका छौं ।

यो स्टिकर टाँस अभियान गर्दा शुक्रबार साँझसम्म ५० प्रतिशत नागरिकको फोन कलमा वृद्धि भएको छ । त्यसले गर्दा घरेलु हिंसा नियन्त्रण भएको छ । आवारा गुण्डाहरु, आपराधिक तत्त्व, लागुऔषध दुर्व्यसनीमा लाग्नेहरु र अन्य अपराधका घटनामा कमी आएको र फरार अपराधी पक्राउ परेका छन् । नागरिकले सूचना दिएर गम्भीर खालका अपराध अनुसन्धान भएका छन् । उदाहरणका लागि डोल्पाका मेजरले गरेको सुसाइड केसमा ५-७ दिनसम्म हामीलाई गाह्रो परेको थियो । तर, स्टिकर घरमा भएकै कारणले उक्त घरका नागरिकले पुलिसलाई फोन गरेपछि लास फेला पार्न सफल भयौं । त्यसैले दर्जनौं केस फाइन्ड आउट गर्न सफल भएका छौं । स्टिकर टाँस अभियान राम्रोसँग कार्यान्वयन भएको छ । त्यसको रिजल्ट पनि हात लागेको छ । हामी अझै नागरिकसँग नजिक भएका छौं ।

– लालटिन अभियानबाट प्रहरीले के अपेक्षा गरेको छ ?

लालटिन अभियानलाई विषय फोकस गरेका छौं । गत बैशाख १ गते हामी सुरक्षित कर्णाली विशेष अभियान शुरु गरेका छौं । यो अभियान पनि हाम्रो हेडक्वाटरको नीति निर्देशन र कार्ययोजनाभित्र रहेर सुरु गरेका हौं । सुरक्षित कर्णाली अभियानअन्तर्गत यसको नवौं कार्य क्षेत्र अथवा विषयमा आधारित लागुऔषध कन्ट्रोल गर्नेछ । लागुऔषध कन्ट्रोल गर्न हामी कर्णालीमा लागुऔषधविरुद्ध लालटिन अभियान सुरु गरेका छौं । यो अभियानका ४-५ वटा मुख्य विशेषता छन् ।

लालटिन अभियानमार्फत कानून कार्यान्वयन गर्नेछौं । हाम्रो तदारुकता एकदमै बढ्नेछ । जनशक्ति बढाउने छौं । साधनस्रोत बढाउने छौं । चेकजाँचको दायरा फराकिलो बनाउने छौं । जिल्ला, स्थानीय तह, वडा, कलेज र विद्यालय तहसम्म लालटिन समूह गठन गर्छौं । त्यहाँ वरिपरिका संघसंस्थालाई संलग्न गरेर लालटिन समूह बनाउँछौं । उनीहरुलाई हामी सक्रिय बनाउँछौं । वडा तहमा वडा अध्यक्षको संयोजकत्वमा लालटिन समूह बनाउँछौं । पालिका प्रमुख, उपप्रमुखको संयोजकत्वमा लालटिन डेक्स बनाउँछौं । पालिकाभित्रको सम्पूर्ण लागुऔषधको स्थितिलाई आकलन गर्ने, मूल्याकंन गर्ने र आवश्यक रणनीतिको व्यवस्था गर्ने काम गर्छाैं ।

यस्तै विद्यालय र कलेजमा पनि लालटिन समूह बनाएर विद्यार्थीहरुलाई यस्ता दुर्व्यसनीमा नलाग्न र कोही लागेको छ भने उनीहरु नै यसविरुद्ध सक्रिय होऊन् भन्ने हो । लागुऔषधबाट सुध्रिएकाबाट प्रशिक्षण, प्रशिक्षक दिनेछौं । लागुऔषधको डिमान्डलाई कम गर्ने तथा नियन्त्रण गर्ने हाम्रो उद्देश्य छ ।

– प्रहरीलाई सधैं लागिरहने आरोप हो, राजनीतिक दबाब, विभिन्न प्रलोभनको भरमा अपराध अनुसन्धान प्रभावित हुन्छ, सुरक्षा चुस्त हुन्न । कर्णालीमा त्यस्तो छ कि छैन ?

कर्णालीमा सालाखाला आरोप हामीलाई छैन । राजनीतिक क्षेत्रबाट कुनै विषयको जानकारी दिनु स्वाभाविक हो । तर, कसैले प्रेसर दिन्छ भने हामी प्रोफेशनल रुपमा काम गर्छौं । प्रेसरलाई मान्दैनौं । अनुसन्धानमा कसैले प्रभाव पार्ने हुँदैन । अनुसन्धानकर्मी र अनुसन्धान निकायलाई मनिटर गरिराखेको हुन्छ । उनीहरूलाई धेरैतिरबाट निगरानी गरिराखेको हुन्छ । उनीहरूलाई अनुसन्धान सफल बनाउन प्रेरित गरिराखेका हुन्छौं । त्यसैले कर्णालीमा यस्तो अवस्था छैन । त्यो अवस्था कम गर्न बाहिरिया प्रेसर नहोस् र पीडित नागरिकलाई सहज होस् भनेर अहिले हामीले थालेका अभियानले पनि सहयोग पुर्‍याएका छन् ।

जस्तैः नागरिक सहजकर्ता ३०८ वटै प्रहरी कार्यालयमा राखेका छौं । जसले गर्दा उक्त सेवाग्राहीले कसैलाई फोन गराउन लगाउनु पर्दैन, कोही बिचौलिया दलालको सहारा लिन पर्दैन । कोही नेतालाई पनि फोन गराउनु पर्दैन । हामीले पीडित सहायता केन्द्रको प्रारम्भ गरेका छौं । यसले गर्दा पीडितले प्रहरीकहाँ बारम्बार धाउनु पर्दैन । नागरिकले घरमा नै बसेर प्रगति विवरण थाहा पाउँछ र यदि काम परेमा प्रहरीले कार्यालयमा बोलाउनु हुन्छ । यसले गर्दा बाह्य प्रेसर, सोर्सफोर्स र पीडित बिचौलिया तथा दलालबाट पीडित हुने अवस्थालाई हामीले कटौती गरेका छौं । हाम्रो अभियानले पनि यी कुराहरुमा सहयोग गरेको छ ।

– दूरदराजमा रहेका प्रहरी युनिटहरूमा भौतिक पूर्वाधार पर्याप्त देखिँदैन । सकसपूर्ण ढंगले ड्युटी निभाउनुपर्छ । उनीहरूको मनोबल बढाउन र पूर्वाधार विकासको लागि के कसरी काम भइरहेको छ ?

कर्णालीभरिका प्रहरी कार्यालयहरुको २५ प्रतिशतमात्रै आफ्नो भवन छ । बाँकी कोही भाडामा, अन्य कार्यालयको सहारामा, कोही सार्वजनिक ठाउँमा छाप्रो बनाएर बसेका छन् । कतै पाल टाँगेर पनि बसेको छ । आफ्नो कार्यालय नहुँदा अधिकृत र जवानहरुले स्वतन्त्रपूर्वक र आरामका साथ काम गर्न सकेका छैनन् । यस्तो नहोस् भनेर स्थानीय सरकारसँग समन्वय गरेर कतिपय ठाउँमा केही हदसम्म समाधान गरेका छौं । स्थानीय सरकारले कतिपय ठाउँमा भवन बनाइदिने, मर्मत सुधार गरिदिने काम गरेको छ । प्रदेश सरकारसँग समन्वय गरेर केही कार्यालयहरु बनेका छन् भने कतिपय निर्माणाधीन रहेका छन् । ५-७ वटा कार्यालय मुद्दा परेर रोकिएका छन् । बाँकी अन्य कार्यालयको लागि माथि प्रस्ताव गरेका छौं । जटिल समस्यालाई विभिन्न निकायसँग समन्वय गरेका छौं ।

– कर्णालीमा प्रहरीलाई नागरिकको साथ कस्तो छ ?

कर्णालीमा नागरिकको साथ सहयोग एकदमै राम्रो छ । नागरिकको साथ सहयोग पाउन नै हाम्रो अभियान र कार्यक्रमहरु अगाडि बढाएका छौं । सचेतनाका कार्यक्रम व्यापक बनाएका छौं । घरघरमा प्रहरी पुगेको छ । स्टिकर अभियानले गर्दा कर्णालीका सबै घरमा प्रहरी पुग्दैछ । सबै घरमा सरकार पुग्दैछ भन्दा पनि हुन्छ । वर्षौंदेखि प्रहरी नआएको घरमा प्रहरी पुगिराखेको छ । जनताले सरकार आएकाे ठानेका छन् । नागरिकसँग अन्तरक्रिया, घरदैलो कार्यक्रम गरेको छ । नागरिकलाई आश्वस्त पार्ने काम गरेका छौं ।

पहिलाभन्दा अहिले धेरै राम्रो भएको छ । खराब, अपराधी, गुण्डागर्दी जस्ता घटना निरुत्साहित हुने वातावरण हामीले गरेका छौं । सामान्य नागरिक, पार्टी र जनप्रतिनिधिहरु हामीसँग सकारात्मक भएको देखिन्छ । यो अवस्थालाई वृद्धि गर्नतर्फ हामी लागेका छौं । हामीले विशेष ध्यान दिएको प्रहरी आफैं समस्या नपरोस्, नागरिकलाई दुर्व्यवहार नगरोस्, नागरिकलाई मैत्रीपूर्ण व्यवहार गरोस् भन्ने विषयमा हाम्रो मुख्य ध्यान रहेको छ ।

– चाडपर्वमा हुने घटनालाई न्यूनीकरण गर्न कस्तो खालका सुरक्षा व्यवस्था अपनाइएको छ ?

यसमा हाम्रो सामान्य अवस्था र विशेष अवस्था रहेको छ । जुन चाडपर्व विशेष अवस्था हो । विशेष अवस्थाामा विगतका चाडपर्वमा के कस्ता घटना घटेका छन् ? त्यसलाई विश्लेषण गरेका छौं । अहिलेको चाडपर्वमा के थ्रेट हुनसक्छ, के जोखिमहरु हुन सक्छन्, त्यो लोकल वातावरणमा के सुरक्षात्मक समस्या हुन सक्छन् भन्ने विषय सबै विश्लेषण गरेर सुरक्षा योजना बनाएका छौं ।

जिल्लागत रुपमा पनि सुरक्षा योजना बनाएका छौं । प्रदेश हेडक्वाटरले पनि एकीकत सुरक्षा योजना बनाएको छ । त्यसले गर्दा कति जनशक्ति थप्नुपर्ने हो, त्यो पनि योजना बनाएका छौं । चाडपर्वमा जिल्ला-जिल्लामा नागरिकको सुरक्षाका लागि प्रहरीले सुरक्षा योजना अपनाएको छ । सडक दुर्घटना न्यूनीकरण, विपदका घटनामा पनि हामीले ध्यान दिएका छौं । चोरी, लुटपाट र पाकेटमारीप्रति हामी केन्द्रित भएका छौं ।

– के कस्तो सहयोग भए कर्णालीको सरक्षा अझ चुस्त हुन्छ जस्तो लाग्छ ?

समग्र कर्णालीको सुरक्षालाई प्रदेश सरकारले सहयोग गरिरहेको छ । अझै योभन्दा बढी सहयोग गर्नुपर्छ । अहिले प्रविधिगत थ्रेट बढी छ । साइबर, सामाजिक सञ्जालको दुरुपयोग, आत्महत्याका घटनामा वृद्धि भएकाले यसलाई रोक्न प्रहरी पर्याप्त हुँदैन । स्थानीय नागरिकले हामी पनि बर्दीविनाका प्रहरी हौं भन्ने भावना मनमा लिएर काम गर्नुपर्छ । प्रहरी भनेको हाम्रै सहयोगी हो, हाम्रो पैसाबाट चलेको संगठन हो भन्ने सोचेर प्रहरीसँग नजिक हुने, प्रहरीसँग एकाकार हुनुपर्‍यो ।

हाम्रा भौतिक स्रोतसाधनहरु अभाव जहाँ छन्, त्यहाँ सरकारले हेरिदिनुपर्‍यो । अति आवश्यक ठाउँहरु छुट्याएर प्राथमिकतामा राखेर निर्माण, सुधार गर्ने विषयमा सम्बन्धित सरकारले ध्यान दिनुपर्छ । नागरिकका मागअनुसार स्रोतसाधनको कमी छ । यसमा आउने कठिनाइमा पनि सम्बन्धित स्थानीय, प्रदेश र संघ सरकारको ध्यान पुग्न आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर