सके सर्वसम्मत नसके चुनावबाटै नेतृत्व चयन हुन्छः केशवराज पाण्डे – Nepal Press
नेपाल टक

सके सर्वसम्मत नसके चुनावबाटै नेतृत्व चयन हुन्छः केशवराज पाण्डे

'सहमति भनेको ममति होइन, सबै मिलाएर जानुपर्छ'

नेकपा एमाले बागमती प्रदेश समितिलाई यतिबेला अधिवेशनको संघारमा छ । प्रदेशका १३ जिल्ला र जनसंगठनबाट १०२८ प्रतिनिधि छानिइसकेका छन् । अधिवेशनको उद्घाटन भोलि असोज ८ गते भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । प्रदेश अध्यक्षको लागि एमालेका ३ केन्द्रीय सदस्यसहित वर्तमान अध्यक्ष केशवराज पाण्डे पनि मैदानमा छन् । अधिवेशनको तयारी र भावी नेतृत्वको विषयमा पाण्डेसँग गरिएको कुराकानी नेपाल टकमा

– कस्तो हुँदैछ अधिवेशनको तयारी ?

हामी तयारीको अन्तिम चरणमा पुगेका छौं । अधिवेशनको प्रमुख कार्य भनेको प्रनिनिधि छनौट हो । हामीले बागमतीका ११९ वटै पालिकाबाट प्रतिनिधि छनौट सकाएका छौं, त्यसलाई हामी डिजिटलाइज गर्दैछौं । असोज ८ गते काठमाडौंको भृकुटीमण्डमा भव्य उद्घाटन समारोह राखिएको छ । अधिवेशन उद्घाटन समारोहमा भव्य सजावटसहितको मञ्च निर्माण, डिजिटल स्क्रिन, र्‍यालीमा प्रदेशभरिका विभिन्न जातजाति, भाषा, संस्कृति झल्कने झाँक्री, पहिरन तथा मौलिकताको प्रदर्शनीसहित उपत्यकाका विभिन्न नाकाबाट जुलुस निकाल्ने तयारी भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । असोज ९ गते भने प्रज्ञा भवनमा बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । हालसम्म १०२८ जना प्रतिनिधि छनौट भइसक्नुभएको छ । त्यसदिनसम्म केही थप पनि हुनेछ । सर्वसम्मतरूपमा नेतृत्व चयनको प्रयास हुनेछ । सर्वसम्मतबाट नेतृत्व चयन हुन नसकेको खण्डमा भने असोज १० गते पार्टी कार्यालय च्यासलको हलमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ । र, मतदान प्रक्रियाका लागि भोटिङ मेसिनको पनि व्यवस्था भइसकेको छ । तर, हामी सर्वसम्त रुपमा नेतृत्व चयन गर्ने प्रयासमा छौं । बन्दसत्रमा हाम्रो सांगठनिक प्रतिवेदन, भावी कार्ययोजना लगायतका विषयमा छलफल पनि हुनेछ । आर्थिक लेखापरीक्षणको विवरण प्रस्तुत हुनेछ, त्यसलाई पारित गर्नेछौं । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशन तयारीको व्यवस्थापकीय सम्पूर्ण कार्यहरुसम्पन्न भएका छन् ।

– प्रतिनिधि चयन सबै भूगोल, जनसंगठन सबैतिरबाट सम्पन्न भइसकेको हो ?

करिब सबैबाट नै प्रतिनिधि चयन सकिएको छ । हामी अधिवेशनको अन्तिम चरणमा छौं । बागमती प्रदेशका सबैपालिका, भुगोल, जनसंगठन लगायतबाट प्रतिनिधि टुंगिएको छ ।
यहाँ अघि सांगठनिक प्रतिवेदनहरुको कुरा गर्नुभयो, प्रथम अधिवेशन भएको हुनाले बागमती प्रदेश आफैमा ठुलो प्रदेश पनि हो । निर्वाचनमा समयमा पार्टीको उपस्थिति पनि साँघुरिएको अवस्था छ ।

– यसलाई अगाडि बढाउन सांगठनिक प्रतिवेदनमा के छ ?

हामीले सांगठनिक प्रतिवेदन ७ भागमा विभाजन गरेका छौं । पहिलो भागमा बागमती प्रदेशको भौगोलिक संरचनाको बारेमा उल्लेख गर्नेछौं । दोस्रो भागमा पहिलो अधिवेशन भएकाले बागमती प्रदेशमा पार्टी निर्माणको बारेमा प्रस्तुत हुनेछ । तेस्रो भागमा भने राष्ट्रिय राजनीति परिस्थिति र शक्ति सन्तुलनको बारेमा प्रस्तुत गर्नेछौं । चौथोमा भने मिसन ग्रासरुटको अभियानबाट हामीले के प्राप्त गर्यौं, उपलब्धि केके भएजस्ता विषयमा प्रस्तुत हुनेछ । यस्तै, पाँचौं भागमा हामीले निर्वाचन समिक्षा गर्नेछौं । र, छैठौं भागमा हामीले समग्र बागमती प्रदेशको समृद्धि र सम्भावनाका प्रस्तावहरु प्रस्तुत हुनेछ । त्यसपछि हामीले भावी कार्ययोजना प्रस्तुत हुनेछ । यसरी नै हाम्रो संगठनिक राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

यो पनि पढ्नुस् : एमाले बागमती अधिवेशन : यी हुन् चर्चामा रहेका अध्यक्षका दाबेदार

अर्को कुरा, बागमती प्रदेशमा पार्टी कमजोर भएको भन्दा पनि यस प्रदेशको समानुपातिक मतलाई हेर्ने हो भने ६ लाख ५ हजार मत हाम्रो पार्टीको छ । नेपाली कांग्रेसको ५ लाख हाराहारीमै छ । हामी कांग्रेसभन्दा १ लाख मतले अगाडि छौं । माओवादीभन्दा ३/४ लाख मतले अगाडि छौं । त्यसैले अहिले पनि हामी पहिलो पार्टी हौं । हामीले २०७४ सालको निर्वाचनसंग तुलना गर्दा ६८ हजार मत नेकपा एसले लगेको छ, नेकपा विभाजनमा गयो, २०७४ मा हामीले ल्याएको मत अहिले केही घटेको भन्ने छ, तर, नेकपा एमालेको जुन पपुलारीटी (लोकप्रियता) छ, त्यो अहिले पनि कम छैन । निर्वाचनमा विभिन्न गठबन्धनहरुले परिणाम केही असर गर्‍यो । त्यसपछि सहरीया युवापंक्ति पनि नाराबाजीमा कुदेको देखियो । तर, पछिल्लो समय कुनै पनि पार्टी बिनै, कुनै योजना तथा घोषणापत्रविना, सडकमा उत्रेर भाषणा गरेरै मत लिने परिस्थिति बनेको छ, अब त्यस्ता गतिविधिलाई हामीले रोक्नुपर्छ भन्ने लाग्छ ।

– यस प्रदेशमा नयाँ उदाइ रहेको पार्टीहरू (रास्वपा, लौरो) ले कति चुनौती थपेको छ ?

यसमा फेरि पनि हामीले गर्ने भनेको वैचारिक सांगठनिक काम हो । नयाँ र पुरानो भन्ने खालका कुराहरु छन् । पार्टी नयाँ र पुरानो होइन, विचारको कुरा हो, विचारले नै पार्टी चल्ने हो । एउटा अवस्था र समयमा मानिसलाई त्यो खालको भ्रम पर्न सक्छ , केही भएन भन्ने हुनसक्छ । मानौं यहाँबाट विदेश पुग्ने वित्तिकै, ठुला ठुला बिल्डिङ्ग, अन्डरग्राउण्ड रेल वे, हवाई स्टेशन लगायतका सुविधाहरु देख्छन्, त्यसपछि नेपालमा कल्पना गर्छन् । तर, उनीहरुलाई त्यो बन्न कति वर्ष लाग्यो थाहा छैन, कसरी बन्यो भन्ने जानकारी छैन । पुग्ने वित्तिकै यहाँ यस्तो, नेपाल त्यस्तो भन्ने जस्ता तर्क आउछन् ।

हामीकहाँ राजनीति गर्ने सबै भ्रस्ट हुन् भन्ने सोच र प्रवृत्ति बनाईरेहका छन्, यस्तो गलत सोचलाई हामीले परास्त गर्नुपर्छ । राजनीति गर्नेहरु सबै भ्रस्ट हुँदैन, देश हाक्ने हुन्, हामीले त्यो ढंगले सोच्नुपर्छ ।विस्तारै आएको यी नयाँ पार्टी भनिनेहरू बर्खामा आएका भेलहरु जस्तै हुन् । जब उनीहरू संगठन निर्माण गर्न थाल्छन्, त्यसमा विचारको कुरा आउँछन्, त्यहाँ असतुष्टिहरु आउँछन्, हिजो संगठन नहुँदा जस्तो त हुँदैन । विचारमा छलफल गर्न थालेपछि पक्ष विपक्षहरु हुन्छन्, असतुष्टि बढ्छन, टिकट पाउने नपाउने भन्ने लडाइ, झगडा हुन्छ । त्यसपछि विवाद सुरु हुन्छ, । त्यसैले उनीहरुलाई सहज छैन । एक्लै हिडेजस्तो पार्टीमा हिड्न हुँदैन । त्यस्तका भ्रम विस्तारै चिरिन्छन् ।

– नयाँ शक्तिका रूपमा उदाएका पार्टीहरूमा युवाहरुको आकर्षण अलि बढी देखिन्छ, नेकपा एमालेले पनि मुख्य रुपमा त्यस्ता युवालाई आकर्षित गर्ने गरी कार्यक्रम नीतिका बारेमा किन नसोचेको हो ?

हामीले देखेको नयाँ पार्टीमा बुढा हुन पाएकै छैनन् । नयाँ नयाँले त बनाएका हुन् । तर, हामी त पाको नेतृत्व र युवा नेतृत्वको बीचमा अन्तरघुलन गर्नुपर्छ भन्ने हो । एमालेको केन्द्रीय कमिटिको लिस्ट हेर्ने हो भने ४० वर्ष मुनिका प्रस्तत युवाहरु देख्न सकिन्छ । झन्‌ पछिल्लो समय त सबै तहहरुमा अनिवार्य रुपमा ४० वर्ष मुनिका युवाहरुलाई लिएर आउन निर्देशन नै गरेको छ । यता प्रदेश कमिटिमा पनि १० प्रतिशत युवाहरुको नेतृत्व हुनुपर्छ भनेर निर्देशन छ । जबरजस्ती कमिटीमा लिएर नेतृत्व दिने र आफ्नै सक्षमता, क्षमता हासिल गरेर आउनेमा धेरै फरक हुन्छ । हामीले त युवाहरुकै नेतृत्व क्षमता विकास गराउँदै उनीहरुलाई नेतृत्वमा ल्याउँछौं ।

– बागमती प्रदेशमा नेकपा माओवादीले पनि राम्रै सीट संख्या पनि छ, अहिले उनीहरू सरकारमा पनि छन् । तर, प्रमुख प्रतिपक्षी दलको हिसावले एमालेले माओवादीलाई र कांग्रेसलाई लिने ? यो अधिवेशनको आकलन के हो ?

हामीले शक्ति ध्रुवीकरण हुनुपर्छ भन्ने हो, मुल कुरा त । साना पार्टीहरू आउने त्यसपछि गठबन्धन चलिरहेने जस्ता गतिविधिले एउटा अस्थिरता निम्त्याउँछ । त्यसैले नै शक्ति ध्रुवीकरण गर्नुपर्छ भन्ने हो । योभन्दा अगाडि भएको माओवादी र एमाले एकता भनेको शक्ति ध्रुवीकरण गर्ने प्रयासरत थियो, तर विभिन्न तत्वहरुले खेले र दिएनन् । यो अनिवार्य छ, अव विस्तारै शक्ति ध्रुवीकरणकै बाटोमा जान्छ । मैले त यसभन्दा अघि भने पेस गरेको छु । आगामी निर्वाचनमा नेकपा एस भन्ने पार्टी नै रहँदैन । यसपालि पनि राष्ट्रिय पार्टी बन्न त सकेन । अरुसंग मिलेको भएर नै केही सीट जित्यो । यता, माओवादी पार्टीले पनि अर्काको वैशाखी नटेक्ने हो भने उसको पनि हालत त्यही नै हो । उसको स्थिति पनि खस्किदो नै छ । २०६४ को निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत अर्थात १२० सीट जितेको हो, २४० मा । त्यसपछिका निर्वाचन २०७०, २०७४ कति जित्यो । त्यही पनि एमालेसँग मिलेर ३३ सिट जिताएर ५५ पुर्‍याएको हो । अहिले कांग्रेस लगायत पाँच पार्टी मिल्दा पनि अहिले जम्मा ३२ सिट कायम छ, समानुपातिकसहित ।

त्यसैले माओवादी खस्किने नै हो । बागमतीको सन्दर्भमा माओवादीको संगठन अलिअलि मजबुत नै छ, कांग्रेससंग एकताले पनि उनीहरुको सीट बढ्न गएको देखिन्छ । यस्ता कुराहरुलाई हामीले गहिरोसंग अध्ययन गरेर पार्टी विस्तारमा लागेका छौं । हिजोको दिनमा हामीबाट छुटेर जाने साथीहरूलाई पनि संगै हुन आव्हान गरेका छौं, पछिल्लो समय माओवादी पार्टीकै नेता कार्यकर्ता एमालेमा आकर्षित छन्, आउने क्रम पनि छ त्यसलाई हाम्रो पार्टी थप बलियो हुन्छ । अर्को कुरा ध्रुवीकरणको विषयमा पनि अगाडि बढ्छ भन्ने लाग्छ ।

– यो प्रथम अधिवेशनमा भएका हुनाले ऐतिहासिक नै छ, यहाँ पनि बहालवाला अध्यक्ष हुनुहुन्छ, पार्टीकै तिन केन्द्रीय सदस्य प्रतिनिधि आउनु भएको छ । तर, सर्वसम्मतिबाटै नेतृत्व चयन चाँहि कसरी हुन्छ ?

म अध्यक्ष भएको हैसियतले यो अधिवेशनलाई अत्यन्त सौहार्दपूर्ण वातावरणमा सबै पदाधिकारीहरुको नेतृत्व टुंगाउने प्रयास मबाट हुन्छ । अन्तिम घडीसम्म मैले त्यो प्रयास गर्छु, । यदि त्यस्तो हुन सकेन भने हामी मतदानको प्रक्रियाबाट टुंग्याउछौं । यो हामीले प्रयोग गरिरहेकै विधि हो । त्यसमा पनि हामीलाई कुनै अप्ठ्यारो लाग्दैन ।

अधिकतम सहमतिको प्रयास गर्छु भन्नुभयो, त्यो आफ्नो नामका कि त्याग गर्न परेपनि तयार ?

सहमति भनेको ममति होइन नि । त्यो सहमति नै हो । सबै मिलाएर जानुपर्छ । त्याग भनेको आफ्नो व्यक्तिको सम्पत्तिमात्रै हुन्छ, यो त मेरो होइन । यो पद पार्टीको पद हो, मेरो होइन ।

सबै पदाधिकारीहरूको नेतृत्व सहमतिबाट टुंग्याउने प्रयास अन्तिम घडिसम्म मबाट हुन्छ । यदि त्यस्तो हुन सकेन भने हामी मतदानको प्रक्रियाबाट टुंग्याउछौं । यो हामीले प्रयोग गरिरहेकै विधि हो । त्यसमा पनि हामीलाई कुनै अप्ठ्यारो लाग्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर