शेखरको ‘कोशी विद्रोह’ मा गगनको ‘रिजर्भेसन’- खलबलिँदै गुट एकता – Nepal Press

शेखरको ‘कोशी विद्रोह’ मा गगनको ‘रिजर्भेसन’- खलबलिँदै गुट एकता

काठमाडौं । कोशी प्रदेशमा कांग्रेसइतर पक्षका नेता डा. शेखर कोइराला विद्रोही कदम चाल्दै आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भए । जबकि उनलाई यो कदममा पार्टीभित्रको आफ्नै खेमाले साथ दिएको थिएन ।

शेखरले पार्टीभित्र सभापति देउवालाई काउन्टर दिँदा उनको समूहका गगन थापासहितका नेताहरु मौन देखिएका थिए । ‘कोशी विद्रोह’ मा इतर पक्षबाट उपसभापति धनराज गुरुङबाहेक सबै पदाधिकारी नै मोर्चाबन्दीमा लागेको शेखर निकट नेताहरुको आरोप छ । गगन समूह भने आफ्नो टीममा समेत छलफल नगरी शेखरले आफूखुसी कदम चालेको भन्दै असन्तुष्ट देखिन्छ ।

देउवाले पदाधिकारी बैठकबाट उद्धव थापाबाहेक पार्टीभित्रबाट विकल्प नदिइ माओवादी केन्द्रका इन्द्र आङ्वोलाई मुख्यमन्त्री स्वीकार्न तयार भएपछि शेखर कोशीमा विद्रोह गर्न बाध्य भएको उनी निकट नेताहरु बताउँछन् । तर, शेखरको कदमले क्षणिक फाइदा भए जस्तो देखिए पनि लामो समय नजाने गगन निकट नेताहरुको बुझाइ छ ।

एक नेताले भने, ‘गगन दाइले सुरुमा मुख्यमन्त्री कसलाई बनाउने भनेर पार्टी सभापतिलाई सोध्नुभएकै हो । दुई पटक टिक्न नसकेको अवस्था थियो । उहाँले शेखर र मीनेन्द्रसँग कुराकानी भइरहेको भन्नुभएको थियो । तर, उद्धव थापालाई नै दोहो¥याउने अडान राखेपछि कुरा बिग्रिएको हो ।’

उद्धव थापालाई राप्रपाले समर्थन नगर्ने र बहुमत पुर्‍याउन नसक्ने भएपछि पार्टीभित्रैबाट विकल्प खोज्नुपर्नेमा माओवादीलाई सुम्पिन तयार हुनु नेतृत्वको गल्ती भएको ती नेताले बताए ।

उनले भने, ‘सभापतिले पार्टी पदाधिकारीसहित नेताहरुको कुरा सुनेको भए अहिलेको अवस्था नै आउँदैनथ्यो । राष्ट्रपति, प्रधानमन्त्रीदेखि हाम्रो पार्टी सभापतिसम्म शेखर दाइलाई रोक्न लाग्नुभएको थियो । नसक्ने अवस्था बनेपछि ‘फेस सेभिङ’ को लागि मात्रै अहिले बालुवाटार सहमति भएको हो ।’

बहुदलीय व्यवस्थाभित्रको गैरदलीय अभ्यासले झन् अराजकता बढाउने गगन निकट अर्का एक केन्द्रीय सदस्यले बताए ।

शेखरको कदमप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘संविधानले दिएको छ भनेर हुँदैन । पार्टीगत भूमिका हुनुपर्थ्यो । त्यो पार्टीको भूमिकालाई कमजोर बनाउन खोजियो । मेरो निर्णय नै अन्तिम हो भन्ने सभापतिबाट पनि भयो । तर, ग्राउण्ड रियालिटी त्यो थिएन । त्यसबारे पनि सूचना थियो । त्यसलाई विश्लेषण गरेर निर्णय लिन मूल नेतृत्व चुकेको हो ।’

कमजोरीलाई ‘कोर्स करेक्सन’ गरेर जाने कुरामा हिजो बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासँग शेखरले गरेको सहमतिले केही हदसम्म काम गर्ने ती नेताको विश्वास छ ।

उनी भन्छन्, ‘एमालेको समर्थनमा मुख्यमन्त्री बनिसकेपछि बाहिर राखेर सरकार बनाउने कुरा झन् अराजनीतिक हुन्छ । अहिले व्यवस्थामाथि नै अनेक प्रश्न उठिरहेको बेलामा थप कमजोर बनाउने कदम भइरहेका छन् । व्यवस्थालाई कमजोर बनाउने कुरालाई यसले मलजल गर्छ ।’

पार्टीको अहिलेको चुनौतीहरुलाई सामना गर्दै मध्यावधि रोक्ने विकल्पबारे सोच्न नेतृत्व चुकेपछि अहिलेको परिस्थिति बनेको गगन निकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बताउँछन् ।

उनले भने, ‘केन्द्रमा नभए पनि राष्ट्रिय सहमतिको प्रयास हुनसक्थ्यो । प्रदेशका साथीहरुले भन्दा पनि शेखर दाइबाट हुनसक्थ्यो । त्यसमा पार्टी सभापतिले भूमिका खेल्नुपर्थ्यो । त्यो सफल नभएपछि अहिलेको परिस्थिति आएको हो ।’

तर, शेखर निकट नेता सञ्जय गौतम नेतृत्वले आफ््नो पार्टीको भन्दा अर्को पार्टीलाई नजिक देखेपछि अहिलेको परिस्थिति आएको बताउँछन् । अब पार्टीलाई एकताबद्ध बनाएर अघि लाने विषयमा नेतृत्व गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

त्यसो त शेखर कोशीमा भएको एमालेसँगको सहकार्य तत्काल नछाड्ने मनस्थितिमा छन् । मुख्ममन्त्री कार्कीले एमालेलाई पनि समेटेर मन्त्रिपरिषद् बनाएका छन् ।

पार्टी सभापतिले निर्णय गरेर पठाइसकेपछि त्यसविरुद्ध जाँदा अराजनीतिक हुने भएकाले गगन तत्काल नखुलेको अर्का नेता बताउँछन् ।

उनले सुनाए, ‘सभापतिको निर्णय दुई पटक असफल भइसकेको थियो । अब यसको लहरो तान्दा पहरो थर्किनसक्छ । यो कोशीमा मात्रै सीमित हुन्छ भन्ने छैन । त्यसैले पार्टीको जिम्मेवार पदमा भएको व्यक्तिले आधिकारिक निर्णयविरुद्ध जान मिल्दैन । पार्टीभित्रै संघर्ष गर्नुपर्छ भन्ने उहाँको बुझाइ हो ।’

यता, शेखर पक्ष कोशीमा विद्रोह गर्दा पनि पार्टी नेतृत्व नसच्चिए अन्य सम्भव भएसम्मको प्रदेशमा पनि एमालेसँगको समीकरणलाई अघि बढाउने रणनीतिमा छ । तर, भोलि पार्टीको नेतृत्व गरेर आउँछु भन्नेहरुले अहिले अराजनीतिक गतिविधि गर्न नहुने गगन निकट नेताहरुको विश्लेषण छ ।

महामन्त्री थापा निकट ती नेताले भने, ‘सरकारले काम गर्न सकेको छैन । नेतृत्व परिवर्तन गरेर जानुपर्छ भन्ने कुरामा हामी शेखर दाइसँगै छौं । पार्टी नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी लागिरहेका छौं । तर, यस्तो बेलामा उहाँ(शेखर) को कदमले हाम्रो अभियानलाई फाइदा पुग्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’

पछिल्लो समय शेखर र गगनको दूरी बढेको आशंकालाई कोशी प्रकरणले पनि थप मलजल गरेको छ । यसअघि गगनले पार्टी नेतृत्व परिवर्तनको एजेण्डा पार्टीको केन्द्रीय कमिटीको बैठकमा पु¥याउँदा शेखरले साथ दिएका थिएनन् । उनी तत्काल नेतृत्व परिवर्तन गर्न नसकिने भन्दै १५औं महाधिवेशन कुर्न तयार थिए । त्यसबेला उनलाई देउवासँग मिलेको आरोप लागेपछि खण्डनसमेत गरेका थिए ।

तर, कोशीमा शेखरले गरेको विद्रोहको साइड इफेक्ट केन्द्रसम्म आउने राजनीतिक वृत्तमा चर्चा छ । शेखर पछिल्लो समय प्रचण्ड सरकारविरुद्ध आक्रमण ढंगले प्रस्तुत हुँदै आइरहेका छन् । त्यहीअनुसार पार्टीभित्र पनि माहोल बनाउँदै लगेका छन् । पार्टी राजनीति र संसदभित्र पनि आफूसँग कमजोर अंक गणित भएपछि पछिल्लो समय उनी बालकृष्ण खाणलाई फकाउन लागिपरेको बताइन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका खाणले संस्थापन पक्षको खम्बा भएर पनि देउवाले आफूलाई अप्ठेरो पर्दा सहयोग नगरेको भन्दै चित्त दुःखाएका छन् । यही मौकामा खाणलाई आफ्नो पक्षमा ल्याउन कोइराला दुई पटक कारागारमै पुगेर भेटवार्ता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर