प्रचण्ड, देउवा र शेखरबीच भएको सम्झौताको चिर्कटोप्रति गगन-विश्वको आपत्ति (भिडिओ) – Nepal Press

प्रचण्ड, देउवा र शेखरबीच भएको सम्झौताको चिर्कटोप्रति गगन-विश्वको आपत्ति (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बालुवाटारमा भएको तीन नेताबीचको हस्ताक्षर भएको चिर्कटोप्रति आपत्ति जनाएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि बाहिरिने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्ड, देउवा र शेखर कोइरालाबीच सहमति भएको चिर्कटोबारे छलफल भएको बताए ।

उनले तीन नेताहरुबीच भएको चिर्कटोप्रति दुई महामन्त्रीको सहमति नभएको बताए ।

उनले प्रधानमन्त्री प्रचण्ड र देउवाले गठबन्धनलाई निरन्तरता दिन्छु भनेर वक्तव्य दिनु उपयुक्त नभएको बताए ।

महामन्त्री शर्माले भने, ‘शेखरका प्रति आशंका भए उहाँले वक्तव्य दिएको भए भइहाल्यो । त्यो चिर्कटो बनाइएको विषयमा हामी दुई महामन्त्रीको सहमति छैन ।’

यो घटनापछि सभापति देउवाले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनले बताए । कोशीमा भएको दुर्घटनाको जिम्मेवारी देउवाले नै लिनुपर्ने उनकाे भनाइ छ । कोशीमा देखिएको समस्यालाई सहमतिमै हलमा पुग्नुपर्ने बताउँदै उनले अब कांग्रेसले पनि विश्वासको मत दिएर अघि बढ्नुपर्ने सुझाव दिए ।

महामन्त्री शर्माले भने, ‘शेखर कोइरालाले पनि जबरजस्ती कांग्रेसको भागको माओवादीलाई दिइयो भन्ने भाष्य बनाउनुभएको छ । त्यो कांग्रेसको भाग दिइएकै होइन । कुनै प्रदेशमा कांग्रेसको भागको हुन त बहुमत ल्याएको पनि हुनुपर्थ्यो नि !’

उनले पार्टी सभापति र शेखरले पार्टी पंक्तिलाई कोशीबारे जवाफ दिनुपर्ने बताए । यसअघि दुई पटक माओवादीले कांग्रेसलाई छाडेको हुनाले अहिले माओवादीले दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर