कोशीमा मध्यावधि टार्ने उपाय खोज्दै राप्रपा, आफैं मुख्यमन्त्रीमा दाबी गर्ने तयारी – Nepal Press

कोशीमा मध्यावधि टार्ने उपाय खोज्दै राप्रपा, आफैं मुख्यमन्त्रीमा दाबी गर्ने तयारी

राप्रपासँग प्याकेजमै सहमति गर्न चाहन्छन् प्रधानन्त्री प्रचण्ड

काठमाडौं । कोशी प्रदेशमा हिक्मतकुमार कार्कीको सरकार ढलेसँग मध्यावधि निर्वाचनको चर्चा सुरू भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकारका लागि दावी गर्न सात दिनको समय दिए पनि अहिलेसम्म कसैले पनि बहुमत बहुमत पुर्‍याउन सक्ने स्थिति देखिएको छैन ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार हिक्मत कार्कीले सबैभन्दा ठूलो दलको नेताका हैसियतमा अल्पमतको सरकार बनाएका थिए । एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्ने थियो । तर, विश्वासको मतका लागि आवश्यक संख्या पुर्‍याउन नसक्ने भएपछि उनले आफैं हात उठाए ।

कार्कीको राजीनामापछि अब अन्तिम विकल्पका रूपमा संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेका हुन् । उनले कोशी प्रदेश सभाका कुनै पनि सदस्यलाई आगामी असोज २६ गते शुक्रबार अपरान्ह ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।

संघ तथा प्रदेशमा सरकार गठनका लागि संविधानले व्यवस्था गरेका ५ वटा विकल्पमध्ये यो अन्तिम विकल्प हो । यो पनि सफल नभए मध्यावधि चुनावमा जानुपर्ने हुन्छ । संविधानको धारा १६८(५) अनुसार कुनै पनि प्रदेश सांसदले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्छ । संसदीय दलको नेता हुनु पर्दैन । साथै, मतदानमा दलको ह्वीप पनि लाग्दैन ।

भावी मुख्यमन्त्रीको विषयलाई लिएर कांग्रेसभित्रै लडाइँ छ । कसैले पनि आफूलाई पार्टीको साझा उम्मेदवार बनाउन सकिरहेका छैनन् । त्यसमाथि गठबन्धनको भोटले मात्रै बहुमत पनि पुग्दैन राप्रपाको समर्थन अनिवार्य छ । यस्तोमा कोशी प्रदेशमा मध्यावधि चुनाव टार्न राप्रपा निर्णायक शक्तिको रूपमा प्रकट भएको छ ।

मुख्यमन्त्रीमा राप्रपाको दाबी

कोशी प्रदेशमा राप्रपाका ६ जना सांसद छन् । गठबन्धनलाई बहुमतका लागि एक भोटमात्र अपुग रहेको अवस्थामा राप्रपाबाट एकजनालाई मात्रै फकाउन सके पनि पर्याप्त हुनेछ ।

तर, राप्रपाका कुनै पनि सांसदले पार्टी केन्द्रको निर्देशन नाघेर मतदान गर्ने अवस्था देखिँदैन । त्यसैले राप्रपाको भोट तान्न केन्द्रकै नेतृत्वसँग डिल गर्नुपर्ने वाध्यतामा गठबन्धन दलहरू छन् । अर्थात् कोशी सरकारको चाबी राजेन्द्र लिङदेनको हातमा छ । तर, अहिले कांग्रेस-एमालेका केही नेता सम्भावित सत्ता गठजोडका लागि संवादमा छन् । त्यसैले यी दुई दलबीच कुनै समझदारी भएको खण्डमा परिस्थितिमा उलटफेर हुन सक्छ ।

स्रोतका अनुसार सत्तारुढ गठबन्धनका नेताहरू राप्रपासँग प्याकेजमा डिल गर्न खोजिरहेका छन् । कोशी प्रदेशसँगै केन्द्रमा पनि सत्ता साझेदार बन्न लिङदेनसँग प्रधानमन्त्री प्रचण्डको प्रस्ताव छ । केन्द्र सरकारमा सहभागी हुनेबारे लिङदेनले कुनै ग्रीन सिग्नल दिइसकेका छैनन् । तर, यदि कोशीमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिएमा केन्द्रमा पनि सहकार्य हुन सक्ने पार्टी स्रोतले बतायो ।

‘संघीय सरकारमा सहभागी हुने अहिले हाम्रा नीति छैन । तर, यदि कोशीमा राप्रपालाई गठवन्धनले समर्थन गरेमा केन्द्रमा पनि वातावरण बन्न सक्छ,’ स्रोतले भन्यो ।

कोशीमा राप्रपाको संसदीय दलका नेता भक्ति सिटौला हुन्, जसको पृष्ठभूमि कांग्रेस हो । कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापासँग सिटौलाको सम्वन्ध विगतदेखि राम्रो छैन । सिटौला कांग्रेसमा हुँदा उनीहरु प्रतिस्पर्धी थिए । अहिले पनि उनीहरु एक-अर्कालाई पावरमा आएको हेर्न चाहँदैनन् ।

तर, कांग्रेसका अमृत अर्याललगायतका प्रदेश सांसद मुख्यमन्त्रीमा सिटौलालाई समर्थन गर्न सकारात्मक रहेको बताइन्छ । त्यसले गर्दा राप्रपा नेताहरू आशावादी बनेका छन् । यदि माथिबाटै सहमति कायम भएको खण्डमा उद्धव थापाको व्यक्तिगत असहमतिले अर्थ नराख्ने उनीहरूको विश्वास छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठ केन्द्रदेखि प्रदेशसम्म औपचारिक/अनौपचारिक कुराकानीहरु भइरहेको बताउँछन् ।

उनले भने, ‘हामी संवादमा छौं । तर, अहिलेसम्म कुनै निष्कर्षमा पुगिसकेको अवस्था छैन । सकेसम्म मध्यावधि चुनाव टार्न पार्टी प्रयत्नशील हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर