घाम-छायाँबीच अविरल वर्षा – Nepal Press

घाम-छायाँबीच अविरल वर्षा

काठमाडौं । पुक्क गालासहितको ‘बेबी फेस’ भएकी वर्षा  शिवाकोटीलाई ठूली भइसक्दा पनि लाग्थेन कि उनी एक दिन सिनेमाको ‘हिरोइन’ बन्नेछिन् । उनलाई त बैंकमा जागिर खानु थियो र खनखनी पैसा गन्नु थियो । कम्तीमा ब्रान्च म्यानेजर बन्नु थियो ।

जिन्दगी यस्तो नाटकीय यात्रा हो, जहाँ कतिबेला के ट्विस्ट आइदिन्छ, यात्रीलाई नै पत्तो हुँदैन । तपाईं सोच्नुहुन्छ एउटा, भइदिन्छ अर्को । परिस्थितिअनुसार आफूलाई बदल्दै, लड्दै-उठ्दै अनवरत हिँडिरहनु नै त जिन्दगी ।

वर्षाको जीवन अनेक घामछायाँहरुले भरिएको छ । कक्षा १२ मा पढ्दै गर्दा वर्षा र उनको परिवारलाई ठूलो बज्रपात पर्‍यो । उनले आफ्नो बुवालाई सधैंका लागि गुमाइन् । बुवाको हात समातेर बेफिक्री हिँडिरहेका उनका पाइलाहरु एकाएक गहु्रंगा भए । जसोतसो सम्हालिँदै उनी अघि बढिन् ।

बीबीए पढ्दै गर्दा वर्षाको कलेजमा एउटा सौन्दर्य प्रतियोगिता आयोजना भएको थियो । उनलाई मन त थिएन तर ‘क्याप्टेन’ भएकाले भाग लिनैपर्ने भयो । त्यो बेला उनलाई ढंगले हिँड्न पनि आँउदैनथ्यो । प्रतियोगिताको ट्यालेन्ट राउन्डमा के प्रस्तुति दिने भन्नेमा समेत उनी अन्योलमा परेकी थिइन् ।

नाचमा थोरबहुत रुचि भएकाले वर्षाले ट्यालेन्ट राउन्डमा नृत्य देखाउने सोच बनाइन् । कलेजको स्टेजमा पहिलो पटक नाचिन् उनी । उनको उक्त नृत्य देखेपछि कलेजमा डान्स सिकाउन बोलाइएकी कोरियोग्राफर प्रतिमा श्रेष्ठले उनलाई सोच्दै नसोचेको प्रस्ताव राखिन् । प्रस्ताव थियो- चलचित्रमा अभिनय गर्ने । वर्षाले हँसीमजाक होला भन्ठानेर हचुवामै ‘ओके’ भनिदिइन् । तर, यो हँसीमजाक थिएन ।

करिब एक महिनापछि उनलाई उनै प्रतिमाको फोन आयो । एउटा राम्रो ब्यानरबाट फिल्म खेल्ने अफर थियो । वर्षाको मन हलहल भइदियो । त्यतिबेला अहिलेको जस्तो स्क्रिन टेस्ट गर्ने चलन थिएन । जे त होला भनेर उनले प्रस्ताव स्वीकारिन् ।

त्यसलगत्तै वर्षालाई सीधै छायाङ्कन सेटमा लगियो । त्यहाँ पुग्दा त उनी आत्तिइन् । कहिल्यै नदेखेका ठूला–ठूला क्यामरा र मान्छेको ठूलो जमात । आँखै तिल्मिलाए उनका । प्रियंका कार्कीलाई अगाडि देख्दा झनै नर्भस भइन् ।

विगतमा फर्किंदै वर्षा सुनाउँछिन्, ‘भाग्य भनौं या संजोग, नाइँ नभन्नु ल-२ की मुख्य बाल कलाकार सुज्ञानी भट्टराईको अनुहार मसँग मिल्दोजुल्दो रहेछ । मलाई ठूली सुज्ञानीको भूमिका दिइएको थियो ।’

टीम मेम्बरहरु उनलाई देख्नासाथ हौसिएका थिए । ‘वाउ… हामीले खोजे जस्तै मान्छे भेट्यौं’ भनिरहेका थिए । यता वर्षाको मन भने थरथर काँपिरहेको थियो । अभिनय गर्नसक्छु भन्ने आत्मविश्वासै जागिरहेको थिएन ।
निर्देशक विकासराज आचार्यले उनलाई प्रेरित गरे । कहिल्यै क्यामरा फेस नगरेकी युवतीलाई विश्वास गरेर अवसर दिएका थिए उनले । निर्देशकले स्क्रिप्ट थमाएपछि वर्षाले थाहा पाइन्, भूमिका डाक्टरको थियो । ग्ल्यामरस रोल गर्नभन्दा डाक्टरको रोल गर्न उनलाई सहज हुन्थ्यो । ‘डाक्टर बन्ने’ परिवारले पनि भनेपछि कुनै अब्जेक्सन गरेनन् ।

तर, पहिलो पटक क्यामरा फेस गर्दा वर्षाको सातो नै गयो । त्यसमाथि सीन थियो उस्तै । पहिलो टेकमा नै कसैलाई सम्झिएर कुत्कुतिँदै हाँस्नुपर्ने । त्यो पनि थोरै होइन, पाँच मिनेटसम्म निरन्तर ।

त्यो क्षण सम्झिँदै भन्छिन्, ‘कहिल्यै क्यामरा फेस नगरेको यस्तो अन्डर-कन्फिडेन्ट मान्छे म । पहिलो टेक नै यस्तो गाह्रो थियो । पाँच मिनेट क्यामरामा हेरिहेरि कसरी हाँस्नु म ?’

उनले त्यो सीन मरिगए गर्न सकिनन् । निर्देशकले त्यसलाई क्यान्सिल गरेर पछाडिको पार्ट गराए । अरु सबै छायाँकन सकिएपछि अन्तिममा सुटिङ गरियो, कुत्कुतिने सीन । त्यसबेलासम्म वर्षाको कन्फिडेन्ट बढिसकेको थियो । निर्देशकले चाहे जस्तो गरी कुत्कुतिइन् ।

‘नाइँ नभन्नु ल २’ को सुटिङ सकिँदासम्म वर्षालाई अभिनयको चस्का परिसकेको थियो । अझै राम्रो गर्न सक्छु भन्ने हुटहुटी बढिसकेको थियो । पहिलो फिल्मबाटै सफलताको रमरम स्वाद पनि चाखिन् उनले । अन्ततः बैंकर बन्ने सपनालाई सिरानीमुनि हालेर कलाकारिताको दहमा पौडिन थालिन् ।

पहिलो चलचित्र गरेपछि उनलाई म्युजिक भिडियोका अफरहरु आए । म्युजिक भिडियोले राम्रै कमाइ पनि हुन्थ्यो । पढाइ र अभिनयलाई सँगै डोर्‍याउँदै गर्दा २०७२ सालको भुईंचालोले उनको करिअरमा अलिकति ब्रेक लाग्यो । केही समय कामविहीन भइन् । भूकम्पको त्रास सकिनासाथ उनलाई ‘पशुपतिप्रसाद’ बाट अफर आयो । यसमा उनलाई छानिनुको कारण पनि रोचक नै छ ।

त्यस फिल्मका मेकरहरुले ‘झट्ट हेर्दा लाटी लाटी देखिने’ युवतीको खोजी गरिरहेका रहेछन् । खगेन्द्र लामिछानेलाई कसैले वर्षाको नाम सिफारिस गरिदिएछ । वर्षालाई पहिलोपटक देखेपछि खगेन्द्रले ओके गरिदिए ।

उनी हाँस्दै भन्छिन्, ‘खगेन्द्र दाइलाई कसैले ‘नाइँ नभन्नु ल २’ मा खेल्ने एउटा केटी हेर्दै लाटी जस्ती छ, एकचोटी बोलाएर हेरौं भनेर रिकमेन्ड गर्दिनुभएको रहेछ । पछि म कुरा गर्न जाँदा पनि खगेन्द्र दाइले मलाई हेरेर धेरैबेर विचार गर्नुभयो रे ! उहाँलाई पनि म साँच्चिकै लाटी जस्तो लागेपछि चलचित्रका लागि म ओके भएँ ।’

‘पशुपतिप्रसाद’ मा वर्षाको रोल झनै सानो थियो । तर, पनि ‘नोटिसेबल’ थियो । चलचित्रको चर्चासँगै छोटै रोलबाट पनि वर्षा चिनिइन् । उनले बुझिन्, दर्शकको नजरमा पर्न रोल ठूलो होइन, ‘विशेष’ हुनुपर्छ ।

तर, अहिलेसम्मको यात्रामा वर्षाले त्यस्तो ‘विशेष’ भूमिका कमै पाएकी छन् । पहिलो र दोस्रो फिल्म हिट भएपछि त्यसपछि उनलाई असफलताले पछ्याइरह्यो । धेरै फिल्मबाट ठक्कर खाइन् उनले । तर, हार भने खाइनन् । नेपालमा भविष्य नदेखेर थुप्रै कलाकारहरु विदेशिए । कसैले पेशा परिवर्तन गरे । तर, वर्षा भने अविरल लागिरहेकी छन् । उनलाई हिट-फ्लप भन्दा पनि दर्शकको मनमष्तिस्कमा बस्नु छ ।

वर्षाले अभिनय गरेको पछिल्लो फिल्म ‘परदेशी २’ भर्खरै प्रदर्शनमा आएको छ । यो चलचित्रबाट निकै आशावादी छिन् उनी । प्रकाश सपूत र केकी अधिकारीसँगको सहकार्य उनका निम्ति विशेष स्मरणीय रह्यो ।

परदेशी टीमबाट प्रस्ताव आउँदा वर्षाले फ्याट्टै ओके गरेकी थिइन् । हिट फिल्मको सिक्वेल भएकाले उनलाई यसबारे सोच्न धेरै समय लागेन । यसै चलचित्रबाट गायक प्रकाश सपूत नायक बनेका छन् । डेब्यु चलचित्रलाई लिएर प्रकाश सपूतको अनुहारमा देखेको रौनक र उत्साहले वर्षालाई आफ्नो विगतमा फर्काएको थियो । प्रोजेक्टलाई लिएर सबै टीम मेम्बरको अनुहारमा चिन्ता अनि तनाव भरिँदा सपूत भने बिन्दास देखिन्थे ।

‘परदेशी २’ चार वर्षअगाडि छायांकन भएको चलचित्र हो । यति लामो पर्खाइपछि अन्ततः चलचित्र रिलिज भएको छ । प्राविधिक हिसाबले हेर्ने हो भने यो अन्तरालमा धेरै कुरा परिवर्तन भए । तर, वर्षा यसै कुरालाई चलचित्रको विशेषता मान्छिन् । चलचित्रमा देखाइएको मौलिकपनाले दर्शकको मन जित्नेमा उनी ढुक्क छिन् ।

टीमसँग बसेर चलचित्र हेर्दा उनी आफैं भावुक भएकी थिइन् ।

‘यस्तो राम्रो बन्यो होला भन्ने मैले कल्पना पनि गरेकी थिइनँ । बाध्यताले होस् या रहरले, अहिले हरेक घरका कोही न कोही सदस्य विदेशिनुभएको छ । चलचित्रमा उहाँहरुकै कथा समेटिएको छ । जे होस्, दर्शकको मन छुने बनेको छ चलचित्र’, उनले भनिन् ।

०००

अब फेरि व्यक्तिगत जीवनका कुरा । बुवा बितेपछि वर्षाका दाइ पनि अमेरिकातिर भासिए । त्यसयता परिवारको दायित्व पनि उनको काँधमा आयो । परम्परागत रुपमा एउटा छोराले निभाउने जिम्मेवारी निभाउँदै आइन् उनले ।

छोरीमान्छेले घरमा छोराको जिम्मेवारी निभाउनु चुनौतीपूर्ण हुने वर्षा बताउँछिन् ।

‘व्यक्तिगत र व्यवसायिक दुवै पाटोमा संघर्ष गर्नुपरेकाले जिन्दगीमा धेरै असन्तुलनहरु आए । घरमा जाउँ, घरको तनाव । बाहिर आउँ, यताको तनाव’, उनी भन्छिन्, ‘तर, खुसी लाग्छ, जब कसैले तारिफ गर्नुहुन्छ । हाम्रो समाज अझै पनि एउटा छोरीले सबै व्यवहार धान्छ है भन्ने कुरा मान्न तयार छैन नि त ! गरेर देखाउँदा पनि बारम्बार यो सबै मैले नै गरेको है भनेर पुष्टि गरिरहनुपर्छ । छोरीले मात्र पनि घर चलाउन सक्छन् भन्ने कुरा बुझाउन एकदमै गाह्रो छ ।’

वर्षाको निजी जीवनमा फेरि अर्को ट्विस्ट आयो । उनको विवाह असफल भयो । विवाहपछि दाम्पत्य जीवनको वास्तविक अनुभूति लिन नपाउँदै सम्बन्ध विच्छेद गरिन् उनले । यो पीडादायी निर्णय लिनुपर्ने अवस्थामा कसरी पुगिन् ? यसभित्रको अन्तरकथा उनैलाई थाहा होला । तर, सबैका सामु पोखेर सहानुभूति बटुल्नु छैन उनलाई । जे भयो, सकियो । उनलाई मिडियाले यति चाहिँ फेवर गरिदिऊन् जस्तो लाग्छ कि डिभोर्सको घाउ नकोट्याइदिऊन् । उनी केही पनि स्पष्टीकरण दिन चाहन्नन् ।

विगतमा घटेका हरेक घटनाहरुलाई एउटा पाठ सम्झेर अगाडि बढ्न सके जिन्दगी सरल अनि सहज हुने वर्षाको मान्यता छ ।

‘जिन्दगीमा अगाडि गरेका कामहरुबाट पश्चाताप नहुने व्यक्ति सायदै नहोला । मलाई पनि छ । केही समय अगाडिसम्म पनि मैले गरेका केही कामहरु सम्झिँदा मलाई पछुतो लाग्थ्यो’, उनले भनिन्, ‘तर, अहिले ती सबै कुरालाई एउटा पाठको रुपमा लिन्छु । त्यो नभएको भए अहिले यो हुँदैन थियो भन्ने लाग्छ । त्यो मान्छे नभेटेको भए अहिले यो निर्णय लिदिनँ थिए होला भन्ने हुन्छ । जिन्दगीमा जे पनि भयो, त्यसमा म खुसी छु’, उनी भन्छिन् ।

वर्षा अहिलेको ‘टप’ नायिकामा पर्दिनन् । तर, उनको आफ्नै छवि छ नेपाली चलचित्रमा । अन्य हिरोइनभन्दा केही न केही पृथक नै छिन् । अन्तरमुखी स्वभावकी वर्षा युट्युबर अघिपछि लिएर हिँड्दिनन् । आफ्नो विषयमा आउने गसिपहरुलाई जवाफ दिएर पनि बस्दिनन् । नो रियाक्सन इज बेस्ट रियाक्सन भन्ने सिद्धान्तलाई पछ्याएर हिँडेकी छन् वर्षाा । उनी मिडियामा कम देखिने नायिकाहरुमध्येमा पर्छिन् । प्रोजेक्टबाहेकका अन्य व्यक्तिगत कुराहरु लिएर मिडियामा छाइराख्न उनलाई मन पर्दैन ।

‘अनावश्यक निजी कुरा गर्न मिडियामा आउनुपर्छ जस्तो मलाई लाग्दैन’, वर्षा भन्छिन्, ‘दया दाइ, सौगात दाइहरुलाई नै हेरौं न ! कामको सिलसिलामा बाहेक अरु बेला खासै मिडियामा आउनुहुन्न । तर, उहाँहरुकै चलचित्रहरु हिट छन् ।’

‘मैले किन बोल्ने ? आज म कुनै कुरामा आफ्नो स्पष्टीकरण दिन्छु, त्यो कुरामा भोलि तीन जनाले आफ्नो प्रतिक्रिया दिनुहुन्छ । मैले फेरि उहाँहरुको कुराको खण्डन गर्नुपर्‍यो । बेकारमा कुरा लम्बिइरहन्छ । त्यसैले होस् भन्ने लाग्छ । जो मेरो शुभचिन्तकहरु हुनुहुन्छ, उहाँहरुलाई मैले केही कुराको स्पष्टीकरण दिनै पर्दैन । अरुलाई स्पष्टीकरण दिएर कामै छैन’, वर्षा बर्सिन्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *