चलचित्र ‘महाराजधिराज’को निर्माण घोषणा, परिच्छेद सेनले निर्देशन गर्ने – Nepal Press

चलचित्र ‘महाराजधिराज’को निर्माण घोषणा, परिच्छेद सेनले निर्देशन गर्ने

काठमाडौं । निर्देशक परिच्छेद सेनको निर्देशनमा नयाँ चलचित्र ‘महाराजधिराज’ बन्ने भएको छ । घटस्थापनाको अवसर पारी नयाँ चलचित्र ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो ।

परिच्छेदकै लेखन रहेको चलचित्रका प्रस्तुतकर्तामा बिराज बिष्ट रहेका छन् । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए । ‘बुलाकी’ले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

टोपेन्द्र बिष्टको लगानीमा तयार हुन लागेको चलचित्रले रोमान्टिक सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक सेनले जानकारी दिएका छन् ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्रलाई २०८१ सालको तिहारमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ । चलचित्रका लागि कलाकार भने तय गरिएको छैन ।

चलचित्रमा सह–निर्देशकको रूपमा काम गर्दै आएका परिच्छेदले ‘प्रेमगञ्ज’बाट आफूलाई एक सशक्त निर्देशकको रूपमा पुष्टि गरेका थिए । यसैले, उनको नयाँ फिल्मको प्रतीक्षा दर्शकमा छ । ‘महाराजधिराज’बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई अझै बलियो तरिकाले प्रस्तुत गर्ने परिच्छेदले बताएका छन् ।

परिच्छेदले प्रेमगञ्ज अघि ‘मोदर र स्ट्राइक’ नामक सट फिल्म निर्देशन गरिसकेका छन् । यी दुवै फिल्मले दर्जनौ अन्तर्राष्ट्रिय अवार्ड समेत जितेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *