प्रचण्डको रोडम्यापमा चलेपछि कांग्रेस कार्यकर्ता जताततै आक्रोशित छन्, मध्यावधि रोक्न कोशीमा विद्रोहीलाई समर्थन : ओली (भिडिओ) – Nepal Press

प्रचण्डको रोडम्यापमा चलेपछि कांग्रेस कार्यकर्ता जताततै आक्रोशित छन्, मध्यावधि रोक्न कोशीमा विद्रोहीलाई समर्थन : ओली (भिडिओ)

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि गराएर देशको अनावश्यक खर्च जोगाउन विद्रोही कांग्रेसलाई समर्थन गरेको जनाएका छन् ।

आइतबार प्युठानको विजवार जुम्रीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा कांग्रेसमा आएको विद्रोहले गठबन्धनलाई धक्का दिएको बताए ।

‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित छन्, अति भएर कोशी प्रदेशमा कांग्रेसका केही साथीहरुले विद्रोह गर्नुभएको हो, कांग्रेसका नेताहरुले प्रचण्डले भनेको मात्रै गरेपछि यस्तो भएको हो, ८ सीटका पछि कांग्रेसको ह्वीप लागेपनि केही सांसदले विद्रोह गर्नुभयो’, ओलीले भने ।

उनले एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भए पनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन कांग्रेसको विद्रोहलाई समर्थन गरेको प्रष्ट्याए ।

उनले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनको सबैतिर संघीयताको वितृष्णा जगाएको बताए ।

‘कोशीमा हेर्नुस् कतिपटक किर्ते गरे, कति प्रदेशमा भागवण्डा पुर्याउन मन्त्रालय थपे, को को लाई कानून विपरीत नियुक्त गरे, अनि यो प्रणालीमाथि वितृष्णा फैलिँदै गएको हो, यो सत्तारुढ गठबन्धनकै कारण भएको हो’, ओलीले भने ।

अध्यक्ष ओलीले अब एमाले सुदृढ भएको र गठबन्धनको पक्षमा नरहेको बताउँदै २०८४ को निर्वाचनमा ५१ प्रतिशत वडादेखि संसदसम्म ल्याउनेगरी अभियानमा लाग्न आग्रह गरे ।

‘अहिले गठबन्धनको ताल हेर्नुस् त, चारतिर फर्केका दलहरु जोडेर सरकार बनाएका छन्, कुनै स्थिरता हुँदैन, उनीहरु सरकारमा पुग्नका लागि मात्रै गठबन्धन गरेका हुन्, त्यसैले उनीहरुबाट पार लाग्दैन’, उनले भने, ‘समृद्ध नेपाल बनाउन एमालेलाई बहुमत चाहिन्छ, त्यही अभियानमा लागौं, एमालेको शक्ति नै जनताको साथ हो, परिवर्तन विरोधी, सुशासनविरोधीसँग मिलेर एमाले हिंडदैन ।’

एमालेविरुद्ध घेराबन्दी हुँदा पनि नेकपा एमालेले देश बनाउँछ भन्ने विश्वासका साथ देशभरबाट साथ समर्थन पाएर धेरै मत पाएर पहिलो दल बनेपनि सरकार बनाउन बहुमत नभएकाले अहिलेको अवस्था आएको बताउँदै उनले भने, ‘यो माया आमाबुवा दाजुभाईको माया भन्दा बढी हो, प्यूठानमा सबै दलको घेराबन्दी हुँदा एमालेको अपार समर्थन प्यूठानले पाएको छ, यो एमालेको लागि ठूलो उपलब्धी हो, प्यूठानी जनतालाई सलाम गर्न चाहन्छु ।’

‘एमाले सकाउन हिंडेका आफैं सकिए, अझै सकिँदैछन्, यो मजबुत पार्टी हो, कठिन अवस्था पार गरेका छौं, ग्रासरुटपछि मिसन ८४ मा छौं । त्योभन्दा अघि पार्टीका सबै कमिटीलाई नयाँ नेतृत्व प्रदान गर्नेछौं ।’ अध्यक्ष ओलीले भने ।

‘एमाले सकाउन लागेका थिए, धुलोमा मिलाउछु भनेको थिए तर तपाईंहरुको मायाले एमाले अझ बलियो भएको छ, लक्का जवान भएको छ, अब एमाले जागिएको मात्र छैन, पुनःजागरणमा लागेको छ, शुद्धीकरणमा लागेको छ, एमालेको कम्युनिष्ट पार्टीको कार्यकर्ता र अरुका कार्यकर्ताको जिम्मेवारी फरक हुनुपर्छ, हामी सरकारका लागि मरिहत्ते गर्दैनौ, देशको स्वभाविमान जोगाउन एमाले सधैं सतिसालजस्तै बन्नेछ, नाकाबन्दीलाई चुनौती दिएर स्वाभिमान जोगाएको एमाले हो’, कार्यकर्तालाई उत्साह थप्दै ओलीले भने ।

अध्यक्ष ओलीले घटस्थापनाको दिन प्युठानमा आउनु, स्वर्गद्वारीमा दर्शन पाउनु निकै महत्वपूर्ण अवसर आफ्ना लागि भएको बताउँदै स्वर्गद्धारी संरक्षणको विकास गरेर धार्मिक पर्यटन भित्र्याउन सकिने प्रशस्त आधार भएकाले एमाले नेता सूर्य थापाको साथमा अगाडि बढ्न र आफूले त्यसमा साथ दिने बताए ।

ओलीले प्युठान आन्दोलन र जागरणको इतिहास भएको जिल्ला भएको र ७० वर्ष अघिबाट यहाँको जागरणको विषयमा आफूले अध्ययन गरेको बताए । आइतबार बिहान हेलिकप्टरबाट प्युठान आएका उनी बिहान स्वर्गद्धारी दर्शन, प्युठानको विजवार ज्रुमीमा अगुवा कार्यकर्ता भेटघाट, नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन सकेर आजै काठमाडौं फर्कने कार्यक्रम छ । उनी २९ वर्षपछि प्यूठान आएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर