उखु खेती र कृषिको वृहत्तर विकासका दि नेपाल डिस्टीलरिजद्वारा विशेष पहलको थालनी – Nepal Press

उखु खेती र कृषिको वृहत्तर विकासका दि नेपाल डिस्टीलरिजद्वारा विशेष पहलको थालनी

काठमाडौं । मधेश प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवर्द्धन, यसप्रति किसानहरूको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको वृहत्तर विकासका लागि दि नेपाल डिस्टिलरिज प्रालिले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष पहल सुरू गरेको छ ।

दि नेपाल डिस्टिलरिज प्रालिको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा केही समयअघि धनुषामा उखु खेती प्रवर्द्धनका लागि सीमान्तकृत समुदायका कृषकहरूको सीप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना भयो ।

नक्टाझिजस्थित कृषि विकास निर्देशनालय र कृषि व्यवसाय प्रवर्द्धनको सहयोग तथा तालिम केन्द्रमा सिरहा, सप्तरी, महोत्तरी र धनुषा जिल्लाका अगुवा किसानहरूलाई उखु खेती प्रवर्द्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम नेपाल डिस्टीलरिजले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व (सीएसआर) अन्तर्गत आयोजना गरेको हो ।

कार्यक्रममा आयोजक द नेपाल डिस्टिलरिजका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानहरूलाई एकै ठाउँमा राखेर बुझाइएको र खेतीको विस्तार, प्रवद्र्धन एवम् संरक्षण गर्न आफूहरूले यो कार्यक्रम गरेको प्रष्ट्याए ।

उनले भने, ‘सन् १९५९ देखि नेपालमा व्यावसायिक रूपमा विश्वप्रिय पेय पदार्थ उत्पादन गर्दै आइरहेको नेपाल डिस्टिलरिजले स्वदेशकै किसानहरूद्वारा स्वदेशी भूमिमा उत्पादित उखुका उत्पादनहरु खपत गर्दै आइरहेको छ । रम उत्पादनको महत्वपूर्ण कच्चा पदार्थ मोलासेस उखुबाट बन्ने गर्छ । यसकारण पनि उखु किसानहरूसँग कम्पनीको प्रगाढ सम्बन्ध छ । हामी यो महत्वपूर्ण सम्बन्धमा जोड दिँदै, उखु-किसानहरूको समष्टीगत स्तरोन्नतिमा सहयोग पुर्‍याउन सक्रियताका साथ भविष्यमा दीर्घकालिन साझेदारीपूर्ण कार्ययोजनाहरू अघि ल्याउन प्रतिबद्ध छौं ।’

मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले उखु किसानले वर्षौदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बीउ नपाउनेलगायत भोगिरहेका समस्याको सम्बोधन गर्ने तथा उखु खेतीको विकास गर्न मधेशका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानहरूको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मधेश प्रदेशका हरेक नगरपालिकामा कृषि ज्ञानकेन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने बताए ।

कार्यक्रममा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका प्रबन्ध निर्देशक डा. विमलकुमार निर्मलले मधेश प्रदेशको उखु खेतीको अवस्था, समस्या र सम्भावना बारे प्रस्तुतीकरण दिएका थिए । उनले नेपालमा उखु उत्पादनमा उच्च प्रतिफलको सम्भावना रहेको तथा गुँड, खुदो, चिनी आदिमात्र नभई उखु पेलेर बाँकी रहेको भागबाट स्पिरिट लगायतका पेय पद्धार्थ बनाउन सकिने प्रष्ट्याए ।

निर्मलले भने, ‘यसमार्फत अरबौँको वैदेशिक पेयपदार्थहरू प्रतिस्थापन गर्दै देशको पूँजी बाहिरिनुबाट बचाउन सकिन्छ ।’

यो पवित्र अभियानमा सहकार्यका लागि तयार भएको भन्दै उनले दि नेपाल डिस्टीलरिजप्रति आभार प्रकट गरे ।

कार्यक्रममा पूर्व कृषि सचिव एवम् नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलका अध्यक्ष डा. योगेन्द्रकुमार कार्की, काउन्सिलका कार्यक्रम संयोजक नारायण श्रेष्ठ, महेन्द्र पन्त, दिलराज यादव, रामकृष्ण रजक र अनिसुर रहमान अन्सारी लगायतले बोलेका थिए ।

नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेड सन् १९५९ मा स्थापित पहिलो नेपाली डिस्टिलरी हो । आईएसओ 9001 : 2015 प्रमाणित कम्पनीले नेपालमा विश्वभर सर्वाधिक रूचाइने खुकुरी रम उत्पादन गर्दछ । यसबाहेक न्यूड भोड्का, कर्द, एरिस्टोक्र्याट लगायतका स्पिरिट पनि उत्पादन गर्दै आएको छ । खुकुरी रम स्वदेशमा नेपालभर उपलब्ध छ भने जापान, दक्षिण कोरिया, हङकङ, इटाली, संयुक्त राज्य अमेरिका र दुबईलगायतका देशमा निर्यात गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर