‘परदेशी २’लाई दर्शकको साथ – Nepal Press

‘परदेशी २’लाई दर्शकको साथ

काठमाडौं । नेपाली चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको साथ पाएको छ ।

शुक्रवारबाट प्रदर्शनमा आएको गरेको चलचित्रले शनिवार धेरै हलमा हाउस फुल दर्शक पायो ।

हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् ।

अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा भावुक देखिएका थिए । उनीहरूले चलचित्रले हँसाउने, रुवाउने र धेरै दृश्यमा गम्भीर समेत बनाउने बताएका छन् ।

शनिवार चलचित्रको व्यापार पनि शुक्रवारको भन्दा स्वाभाविक बढी भएको निर्माण पक्षले बताएको छ ।

निर्देशक नारायण रायमाझी दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टीम उत्साहित रहेको बताउँछन् ।

‘शनिवार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउस फुल भए’ रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ ।’

निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।

चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् ।

निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *