स्थानीय तहका कर्मचारी आज पनि सडकमा, प्रहरी उपस्थिति बढाइयो (तस्बिरहरु) – Nepal Press

स्थानीय तहका कर्मचारी आज पनि सडकमा, प्रहरी उपस्थिति बढाइयो (तस्बिरहरु)

काठमाडौं । प्रतीक्षारत् संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीले सुरू गरेको आन्दोलन आज पनि जारी छ ।

असोज १५ देखि सडक आन्दोलन थालेका उनीहरूमाथि हिजो प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वरमा निषेधित घेरा तोड्न खोज्दा प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइतेसमेत भएका थिए । निजामती कर्मचारी सम्वद्ध संगसंगठनले हिजोको प्रहरी दमनको संयुक्त रूपमा विरोध गरेको छ ।

आज पनि माइतीघरमा भेला भएर आन्दोलनकारी बानेश्वरतर्फ अघि बढेका छन् । हिजोअस्तिको तुलनामा प्रहरी पनि बाक्लो संख्यामा परिचालन गरिएको छ ।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्नेलगायतका माग राखी स्थानीय तहका कर्मचारी आन्दोलित छन् ।

संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरूको गुनासो छ । संघर्ष समितिका संयोजक दीपक गौतमका अनुसार स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् ।

उनीहरूले एकीकृत निजामती सेवा ऐन जारी गर्, अन्तरप्रदेश सरुवा लागू गर्, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर्, लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *