एमाले मधेश प्रदेशको अध्यक्षमा मण्डललाई सर्वसम्मतिको प्रयास – Nepal Press

एमाले मधेश प्रदेशको अध्यक्षमा मण्डललाई सर्वसम्मतिको प्रयास

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अध्यक्षमा सिरहाका चन्देश्वर मण्डललाई सर्वसम्मति गराउने प्रयास सुरु भएको छ ।

मण्डल नेकपा एमाले सिरहाका पूर्वअध्यक्ष हुन् । उनी लामो समय एमालेमा विताएका छन् । उनलाई अध्यक्ष बनाउन नेकपा एमाले प्रदेश सह–इन्चार्ज लीलानाथ श्रेष्ठ लविङ गरिरहेका छन् ।

आज एमाले प्रदेश अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । केहिबेरमा बन्दसत्र सुरु हुँदैछ । नेताहरु भने प्रदेश अध्यक्ष कसलाई बनाउने विषयमा छलफलमा जुटेका छन् ।

एमाले मधेश प्रदेश अध्यक्षका लागि आधा दर्जन बढी आकांक्षी थिए । तर एमाले अध्यक्ष ओलीमाथि निर्भर रहेको तर संकेत नपाएपछि धेरै आकांक्षी पछि हट्ने देखिएको छ ।

धनुषाकै तीन जना लक्ष्मीनारायण यादव, शिवशंकर साह ‘हिरा’ र राजकिशोर यादव र सिरहाका चन्देश्वर मण्डल प्रदेश अध्यक्षका लागि दावी नछाड्ने मुडमा देखिएका एमालेका एक नेताले बताए ।

उनका अनुसार प्रदेशमा मुख्यतः पार्टीभित्र दुई नेता रघुविर महासेठ र रामसरोज यादव समूह खडा गरेका छन् । शिवशंकर महासेठ समूहका अध्यक्ष दावेदार हुन् । लक्ष्मीनारायण सरोज समूहका छन् ।

चन्देश्वरलाई अगाडी सारेका लीलानाथ र सरोज एउटै समूहमा रहेको ति नेताले सुनाए । उनले भने– राजकिशोर पार्टीका धनुषा अध्यक्ष छन् । तर उनलाई कसैले नबोक्ने देखिएको छ ।

यसरी हेर्दा अब प्रदेश अध्यक्षका लागि चन्देश्वर, शिवशंकर र लक्ष्मीनारायणबीच मात्र प्रतिस्पर्धा हुने देखिन्छ । तर सरोज यादव चन्देश्वरलाई पनि स्वीकार्ने उनी निकट एक नेताले बताए ।

लीलानाथले सारेका चन्देश्वरलाई सरोजले स्वीकार गरेपछि उनी नै प्रदेश अध्यक्ष बन्ने सम्भावना बलियो देखिएको छ । यदि चन्देश्वरलाई महासेठले नस्वीकारे चुनाव हुने देखिन्छ । चुनाव भएमा चन्देश्वर बाजी मार्ने परिस्थिति अहिले देखिएको छ ।

 


प्रतिक्रिया

One thought on “एमाले मधेश प्रदेशको अध्यक्षमा मण्डललाई सर्वसम्मतिको प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर