अनमोलले सवा करोड डुबाइदिएको सुदर्शन थापाको आरोप, क्षतिपूर्ति र सजायको माग (कुराकानी) – Nepal Press

अनमोलले सवा करोड डुबाइदिएको सुदर्शन थापाको आरोप, क्षतिपूर्ति र सजायको माग (कुराकानी)

काठमाडौं । अभिनेता अनमोल केसीलाई ‘आपराधिक विश्वासघात’ गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । अनमोलले सुदर्शन थापाले निर्माण गर्ने फिल्म ‘रावायण’ मा काम गर्ने भनेर पछि धोका दिएको आरोपसहित उजुरी परेको थियो ।

सुदर्शनकी पत्नी सुप्रिया कटुवालको उजुरीका आधारमा प्रहरीले आज अनमोललाई साँगाबाट पक्राउ गरेको हो । अनमोलले फिल्म खेल्ने भनेर १० लाख रुपैयाँ अग्रिम भुक्तानी लिइसकेको उजुरीमा जनाइएको छ ।

साथै फिल्मका लागि डेढ करोड रुपैयाँ खर्च भइसकेपछि अनमोलले नखेल्ने बताएको कटुवालको गुनासो छ ।

फिल्मका निर्देशक सुदर्शन थापाले कलाकार तथा प्राविधिकहरुको भुक्तानी तथा अन्य तयारीमा सवा करोड रुपैयाँ खर्च भएको दाबी गरे । फिल्म सुटिङमा जानुभन्दा तीन दिन अगाडि अनमोलले धोका दिएको उनले बताए ।

थापासँग गरिएको संक्षिप्त कुराकानी:

– फिल्म सुटिङसमेत सुरु नहुँदै सवा करोड कसरी खर्च भयो ?

हामीले ७० जनालाई अग्रिम भुक्तानी दिएर एग्रिमेन्ट गरिसकेका थियौं । म्युजिक, स्क्रिप्ट र प्रपर्टीहरु सबै रेडी गरिसकेका थियौं । ड्रेसहरु सबै अफिसमा थुप्रिएको छ । यो सबै गर्दा खर्च भएको हो ।

– अनमोलले लिएको १० लाख एड्भान्स फिर्ता पाउनुभएको छ कि छैन ?

त्यो पनि हामीले पाएका छैनौं । तर, त्योसँग त हामीलाई मतलबै भएन नि । हाम्रो त सवा करोड डुबेको छ ।

– तपाईंहरुको माग के हो त ?

अहिलेसम्म खर्च भएको उहाँहरुले व्यहोर्नुपर्‍यो । उहाँले एउटा निर्देशकको सपना कुल्चेर हिँड्नुभएको छ । प्राविधिक कलाकारको पेटमा लात हान्नुभएको छ, त्यो पनि दशैंको समयमा । उहाँले कानूनबमोजिम सजाय पाउनुपर्छ ।

– एउटा कलाकारलाई थुनामै पुर्‍याउनुपर्ने विषय हो र यो ? प्रहरीमा जानुभन्दा उहाँसँग बसेर मिलाएको भए हुन्थ्यो होला नि त ?

उहाँ हामीसँग बस्न र छलफल गर्न पनि चाहनुभएन । निर्माता सुप्रिया कटवालले फोन गर्दा तपाईं को हो म चिन्दिनँ, तपाईंले मलाई किन पैसा दिनुभएको हो, थाहा छैन । यस्तो उस्तो भनेपछि हामी प्रहरीमा जान बाध्य भयौं ।

– उहाँ म फिल्म खेल्दिनँ भनेर आफैंले भन्नुभयो कि तपाईंहरुले फेसबुक स्टाटस हेरे थाहा पाउनुभयो ?

उहाँले भन्नुभएको हो । विभिन्न बहाना बनाउनुभयो ।

– के बहाना बनाउनुभयो ?

कहिले स्क्रिप्ट मन परेन, कहिले म्युजिक मन परेन, कहिले के कहिले के ! नगर्ने मनस्थिति भएपछि उहाँले सय वटा बहाना निकाल्नुभो ।

– उहाँ फिल्म खेल्न तयार हुनुभयो भने उजुरी फिर्ता लिनुहुन्छ त ?

अब त उहाँले फिल्म खेल्नुपर्दैन । हामी अब उहाँसँग कामै गर्न सक्दैनौं । उहाँले जुन आपराधिक कर्तुतको सजाय भोग्नुपर्‍यो र हामीलाई क्षतिपूर्ति दिनुपर्‍यो ।

– कति क्षतिपूर्ति माग गर्नुहुन्छ त ?

हाम्रो सवा करोड डुबेको छ, त्यही नै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *