जानकी जन्मोत्सव : जानकी मन्दिरमा गीदनाद, यसरी झुमे साधुसन्त र श्रद्धालु (तस्बिरहरु) – Nepal Press

जानकी जन्मोत्सव : जानकी मन्दिरमा गीदनाद, यसरी झुमे साधुसन्त र श्रद्धालु (तस्बिरहरु)

जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिर क्षेत्र आज साधुसन्त र दर्शकले भरिभराउ छ । गीदनादमा झुमेका छन् उनीहरू । सबै भगवा रंगको लुगा लगाएका छन् ।

हिन्दू धर्ममा भगवा (केसरीया) रंगको विशेष महत्त्व छ । भगवा रंगलाई पवित्र मानिन्छ र शुभ कार्यमा भगवा रंगको प्रयोग गरिन्छ । वैशाख शुक्ल नवमी अर्थात् आजकै दिन माता जानकी धर्तीबाट उत्पत्ति भएको किंवदन्ती छ । त्यसैले साधुसन्त र श्रद्धालु भगवा रंगमा रंगिएर जानकी जन्मोत्सव मनाइरहेका छन् ।

मन्दिरमा जानकी माताको पूजापाठ गर्नेहरूको घुइँचो लागेको छ । जानकी मन्दिर झकिझकाउ पारिएको छ । मन्दिर परिसरमै ठूलो रंगोली बनाइँदैछ । आज साँझ दीपोत्सवको तयारी छ । जानकी मन्दिरले यस वर्ष जानकी नवमी महोत्सवको रूपमा मनाइँदै छ ।

जानकी नवमीको अवसरमा आज बिहान धार्मिक आस्था बोकेको दूधमती नदीमा साधुसन्त र श्रद्धालुहरू शाही स्नान गरे । अहिले मन्दिरमा जानकीको प्राक्टय बधाई मंगलगान चलिरहेको छोटा महन्त रामरोषण दासले बताए । उनका अनुसार केहिबेरमा मन्दिरबाट डोला निस्कने र साँझमा सन्ध्या आरती र बधाई मंगलगान कार्यक्रम हुन्छ ‌।

त्रेतायुगमा मिथिलाका राजा जनक पानी नपरेर खडेरी हुन थालेपछि किसानहरूको हौसला र वर्षाका लागि इन्द्रदेवलाई आग्रह गर्न आफैँ खेतमा हलो जोत्न लागेको बेला माता जानकी धर्तीबाट प्रकट भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

जानकी नवमीको अवसरमा मधेश सरकारले प्रदेशमा आज सार्वजनिक बिदा पनि दिएको छ । मधेशका विभिन्न जानकी र राम मन्दिरमा पनि श्रद्धापूर्वक जानकी जन्मोत्सव मनाइँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *