कथा: हटस्पट – Nepal Press

कथा: हटस्पट

बाहिर तुषारोले गजधुम्म छ, आकाश । आकाशबाट खसेका शीतका थोपा रुखका पातमा बजारिएर चकनाचुर हँुदैछन् जमिनमा । कोठाभित्र र बाहिरको हावाले भरसक लुकामारी नगरोस् भनी पर्दा लगाइएको छ । पर्दाले तारबारको जस्तै काम गरेको छ । कोठाको न्यायोपनलाई जतिसुकै रोक्न खोजे पनि चोर बाटोको इस्तमाल गर्दै हावाले बाहिर भित्र गर्दैछ । कोठाको न्यानोपन ओडेर ल्यापटप अघि बसेको छ एउटा मान्छे ।

(बे)नाम : भगवान क्षेत्री
(अ)पेशा : गोदावरी नगरपालिका वडा नं. ७ कैलालीमा वडा सचिव
(अ) रुचि : साहित्य लेखन र पत्रकारिता
वतन : अत्तरिया, कैलाली

भगवानलाई तलतल लागेर आयो । तलतल मेटाउन उसले चुरोट सल्कायो । एक सर्को तान्यो पनि । धुँवा उड्दै उड्दै सिलिङतिर गयो । धुँवाको केही अंश झ्यालको बाटो उड्यो । बाँकी टेवल र कुर्सीको वरिपरि रुङ्दै थियो । झ्यालको बाटो बन्द देखेर फेरि निसास्सिँदै धुँवा सिलिङमा हरायो । मुखमा चुरोट राखेरै उसले चार लाइन ल्यापटपमा लेख्यो । अनि रोकियो । के के सोचेर फेरि चुरोट तान्न थाल्यो । धुँवाको नियति पूर्वनिर्धारित अवस्थामै पुग्यो । कोठाका केही थान लोकसेवा आयोग पुस्तक, केही साहित्यिक पुस्तक र टेवलको फूलदानलाई पनि चुरोटले राम्रो नशा दिइरहेको छ जस्तो लाग्दै थियो ।

उसले मनमनमा भन्यो, ‘एक शब्द लेख्न पनि पसिना आउँदैछ । चुतियाहरुले जिब्रो छ भन्दैमा, कस्तो झुर लेख्यो, टाइमपास भन्छन् । भन्नेको के जान्छ । लेख्न नसक्नुको पीडा (लेखन्दास) सरी, लेखकलाई मात्र था छ ।’

उसले चुरोटको ठुटो एस्ट्रेमा ठोस्यो । एक फेरि थपियो ठुटोको जमातमा, अर्को ठुट्टो चुरोट ।

एकछिन कोठामा एक्लै टहल्न थाल्यो । ऊ एकोहोरो सिलिङमा हेरिरह्यो, मनमा अनेक तर्क बिर्तक खेलाउँदै । हेर्दा लाग्दैथ्यो, लेख्न नपाएर औडाह भएको छ । तर, उसका औंला ल्यापटपमा हिँड्न मानिरहेका थिएनन् ।
त्यसपछि,

र्‍याकबाट रमको आधा भरिएको (रित्तो) बोतल झिक्यो । थर्मसको बिर्को खोल्यो । तातो पानीसँग ककटेल बनाएर पियो एक गिलास रम । सितन केही थिएन । रक्सीसँग अभ्यस्त भइसकेको भगवानलाई कुनै सितनको अनिवार्य आवश्यक लाग्दैनथ्यो । जिन्दगीमा अनिवार्य आखिर के नै छ र ? ऐच्छिक आवश्यकताहरुले जेनतेन चलेको उसको दैनिकीमा गिलास, रक्सी र चुरोट मन भुलाउने बहाना बनेका थिए । ऊ लेख्नलाई फेरि कुर्सीमा बस्यो । तर, किबोर्डमा औंला नै चल्न मानिरहेका थिएनन् । ऊ एकोहोरो भित्तामा हेरेर टोलाउन थाल्यो ।

– ‘हेलो’
– हाई
– म समय
– म लेखक
– कस्तो लेखक ?
– कस्तो समय ?
– कथा लेख्ने लेखक
– कथा भन्ने समय । तर, म महाभारत भन्न आएको होइन ।
– म पनि वेदव्यास होइन
– ओके छ त
– यो आफ्नै निजी थेगो हो र तपाईंको ?
– होइन ।
– अनि ।
– मलाई जोसँग प्यार छ । प्यार मोहब्बत से आपका लेना देना ।
– अच्छा ! कोसँग छ प्यार, थेगो कि मान्छे ?
– मान्छे ।
– को हो र ?
– भने त ।
– ओके छ त ।
– तपाईं पनि हो र ?
– के ?
– मेरी पूर्वप्रेमिका प्लस वर्तमान श्रीमतीको फ्यान ।
– होइन ।
– अनि किन त्यही थेगो प्रयोग गरेको नि ?
– म समय हुँ ।
– अनि केही काम छ कि ? किन हजुरको सवारी भयो ? मेरो (अ)कुमार कोठामा ।
– मैले कथा भन्नु छ ।
– मैले कथा लेख्नु छ ।
– (दुवैले एकैसाथ) ओके छ त ।
– फेरि दुबै, चेर्यस….।

समयजी आज्ञा गर्नुहुन्छ हे लेखकमुनि……………!

तिम्रा जुँगाका रेखी परेका ओठको मुस्कान वास्तवमै मलाई मन परेको थियो । तसर्थ तिमीलाई रुचेको थियो तिम्रो बालापन । पढाइमा तेज, टिचरको आँखाको नानी । म तिमीसँग थिएँ, त्यसैले तिमीलाई काँधमा राख्थें तिम्रा बाले । आफ्ना सपना तिमीमा पाएको थियो तिम्री आमाले, उनले खान्थिन् तिम्रो गालामा म्वाइँ । तिम्रो निर्दोषिता, इमानदारिता र जेहेनदारितालाई कसैले आफ्नै जस्तो ठानेकी थिई । त्यसैले तिमीलाई उसले राख्थी मुटुभित्र । तिमी त्यसै यो अवस्थासम्म कहाँ पुगेका हौ र जनाब !

मज्जाकी, कल्कलाउँदी, भर्रभराउँदी यस्तै कुनै उपमा दिन लायक युवतीको तिमी प्रेममा थियौ । लाउलाउ खाउँखाउँ भन्ने उमेर कि युवतीको प्रेममा पर्नु साँच्चै खतरनाक जोखिम मोल्नु थियो । हो, तिमी खतरनाक जोखिम मोल्न पनि राजी थियौ । प्रेम र युद्धमा हरेक कुरा सम्भव हुन्छ । युद्धमा प्रेमको अनुभूति सके नगरिएला । तर, प्रेममा हर कोहीले युद्धको सामना गर्नुपर्छ नै । युद्ध, मानसिक होस् या शारीरिक । हतियारले होस् कि विचारले ! युद्ध त युद्ध हो ।

तिमीहरु एउटै स्कुलमा पढ्ने सहयात्री थियौ । कक्षा समान भए पनि सेक्सन फरक थियो । तर पनि टिफिन बेला, लिजर पिरियडमा तिमी भेट्न जान्थ्यौ । ऊले पनि तिमीलाई घण्टौं हेरेर बस्थी । तिमीलाई त्यसै बेला आत्मज्ञान भएको थियो । आफूलाई बिर्सेर, आफूलाई अरुका आँखामा भेट्नु प्रेम हो । जसलाई जति हेरे पनि धित नमरोस् । जसबाट कुनै अपेक्षा नरहोस् । तर, समपर्णको संसारमात्र दिनानुदिन फैलिँदै जाओस् । हो, तिमी त्यस्तै फिलिङमा पर्‍यौ । जसरी स्कुलमा उसका गाजलु आँखालाई तिमी लुकीलुकी एकोहोरो हेर्थ्यौ त्यसरी नै घरमा पनि तिमी घण्टौं टोलाएर बस्थ्यौ । मानौं घरमा पनि तिम्रोसम्मुखमा उभिएर ऊ तिमीलाई नै हेरिरहेकी छे । तिमी उसको गहिरो प्रेममा परेका थियौ ।

एकपल्ट आमाले भनेकी पनि थिइन्, ‘के भयो ? आरामी बिरामी त नै भै ? रात निद दिन भोग छैन । के दगाउन लागिस् ?’ तिम्रो निन्द्रा र भोग साँच्चै हराएको थियो ।

तिमीले ‘केही होइन’ भनेर पहिलो पल्ट आमासँग झूटो बोलेका थियौ । तिमीले प्रेम गर्न सिकेका थिएनौ । प्रेमसँगै झूटो बोल्न पनि सिकेका थियौ ।

वसन्त ऋतुमा कर्नालीको छाल बढेझैं, दिनानुदिन बढ्दै गयो तिम्रो प्रेमको नदी ।

तिमीले हातै समाती उसलाई भगाउन सकेनौ । किनकि तिमी गोजीमा गाँठ र मनमा आँट भएको मान्छे थिएनौ । गाँठ र आँट त्यसै आउँदैन । समस्यासँग जुध्नुपर्छ । जोखिमहरु उठाउनुपर्छ । अनि अवसरलाई चिन्नु पनि पर्छ । थुप्रै विकल्पहरुको माझबाट सही र दीर्घकालीन निर्णयको छनोट गर्नुपर्छ । अनि आउँछ जीवनमा सन्तुष्टि । अनि बल्ल अनुहारमा बल्छ सय वाटको खुसीको बल्ब ।

आज तिमी दुःखी आत्मा कि खुसी ? आज तिमी सफल कि विफल ? तिमी त लेखक रे ! हा….हा……हा…… मिस्टर भगवान क्षेत्री ।

नयाँ वर्ष आउन एक दिनमात्र बाँकी थियो । तिमीले गुलाबको फूल भएको पोस्टकार्ड किन्यौ । कार्डको पछाडि उसलाई सम्बोधन गरेर नयाँ वर्षको शुभकामना दियौ । उसका लागि त्यो भगवानले दिएको बहुमूल्य उपहार थियो । त्यसैले उसले बडो जतनले खल्तीमा राखेकी थिई । मुस्कराएकी थिई । मनमा काउकुती लागेको थियो । उसका आँखाको भाव पढ्ने तिमीमा फुर्सद नै थिएन । पोस्टकार्ड समातेर ऊ दौडिँदै कक्षा कोठामा गएकी थिई । उसको ध्यान पोस्टकार्डबाहेक कतै गएन । उसको कल्पनाको आकाश यसरी विस्तार भएर आएको थियो कि शिक्षकले के पढाए ? कस्तो पढाए ? साथीहरुले के के भने ? के के भयो कक्षामा ? सबै सबै बिर्सेकी थिई । सम्झेकी थिई त केवल तिमीलाई । पोस्टकार्डलाई मात्र । टिफनपछिका आधा घण्टाका तीन पिरियड उसलाई चौबीस घण्टा जस्ता लागेका थिए ।

ऊ हतार हतार घर आएकी थिई । स्कुले ड्रेस नै नखोलेर पसेकी थिई कोठामा । त्यो तिम्रो प्रेमलाई कसैले थाह नपाऊन् भनी उसले ढोकाको चुकुल लगाएकी थिई । जतनले चिठ्ठी खोलेकी थिई । उसको मुटुको चाल बढेर आएको थियो । मनमा नानाभाँतीका उत्तेजनाले ठाउँ पाएको थियो । कौतुहलताले डेरा जमाएको थियो । र, बाहिरी परिवेशले बेला बेला चिमोठ्थ्यो पनि । चिठ्ठी पढिसकेर ऊ खुसीले गदगद भएकी थिई । प्रफुल्ल भएको थियो उसको मन । हावामा उड्दै उड्दै तिम्रो समीपमा पुगेको थियो उसको आत्मा । तिमीले खै कतिको अनुभूति ग¥यौ ?

उसका मन र तनमा एक्कासि ऊर्जा सञ्चार भएको थियो । तर, त्यो ऊर्जाले दीर्घ प्रकाश दिन सकेन । त्यसै साँझ उसका बाले साइन्स किताबको भित्र फेला पारे तिम्रो मायाको निसानी । बड्डाले पोस्टरसँगै च्यातचुत पारेर फालेको थियो तिम्रो प्यार । उसले त्यो दिन घरमा गृहयुद्ध नै लड्नुपरेको थियो ।

दोस्रो दिन एक सितो अन्नसमेत मुखमा नहालेर आएकी थिई स्कुल । तिमीलाई त्यो दिन याद नहुनसक्छ । तर, उसको लागि थुप्रै कोणबाट विशेष थियो । त्यस दिन तिमीहरु दुबैले सँगै बसेर पोटली खाएका थियौ । तिमीेले दिएको खाजाको उसले धेरै तारिफ गरेकी थिई ।
उसले भनेकी थिई, ‘कस्तो मीठो अर्नी (खाजा) । भोक मीठो कि भोजन मीठो भन्थे । मलाई त भोकभन्दा भोजन नै खास लाग्यो ।’ उसको अनुहारको भाव तिमीले बुझ्नै सकेनौ बेवकुफ ।

‘तँ घरबाट निस्किहाल । जुन केटाको यो लभलेटर सिरानी हालेर बसेकी छस् । उसैसँग लागोस् तेरी डाणीँ (बल्ली बाठ)। तेरी एकोरी लभ गराइ होइजाउ, दोसर्‍या लभ गर्न जन्पाएइ । हाम्रा लागि त, जिउनी मरे बराबर भइ गै । ’

उसकी आमाले त्यसैमा थपेकी थिइन्, ‘इस्कुल पढ्न जान्छस् कि दुनिँयाभरिका मुले हेर्न । मान्छेले मनाई आफ्ना जातमा बस्नुपर्छ । छि भन्नु गोडको गुहु हो । सबैको नाक काट्न लागिस् अब ।’

त्यो रातभरि भुईंमा सुती । बिहान कसैसँग नबोली स्कुल आई । स्कुलमा तिमीलाई उसले हेरेरै पूरापूर दिन बितायो । घरमा बाले दिएको गाली भन्दै भनिनन् । आमाले सुनाएको बचन तिमीलाई देखेर बिर्सिई । तिम्रो चुलिँदै गएको मायालाई उसले लाम्चे बजारमै रोक्न सकिन । तिम्रो आँखामा देखिएका सपना आफ्नै ठानी । तिम्रो जीवनको गति उसले आफ्नै सम्झी । अरुमा आफ्नो जीवनको छायाँ देख्नु नै सायद प्रेम हो ।

मलाई लाग्छ सायद आजका मितिसम्म यो घटना तिमीलाई भनेको छैन होला ।

‘भनेको छ ?’, समयले सोध्छ ।
‘छैन ।’
‘आखिर किन नभनेको होला ?’

अर्को साल उसले एसएलसी दिई । बोर्डमा कक्षा प्रथम भई । रेष्ट नामक गैरसरकारी संस्थाले उसलाई छात्रवृद्धिको लागि छनोट गर्‍यो । त्यसपछि उसका निधारमा घाम लाग्यो । कैलाली बहुमुखी क्याम्पसमा ऊ उच्च शिक्षा पूरा गर्न लागी । होस्टेलमा बस्दा पनि उसको शील स्वभावको सबै मुक्तकण्ठले प्रशंसा गर्थे । कक्षामा उसको रुप र जोवनमा फिदा नहुने कमै थिए । उसको तर्कशक्ति मजबुत थियो । कलेजमा हुने वादविवाद, वक्तृत्वकला प्रतियोगितामा सधैं प्रथम । मिलनसार, सहयोगी थिई । त्यसैले क्याम्पसमा उसको व्यक्तित्वको सबैले कदर गर्थे ।

तिम्रो पनि आर्थिक अवस्था नाजुक थियो । तिम्रो आमाले हिउँद, वर्खा जमिनदारका मेलोमा ज्याला गरेर सिकाएको थियो, साउ अक्षर । तिम्रो बाको पन्जाबको नौकरीले बल्थ्यो, चुलो । तिम्रो भविष्यको चिन्ताका अगाडि प्रेम बिचरो त नाजुक र टुहुरो थियो । त्यही टुहुरो प्रेमलाई मलजल गर्ने, फुलाउने, फलाउने र गोडमेल गर्ने को हो त आखिर ? कसरी त्यत्रो समयपछि पनि मुहारको कान्ति उस्तै रह्यो ? कसरी आपसमा मिले तिम्रा भावना र विचार ? कुन रसायनले काम गर्‍यो ? लेखेक हुँ भन्छौ । कुनै दिन योबारेमा पनि केही मिनेट खर्च गरेका छौ ?

प्रस्ताव राखी औपचारिक प्रेमलाई अगाडि बढ्ने तिम्रो सपना थियो । मैले तिम्रो त्यो इच्छा पूरा गरेकै हो । तिमीले मलाई आफू अनुकूल बनाउन सक्यौ कि सकेनौ, त्यो तिम्रो कमजोरी बन्यो वा शक्ति । आफैं विचार गर । तिमीलाई थाहा छ, भाग्य भनेको निधार होइन । उचित समय चिन्नु र उचित समयमा उचित निर्णय गर्नु नै भाग्य हो ।

तिमी अहिले जुन अवस्थामा पुगेका छौ, त्यसमा तिम्रो निर्णयले कति काम गर्‍यो, आफैं चिन्तनमनन गर । तिमीले प्रथम श्रेणीमा स्नातक गर्‍यौ । आयोगको तयारी गर्‍यौ । निराश भएनौ । असफलताभित्र नै सफलता छ भन्ने बुझ्यौ । निरन्तरको प्रयासले सफलता पनि आयो । प्रयास गरे भाग्यलाई पनि चुनौती दिन सकिन्छ । (समय) मलाई प्रत्येकले आफ्नो बशमा पार्न सके सफल भइन्छ । तिमीले प्रमाणित गरेर देखायौ । अब व्यवस्थापकीय पक्ष कमजोर हुनु, त्यो व्यक्तिको कमजोरी हो । त्यसको दोष दर्शनलाई दिन मिल्दैन । दर्शन ज्ञानको उच्चतम विन्दु हो । दर्शन मान्छेको अनुभवबाट खारिएर सामान्यीकरण भएको हुन्छ । अनुभव काल्पनिक हुँदैन । बरु जीवनको भोगाइबाट ज्ञान नवीकरण हुन्छ, खैर त्यो फरक पाटो भयो ।

हो, म मान्छु, तिमी गरिब परिवारमा जन्मेको मान्छे हौ । तर, तिमीप्रति मेरो भरोसा थियो । तिमी मेहनती थियौ । मेहनतको कुनै सीमारेखा हुँदैन । मेहनतले नै मान्छेलाई जीवित बनाएको छ । मलाई विश्वास थियो, तिमी गरिब नै भएर मर्ने छैनौ । हेर, आज लेखक बनेका छौ । यही हो तिम्रो सफलता । सरकारी कर्मचारी भएर सेवा गरेका छौ । एउटा छोरी छे । प्रेमिका पाएका छौ । श्रीमती पनि छे । खुसी छौ । यदि खुसी छैनौ भने त्यो नितान्त तिम्रो कमजोरी हो । पछि भाग्यलाई दोष दिए म मान्नेवाला छैन । बुझिस् मिस्टर फुच्चे केटो ।

तिम्रो प्रेम प्रस्तावलाई उसले सहर्ष स्वीकार गरिनन् । किन नगरेको होला ? उसले तिम्रो प्रेम प्रस्तावलाई किन धेरै दिन पेन्डिङमा राखी होला ? कहिल्यै कुल दिमागले एकान्तमा सोचेका छौ ? यदि छैन भने तिमी मुला कच्चा र नक्कली लेखक हौ । तिमी मुला शब्दको हत्यारा मात्र हो । फगत एउटा लेखनदास । ऊ पढाइ सिध्याउन चाहन्थी । आफ्नो खुट्टामा उभिएर जीवनलाई सरल र सहज तरिकाले बाँच्ने कला सिक्दैथी । त्यसका लागि केही समय पर्खनुपर्ने थियो । तिमी त कृष्णभूषण बलको पर्खनुपर्छ भन्ने कविता पढेको मान्छे हो नि ? है न र ! हो भने त्यही हो, तिमीलाई उसले पेन्डिङमा राख्नुको खाँटी कारण ।

यसबीचमा तिमीहरु नङ र मासुको जति नजिकै भयौ । फोन र फेसबुकबाट घन्टौं गफ गर्न सक्ने भयौ । कहिले दोधारा चाँदनी पुल, कहिले बेतकोट ताल त कहिले धनगढीका फनपार्कहरुमा खुब घुम्यौ । अत्तरिया बजारका कुनै क्याफे बाँकी राखेनौ । खुब फोटो अपलोड गर्‍यौ फेसबुकमा । खुब लाइक र कमेन्ट गर्‍यौ एक अर्काका फोटो र स्टाटसमा ।

खुब बित्यो समय बनाएर टिकटक भिडियोहरु ।

चोक चौतारा र चिया पसल हुँदै तिमी दुवैका बारेमा चर्चा परिचर्चा खुबै चल्यो । सबै चर्चा परिचर्चालाई तिमीहरु दुबैले नजरअन्दाज गर्‍यौ ।
समय बित्दै गयो ।

उसले एउटा निजी कलेजमा प्रध्यापन गर्न थाली ।

उमेर बढ्दै गइरहेकाले उसका बुवालाई छोरीको खुब चिन्ता थियो । कुनै सोझो र इमानदार केटो पाए सालका पातमा गोडो धोएर बिदा गर्ने ठूलो इच्छा थियो ।

नभन्दै उनका बुवाले एक दिन भने, ‘बुढेसकालमा तेरा गोडाको पानी खाएर मर्ने धोको छ, लाटी । अब कमाउने जमाउने पनि भैगै । यतिञ्जेल हामले केही भनेका थिएनौं । अब भनेको मान, अब गोडो अल्झाइहाल । यसो गरे हाम्रो पनि ढुक्कले सास जाने थियो ।’ बाको वचनका अगाडि उसले एक शब्द बोल्न सकिनन् । केवल आँसीको टुप्पो जस्तो घोसे मुन्टो लगाएर भुईं कोतर्न थाली ।

कुनै किशोरसँग उसको हित्तचित्त मिलेन । कुनै किशोरसँग विचार, भावना र मन मिलेन । कुनै किशोरको शारीरिक बनोटले उसलाई दीर्घ आकर्षण गरेन ।

एकपल्ट एउटा किशोर आयो उसको घरमा । केटो एउटा बैंकमा जागिर खान्थ्यो । हेर्दा उसको लवाइखवाइ उच्चस्तरीय नै थियो । उनीहरुले घन्टौं बसेर बात पनि मारे ।

कुरैकुरामा केटोले भन्यो, ‘तिमी भर्जिन हो कि होइन ?’ किशोरको प्रश्न सुनेर ऊ कोठा नै हल्लिने गरी हाँसी । उसको हाँसोका अगाडि केटो सर्मिन्दा भयो । केटोलाई कतै मैले बेतुकको प्रश्न त सोधिनँ जस्तो लाग्यो । एक छिन रातोपिरो मुख लगाएर बस्यो । उसको हाँसोका अघि किशोरको हैसियत के हो ? पूरै देखियो । किशोरको बौद्धिकता चकनाचुर भएर खस्यो, रुखबाट आँप खसे झैं । उसको निधारभरि चिरचिर पसिना आयो । किशोरलाई बसेको ठाउँ नै भारी लाग्न थाल्यो ।

उसले भनी, ‘के फरक पर्छ भर्जिन हुन नहुनुमा ? के हो यो भर्जिन भनेको ? मैले त भर्जिन ब्राण्डको रक्सीमात्र पिएको छु ।’

यो त दराहा केटी रैछ । मेरो परिवारमा सुहाउँदैन भन्दै केटो भाग्यो । विनाकारण कसैबाट अस्वीकार हुँदा पनि खुसी भइदोरैछ । ऊ यस्ता धेरै किशोरबाट अस्वीकृत भएकी थिई । अस्वीकृतिको अनुभूति पनि भोगेकी थिई ।

अर्को प्रसङ्ग भन्छु, सुन-
‘ओके छ त ।’

एउटा किशोरले उसको नाक अलि लामो रैछ भन्यो । बानी अलि चुलबुले भएको भन्यो । कपाल साना भएको कमेन्ट गर्‍यो । गोडाका माझी औला अस्वाभाविक लामा रैछन् । यस्ता आइमाई त अलक्षिण हुन्छन् रे भन्यो । यसरी एकैछिन भेट भएको मान्छेले आफ्नो बानी व्यहोरा र शारीरिक बनोटको बारेमा गरेको कमेन्टस्ले रननन रिस उठेर आयो । उसले रिसलाई काबुमा राखी । पाहुनालाई गर्नुपर्ने कुनै स्वागतमा कमी हुन दिएन । सके जति सुशील र सहनशील भएको जस्तो देखाई । चिया पानीको भव्य र सभ्य स्वागत नै गरी । तर, जब तिमी त कस्तो लाटी जस्तै बोल्न नि पैसा पर्ला जस्तो पो गर्छौ भन्यो । उसले रिस थाम्न सकेन ।

‘तपाईं बिहेको लागि मेरो हात माग्न आउनुभएको कि मेरोबारेमा कमेन्ट गर्न ? सामान किनबेच गर्ने जस्तो यो मिलेन, त्यो मिलेन ! के तुर्काकाजस्तो कुरा गरेको’, उसले बुलेट पड्केको आवाजमा भनी ।

केटोको मनमा भुइचालो नै गयो । केटाको अभीमानमा चोट पर्‍यो । अब लाटो हुने पालो केटोको थियो । त्यसपछि एक शब्द नबोलेर बिदा भयो ।

एउटा अर्को घरको पनि आएको थियो उसलाई रिस्ता । केटो रसायनिक विज्ञानमा स्नातकोत्तर पास गरेर एउटा कलेजमा पढाउँथ्यो । हेर्दा उसलाई राम्रै लागेको थियो ।

युवकको बाले चिना हेरेर भन्यो, ‘यो त जेठमा जन्मेकी रैछ । जेठी टोक्नसक्छ । त्यसैमाथि औंसेलाई बिहे गर्न सकिँदैन ।’ ऊलाई बुढाको अभिव्यक्ति देखेर रिसको पारो तातेर आयो । उसले भनी, ‘दुनियाँभरिका जेठमा जन्मेका सबै खोटी नै हुन् त ? हरेक औंसीमा जन्मेकाहरु पूर्णिमा जस्तै सुन्दर र ओजश्वी छन् । त्यसैले पूर्णिमाले आफ्नो सट्टामा हामीलाई पठाएको हो, बुझ्नु भो । कस्ता कस्ता गवार मान्छे आउँछन् यार ।’ बुढो उसको तर्कका अगाडि नाजवाफ भयो र घर फर्केको थियो ।

उसले प्रण नै गरेकी थिई । म विवाह त गर्छु, आफूले मन पराएको केटासँग । मन परेको मान्छेसँग कैयौं रात अनिदोमै बिताउन सकिन्छ । कैयौं साँझ र बिहान भोकै बस्न सकिन्छ । सबैभन्दा बढी विश्वास गरेको मान्छेसँग हो विवाह गर्ने । जोसँग सजिलै मन बिसाउन सकियोस् । जोसँग विचार र भावना मिलोस् । जोसँग खुलेर गाली र माया गर्न सकियो । जोसँगै हाँस्न र सँगै रुन सकिन्छ उसैसँगको जिन्दगी बिताउने पनि । तर, कहिल्यै नभेटेको, कहिल्यै नदेखेको अपरिचित मान्छेसँग कसरी बिताउनु जिन्दगी ?

एक दिन, उसको आमाले भनिन्, ‘हेर छोरी, जे जस्तो भए पनि छोरी मान्छे भनेका अर्खाका घर जाने जात हो । पढाइ पनि सकिस् । जागिर पनि खाइस् । अब घरबारी बसाइहाल । हाम्रो पनि मर्ने बेला नातिनातिना खेलाएर मुक्ति पाउने रहर छ ।’

उसले भनी, ‘गतिलो मान्छे नै आउँदैन । कसका पछि लागेर जाउँ त ?’

‘हामले खोजेको तँलाई अगतिलो लागे आफैं खोज न त ।’

त्यसपछि उसले धेरै दिन तिम्रोबारेमा सोचिबसी । किन धेरै दिन तिम्रोबारेमा सोचेकी होली ? कहिल्यै सोेचेका छौ ? अन्ततः तिम्रो नाम मेन्सन गरेकी हो आफ्नो दिलबाट परिवारसमक्ष । जात मिल्ने थिएन तिमीहरुको । ठूलै गृहयुद्ध लड्नुपर्‍यो उसले ।

आफन्तले भने, ‘पुन्यालकि मौ त क्षेत्रीको गोडो धुन लागे भन्यो । के उपद्दर गद्द लागे । बाहुनको लाटो गाँणो मुले के काइन पायो हो । त्यो जात्की लै कसी रैछ । रै रै र भाँणका पोइल गै भने जसो केलाई अद्द लागि हो । बाँच्नुमात्र पर्छ के के देख्न पाइन्छ कलियुगमा ।’

उसका मावलीले भने, ‘हाम त खस्सेको गोडो धुने होइनौं । हाम्रा लागि त्यो मरी गै ।’

उनीहरु केही आएनन् बिहेमा । मान्छे कति बनावटी छ । योभन्दा गतिलो उदाहरण दुनियाँमा अन्त कतै भेट्टाउन सकिँदैन ।

ऊ हठी थिई र हक्की पनि थिई । त्यसैले ज्ञानी थिई । ज्ञानको हठ साँच्चै समाजका कुरीति र कुव्यवस्थाका अगाडि चुनौती बनेर बसेको हुँदोरहेछ ।

सकेसम्म परिवारले सन्तानको खुसी नै खोज्छन् ।

अन्ततः परिवारले हार्‍यो । तिमीहरुले जित्यौ । सालका पातमा गोडो धोएर उसको हात तिम्रो हातमा राखिदिए । उनले हातमात्र कदापि दिएका थिएनन् । एउटा लक्ष्मी उपहार दिए, तिमीलाई तिम्री प्रेमिका । दुनियाँमा आफूले मन पराएको मान्छे जति सुन्दर अरु कुनै चिजवस्तु पनि हुँदैन ।

जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग सबै सबै यस्ता बनावटी कुरालाई बिर्सेर तिमीमा एकाकार भएकी थिई । हो, सक्कली प्रेम भनेको यही हो । जुन तिमीले पाएका छौ ।

विवाह भनेको केवल सामाजिक संगठनमात्र कदापि होइन । यो मनोवैज्ञानिक र आत्मिक एकताको सूत्र पनि हो । प्रेम खुसी र सुखको रसायन हो । तिमीले प्राप्त गर्‍यौ, तिम्रो प्रेम फेरि किन हो ल्याङल्याङ ?

++++++

किरणहरु बर्दलीभरि छरपस्ट भए । बर्दलीबाट झुसिलकीरे शैलीमा कोठासम्म पुगे किरणहरु । त्यसपछि भगवानको निन्द्रा खुल्यो । भगवानको दर्शन गर्न ओछ्यानको भगवान जाग्यो । जागेको भगवान दाँत माझ्दै बाथरुम पस्यो । उसका आँखा राता भएका छन्, पाकेका गुल्लरका दाना जस्ता । ओठहरु कलेटी परेका छन्, दिनभरि पानी नपाएको बटुवाको जस्ता । मुख सुन्निएर फुकेको पाउरोटी जस्तो देखिएको छ ।

हिजो रातभरि उसलाई निन्द्रा परेन । कार्यालयको कचकचले ऊ सधैं घरमा थाकेर पुग्छ । कहिलेकाहीं त उसलाई लाग्छ, यो जागिरबाट गिर्नुभन्दा बरु चटपटे र पानीपुरी पसल थापेर बसौ, कुनै व्यस्त चोकको किनारमा । तर, पेन्सन पाउने लोभले अझै चटपटे बेच्ने आँट गरेको छैन । बरु तत्काललाई जागिरबाट जतनले गिराउनमा नै भगवानले फाइदाजनक मुकाम सोचेको छ ।

एक हप्ताअघिको एक साँझ खाना खाइबरी ओछ्यानमा सुत्न भनेर के गएको थियो । मानुषीसँग कुरा बाझियो (मानुषी भनेको उसकी पूर्वप्रेमिका वर्तमान श्रीमती) । खासै बाझिनुपर्ने, रिसाउनुपर्ने, तँ तँ र म म भन्नुपर्ने ठूलो र महत्वपूर्ण कुरा त केही थिएन । सामान्य विषयको स्थिति असामान्य बन्यो ।

मानुषी, ‘भोलि म साथीहरुसँग घुम्न कर्नाली जान्छु ।’

भगवान, ‘जानुपर्दैन । खाना तयार गर्नुपर्ला । नानीलाई स्कुल पुर्‍याउनु पर्दैन । धामीसितको लामी किन गर्नुपर्‍यो ।’

मानुषी, ‘सधैंको मेरो काम एक दिन तमले गरे के घाम पश्चिमबाट उदाउला र ? चेली दुवैकी बराबर ।’

भगवान, ‘ठीक छ । मेरो अफिस तँ जा न त ! घरको सबै काम म गर्छु ।’

मानुषी, ‘अफिसको मात्र काम । घरको के काम होइन ?’

भगवान, ‘बिहान खाना पकाउँछेस् । छोरीलाई स्कुल लग्यो, ल्यायो । बाँकी समय रुममा चाक पल्टाएर सुतेकी त हुन्छेस् । खुब बाँजो नै खनेको जस्तो धाक लगाउँछेस् त !’

मानुषी, ‘अफिसमा के बोजो बोक्नुपर्छ र ? यता हल्लियो । उता हल्लियो । भात पचायो, फर्कियो । जिन्दगीमा के लछारपाटो लागेको छ र ? त्यो अफिसले ।’

भगवान, ‘मुख छ भन्दैमा धेरै चलाउने होइन है ।’

मानुषी, ‘जागिर छ भन्दैमा धेरै सेखी नदेखाए हुन्छ ।’

भगवान, ‘मेरो जस्तो जागिर तैले यो जुनीमा खानसके म कान काट्न तयार ।’

मानुषी, ‘कोही कान काटोस् कि जिब्रो हाम्लाई के बालै फररर्रररर ।’

त्यो दिन खुब चलेको थियो दुबैको झगडा । एकले अर्कोको इगो नै हट हुने गरी नानाभाँती सवालजवाफ गरेका थिए । हात हालाहाल नै भएको थियो दुबैको । पुरुष सत्ताको अघि मानुषीको केही नचलेपछि आँसु झारेकी थिई । त्यो रातभरि मानुषी सुतिन । उसले मनमनमा अनेक कुरा सम्झी । आँसुले सिरानी ओसिलो बनाई ।

कहिले खाना कसले बनाउने भन्ने प्रसङ्गमा त कहिले आफ्नो लुगा आफैं धुने सवालमा सामान्य विवाद त उनीहरुको सधैंजसो हुन्थ्यो नै । भगवान सधैंजसो साँझ रक्सी खाएर आउँथ्यो । भए नभएको तनाव गर्थ्यो । रक्सी बोलेको हो भनेर मानुषीले सहेर बस्थी । एकछिन रिसाएर दुर्वासा बने पनि घण्टाभरमै भगवान भगवान बनिहाल्थ्यो ।

तर, त्यो साँझ न मानुषीको मन बदलियो न त भगवानको । दुबै पत्थर नै बने । भगवान भगवान नै रह्यो । मानुषी मानुषी नै रही । न भगवान मानुषी बन्न सक्यो न त मानुषी भगवान बन्न सकी ।
छोरी हुँदा भगवानको आग्रह मानेर मानुषीले जागिर छोडेकी थिई ।

भगवान, ‘तिमी दुई जिउकी छौ । पैसाको मुखमात्र हेरेर भए न नि ! आफ्नो ज्यानको पनि त ख्याल गर्नुप¥यो यार । त्यस्ता निजी कलेजका जागिर त फेरि फेरि पाइन्छन् ।’

उसले फेरि थपेको थियो, ‘तिमीलाई नपुग्ने भन्ने के छ र । बसी बसी खान पनि केको अल्छी ?’

मानुषीलाई पनि पेटको बच्चाको खुब माया लागेर आउँथ्यो । उसले त्यसै साँझ नजन्मेको बच्चाको अनुहारको कल्पना गर्दै राजीनामापत्र लेखेर बुझाएकी थिई कलेजमा ।

उसको खाइपाइ आएको जागिर छुट्यो । दिनभरि घरमै बसेर बित्यो समय । नत्र महिनाको तीस हजार कमाउँथी । अहिले उसलाई जागिर छोडेर आफ्नै खुट्टामा बन्चरो हाने जस्तो लाग्दैछ । हजार कुरा सुन्नुपर्ने भएको छ ।

बजार सामान किन्न जाँदा भगवानले ठिक्क सामानलाई पुग्ने पैसामात्र उसका हातमा राखिदिन्थ्यो । आफूले कमाएको बैंक खाताको रकम पनि सकिएको एक वर्ष भइसकेकोथ्यो । बैंकमा भए पनि त्यही होला हजार दुई हजार । कहिलेकाहीं साथीहरुसँग घुम्न जाँदा पनि भगवानकै मुख हेर्नुपर्थ्यो । पानी, टेलिफोन र विद्युतको बिलमात्र होइन, सबै सबै घरका कामको लागि मानुषीले भगवानकै तलबको बाटो कुर्नुपर्थ्यो । यतिमात्र होइन, मोबाइलमा ब्यालेन्स नहालेकोसमेत महिनौं भइसकेको थियो ।

मलाई ब्यालेन्स हालिदिनुस् न । दिनमा कहिलेकाहीं माइतमा फोन गर्न हुन्छ भन्दा भगवानले भन्थ्यो, ‘ल्याण्डलाइन छँदैछ त । किन चाहियो मोबाइलमा ब्यालेन्स हाल्न ? जग्गा किनेको ऋण फाइनल नै भएको छैन फेरि घर बनाउनु छ । बेला बेला छोरीको फी तिर्नुपर्छ । फजुलको खर्च किन गर्नु ?’

मानुषीलाई पनि श्रीमानको कुरा ठीकै लाग्थ्यो । त्यसैले उसले आफ्ना रहरहरुलाई विस्तारै बिर्सिंदै जाँदै थिई । भगवानले सबैका इच्छा पूरा गर्छन रे ! तर, उसको भगवानले कुनै इच्छा पूरा गरेको थिएन । मानुषीले पनि कर गर्दैनथी ।

उसले आफूलाई मन लागेको बेला फेसबुक चलाउँथ्यो । मानुषीले पनि आशालाग्दा नजरले हेरेको देखेर हटस्पट खोलिदिन्थ्यो । दुबैले चलाउँथे सोसल मिडिया ।

भगवानलाई फेसबुक चलाउन मन नलागे हटस्पट बन्द गर्थ्यो । यसरी एक्कासि हटस्पट बन्द गर्दा मानुषीलाई दिक्क लाग्थ्यो । उसलाई रुन मन लागेर आउँथ्यो । उसले कति साथीका फोटोमा लाइक गर्न भ्याएको हुन्नथ्यो । कति साथीलाई जन्मदिनको शुभकामना दिन ढिला भएको हुन्थ्यो भने कति साथीको म्यासेजको रिप्लाइसमेत समयमै गर्न नसक्नुको पीडा बोकेकी थिई । नयाँ फोटो राख्न नपाएको पनि महिनौं भैसकेको थियो भने फोटोको कमेन्ट, लाइक र रिप्लाइसमेत गर्न पाएकी थिइनन् । उसलाई मनमा कताकता नरमाइलो हुन्थ्यो । औडाह छाउँथ्यो । तर, भन्न केही सकेकी थिइनन् ।

त्यो रातभरि दुबैलाई छटपटी नै भयो । दोस्रो दिन भगवान कोठामा भए, मानुषी बर्दलीमा । मानुषी कोठामा भए, भगवान बार्दली । दुबैले जेठाजु बहुरानीको जस्तै गरे ।

भगवान साढे नौ बजे झोला बोकेर अफिस गयो । मानुषीले पनि खाना खुवाएर छोरीलाई स्कुल पुर्‍याई । कोठामा आई । तयार भएर साथीहरुसँग ऊ पनि घुम्न गई । कतिपछि भेट भएका साथीहरुसँग दुःखसुख बाँडे । हाँस्दै, रमाउँदै समय गएको पत्तै भएन । साँझ अबेर घरमा आई । भगवान खाना बनाएर खाएर छोरीलाई सुताएर आफू ओछ्यानमा पल्टिएर फेसबुक चलाउँदै थियो ।

मानुषीको आगमन अप्रत्याशित जस्तै लाग्यो, उसलाई । अघिदेखि तीनचार पल्ट फोन गर्दा उठेन । अहिले एक्कासि कोठामै पुगेको देखेर भगवानले ठूल्ठूला आँखाले हेर्न थाल्यो । उसका मनमा अनेक तरहका शंका उपशंकाहरु पलाउन थाले । आफ्नो वरपरको परिवेश पूरै कालो देख्न थाल्यो । उसलाई मानुषी देखेर रिस उठेर आयो । तर, केही बोलेन ।

मानुषी लुगा फुकालेर भान्सामा पसी । भान्सामा रित्ता भाँडाहरुमात्र थिए । मिटिङ हलमा सुगा एकोहोरो कराइरहेको थियो । सुगाको नाम मानुषीले सोना राखेको थियो ।

सात महिनाअघि माइतबाट फर्किंदा बाटोमा भेटेको थियो सोनालाई । सोना जाति थियो । मानुषीको लागि पक्षी कम मान्छे ज्यादा । उसको घरमा एक्लो हुँदाको साथी भनेको त्यही सोना त हो । सोनाले घरका सबै सदस्यको नाम मान्छेले जस्तै पुकार्थ्यो । साउ अक्षर अंग्रेजी पनि बोल्थ्यो । आई लभ यु गड । गुड मर्निङ डियर । उसले सधैं भन्ने गरेका सेन्टेन्स थिए ।

एक दिन सोनालाई आँगनमा लगेर छोडेको पनि हो । तर, दिनभरि कता कता डुल्यो । साँझ फेरि त्यही आँगनमा आएर मानुषी भन्दै करायो । ढोका खोल्दा सोनालाई देखेर मानुषीले मनलाई थाम्नै सकिनन् । ऊ खुब रोई । कोठामा ल्याइ काखमा राखेर सुम्सुम्याइ । त्यसपछि मानुषीले कहिल्यै आँगनसम्म पु¥याउने कुचेष्टा गरिनन् । बरु ऋचालाई जति नै माया गर्न थाली ।

एक महिनायता सोनाले राम्ररी खान पाएको छैन । मानुषीलाई बेचैनी बढेदेखि ऊ कसैसँग बोल्दिनन् । ऊसँग बात मार्न मानुषीलाई फुर्सद नै छैन । छोरी, ऋचाले पनि उसको खातिरदारी गर्न पटक्क छोडी । भगवान आफ्नै कोठामा व्यस्त हुन्छ । सोना घरका सबै सदस्यबाट निराश भएको छ । उसका मनमा कुनै दिप्ती छैन ।

मानुषीले खाना बनाई, खाई र कोठामा पसी । भगवान निदाइसकेको थियो । उसलाई आज दिउँसोका फोटो फेसबुकमा पोस्ट गर्ने मन थियो । तर, न उसको मोबाइलमा ब्यालेन्स न त हटस्पट नै अन । भगवानको निन्द्रा बिग्रेला किन डिस्ट्रब गर्नु सोची । एकछिनमा थाकेकोले भुसुक्क निदाई ।

उनीहरुको युद्ध भने रुस र युक्रेनको जस्तै भयो । कसैले आत्मसर्मपण गरेनन् । प्रेममा युद्ध मिसियो भने त्यो झन् खतरनाक हुँदोरहेछ । एक अर्कोसँग बोल्न लगभग छोडिसकेका थिए । तर, आआफ्नो काम भने दुबै गरिरहेकै थिए ।

मानुषीले घर छोड्नु अघिल्लो दिन,

मानुषीको अलि अबेर निन्द्रा खुल्यो । हतार हतार उठेर दूध लिएर आई । बार्दलीबाट लेमन ग्रास चुडेर चिया उमाली । नास्ता तयार पारेर टेबलमा राखिदिई ।

आठ बजेतिर खाना तयार पारी । दुई चोइली भात थालमा के पस्केकी थिई । भगवान केही नबोलेर अफिस जाने झोला बोकेर निस्कियो । हप्ता दिनदेखि भगवान भान्सामा पसेकै छैन । खाना तयार हुनेबित्तिकै कोठा छोडेर भाग्थ्यो भने राति अबेर मात्तिएर आउँथ्यो ।

उसले अफिस निस्किेको भगवानलाई एकोहोरो हेरिरही । भगवान आँखाबाट ओझेल भएपछि ऊ धेरैबेर एक्लै टोलाएर बसी । मनमनमा आफूलाई धिक्कार पनि गरिरही । अकारण अस्वीकार हुनुले उसलाई पिरोलिरह्यो । आफूले आफैंलाई हीन भावले हेरिरही । जिन्दगीको कुनै टुङ्गो नभए पनि कसरी चल्छ यत्रो जिन्दगी ? उसले कल्पनासमेत गर्न सकिनन् । र पनि छोरीलाई खाना खुवाएर रोडमा हर्न बजाइरहेको स्कुल बससम्म पुर्‍याएर फर्की । भगवानको व्यवहारले उसको खानाप्रतिको रुचि मरिसकेको थियो । तर पनि मुख जुठो पारी । बार्दलीमा गएर कपाल कोर्न थाली ।

स्कुटरको आवाज गुन्जियो उसको कानमा । सडकतिर हेरी । स्कुटर पल्लोघरको अधबैसे स्वास्नीमान्छेको थियो । ती स्वास्नीमान्छेसँग मानुषीको दुईचार पल्ट भेटघाट भएको थियो । सँगै बसेर बात पनि मारेका थिए । स्वास्नीमान्छे एउटा गैरसरकारी संस्थामा प्रोजेक्ट अफिसर भएर काम गर्थिन् । एक छोरो र आमा विगत सात वर्षदेखि त्यसै घरमा भाडामा बस्दै आएका थिए ।

ती स्वास्नीमान्छेले एक भेटमा भनेकी थिइन्, ‘म बिहेअघि नै एनजीओमा काम गर्थे । श्रीमानले जागिर छोड भनी कर गर्न थाले । मैले मानिनँ । उनले अफिसकै एक सरको जारी लगाउन थाले । सम्बन्ध चिसिँदै गयो ।’ उनले फेरि थप्दै भनेकी थिइन्, ‘म माथि हातपात गर्न खोजे । विनाकारण पनि माइतीलाई दोष दिएर गाली गर्ने । सँगै बस्ने अनुकूल वातावरण रहेन । एक्लै बस्नुपर्दा गाह्रो त हुन्छ । मायाको अभाव त खड्किन्छ । तर, हिंसा सहेर बस्न सकिँदो रहेनछ । चुप लागेर कति दिन बस्ने ? अनि निर्णय लिएँ ।’

ती स्वास्नीमान्छेको कुरा उसको कानमा धेरै बेर गुन्जिरह्यो । विगत चार महिनादेखि भगवानले गर्दै आएको उपेक्षा र हिंसात्मक गतिविधिलाई श्रृङ्खलाबद्ध रुपमा सम्झिन थाली । उसलाई अझै सहेर बसिरहन मन लागेन ।

उसलाई लाग्यो, अब आफैं हाल्छु आफ्नो मोबाइलमा ब्यालेन्स । आफैं किन्छु डाटा र मनलागी चलाउँछु सोसल मिडिया । कति हटस्पटले काम चलाउनु ? चाहिँदैन कसैको हटस्पट ।

अनायासै उसका आँखा रसाएर आए । हर्थुलुङ्गोले आँसु पुछी । एक्कासि उठेर कोठामा आई । र्‍याकबाट कपी र कलम झिकी । टेबुलमा बसेर लेख्न थाली ।

प्रिय भगवान,

यतिञ्जेल तिमी मेरो लागि भगवान नै भएर बसेका थियौ, मनको कुनै कुनामा । म त मान्छे न परें । मान्छेसँग भगवानको सम्बन्ध सुमधुर रहेन, यतिञ्जेल भोगाइले प्रमाणित भयो । भगवानसँग मान्छे खुसी र सुखी नहुँदोरहेछ । भगवान मन्दिरमा नै बस्न सुहाउँछ, घरमा होइन । किनकि भगवानहरु प्रायः पत्थरका हुन्छन्, तिनको मन पनि पत्थर नै हुँदोरहेछ । राम्रैसँग भोगियो । न तिमी मान्छे बन्न सक्यौ न त म नै भगवान बन्न सकें । म म नै भएर बाँच्न चाहन्थे । तिमीले मलाई पनि भगवान बनाउने असफल प्रयास ग¥यौ । मलाई लाग्छ, जबदेखि मान्छेहरुले पत्थरहरु पुज्न थाले । सायद त्यसै दिनदेखि ईश्वरको मृत्यु भयो । त्यसैले मान्छे र भगवान एकै ठाउँमा बस्न कदापि सक्दैनन् ।
छोरीको ख्याल राख्नु ल ।

तिम्रो भक्त बन्न नसकेकी मानुषी

उसले टेबुलमा चिठी राखी । त्यसैको छेवैमा राखी कलम पनि । अनि ढोका लगाई । बर्दलीमा पुगेर उसले सोनाको आवाज सुनी । चराहरु पिँजडा सुहाउँदैनन् । चराहरु स्वतन्त्रताका सेनानी हुन् । तिनलाई आकाश नै प्यारो लाग्छ । उसले यस्तै धेरै कुरा सोच्दै सोनालाई बाहिर लगेर छोडिदिई । सोना पनि मानुषी आई लभ यू भन्दै उड्यो ।

++++++

‘हेलो फुच्चे राइटर ? कस्तो लाग्यो मैले भनेको कथा ?’
‘ओके छ त’, भगवान निन्द्रामा बरबरायो ।

भगवान कुर्सीमा बस्दाबस्दै निदाइसकेको थियो । ऋचाले काँधमा समातेर हल्लायो । भन्यो, ‘बाबा …।’
छोरीको आवाजले निन्द्रा बिथोलियो । उसले बोतलको पानी पियो । एकछिन टोलाएर बस्यो ।
ऋचालाई काखमा राख्दै भन्यो, ‘आमाको माया लाग्छ ?’
‘धेरै लाग्छ नि ।’
‘हो ।’
‘हो नि ।’
‘ओके छ त ।’

ऊ ऋचालाई लिएर कोठाबाट बाहिर निस्क्यो । हावा एक तमासले चलेको थियो । घण्टीका पातहरु हावामा नाच्दै थिए । रुखमा थुप्रै चराहरु कराइरहेका थिए ।

एक्कासि रुखबाट आवाज आयो, ‘हेलो मिस्टर गड ।’

दुबैले घण्टी फूलको हाँगामा हेरे । अनि दुबै मुस्कुराए । भगवानले भन्यो, ‘आई लभ यू सोना ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *