एमाले बागमती अधिवेशन : यी हुन् चर्चामा रहेका अध्यक्षका दाबेदार – Nepal Press

एमाले बागमती अधिवेशन : यी हुन् चर्चामा रहेका अध्यक्षका दाबेदार

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वबारे विभिन्न अड्कलबाजी पनि सुरू भएका छन् । प्रदेशको कमाण्ड सम्हाल्न नेताहरूबीच आन्तरिक रस्साकस्सी सुरू हुन थालेको हो ।

हाल ४ सय ७७ जना रहेको बागमती प्रदेश कमिटीमा असोज ८-९ गतेको अधिवेशनले २ सय ४० जनाको कमिटीमात्रै चयन गर्दैछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी ५ पदाधिकारीसहित नयाँ कमिटी बनाउनेछ । सहमति प्रयास गर्दा पनि लुम्बिनिमा अध्यक्षसहितका केही पदाधिकारीको टुंगो मतदानबाट लाग्यो । यहाँ पनि आकांक्षीको दाबी हेर्दा चुनावको सम्भावना बढेको नेताहरू बताउँछन् ।

संघीय राजधानी समेत रहेका कारण वागमति प्रदेशको नेतृत्व एमालेका लागि रणनीतिक महत्वको छ । पछिल्लोपटक एमाले सबैभन्दा कमजोर निर्वाचन परिणाम पनि वागमतिमै पाएको छ । त्यसैले यहाँको नेतृत्व प्रभावशाली हुनुपर्ने नेताहरु बताउँछन् ।

जनप्रतिनिधिको मापदण्ड नभएको थियो भने प्रदेश अध्यक्षका लागि सर्वाधिक प्रभावशाली नेता गोकुल बास्कोटाको नाम अग्रपंक्तिमा थियो । प्रदेशमा पार्टीलाई बलियो बनाउन गोकुलजस्ता नेताको आवश्यकता रहे पनि मापदण्ड बाधक बनेको यहाँका नेताहरु बताउँछन् ।

त्यसो त नेतृत्वले माथिल्लो तहबाटै अध्यक्ष बनाउन चाहेमा स्थायी कमिटी सदस्य शेरवहादुर तामाङदेखि पोलिटव्युरो सदस्यहरु आनन्द पोखरेल,पार्वत गुरुङ,महेश बस्नेतलगायत पनि पछि हट्ने अवस्था थिएन । तर निर्वाचन नै हुने अवस्थामा उनीहरु तल जाने अवस्था छैन ।

प्रदेश अध्यक्षको लागि हालसम्म आधा दर्जन बढी नेताले इच्छा देखाएका छन् । प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने र पोलिटब्युरो सरहको हैसियत हुने भएको कारण पनि उक्त पद हत्याउन केन्द्रीय सदस्य पनि दाबेदार देखिन्छन् ।

हालसम्म अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, पूर्वपोलिटब्युरो सदस्य एवम बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, हालका प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी मुख्य दाबेदार देखिएका छन् । चितवनका नेता कृष्णभक्त पोखरेल, धादिङका भूमि त्रिपाठी र खेम लोहनीको नाम पनि चर्चामा छ ।

आकांक्षीमध्ये केन्द्रीय सदस्य कैलाश ढुंगेलको पल्ला भारी रहेको बताइन्छ । २०३८ सालबाट कम्युनिष्ट पार्टीमा काम सुरू गरेका रामेछापका ढुंगेलले २०४८ बाट लगातार तीन पटक पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष भएर काम गरे । २०५४ सालमा जिल्ला विकास समिति रामेछापको सभापति, २०७४ मा बागमती प्रदेशसभा सदस्यसमेत भएका उनी बागमती प्रदेशको पहिलो आर्थिक मामिला मन्त्रीसमेत बने ।

अर्का दाबेदार मकवानपुरका कृष्णप्रसाद दाहाल पार्टी र संसदीय राजनीतिमा स्थापित नाम हुन् । २०४५ बाट एमाले जिल्ला कमिटीमा रहेर काम गरेका दाहाल त्यसअघि नै २०४३ सालमा जनपक्षीय उम्मेद्वार मार्फत मकवानपुरको तत्कालीन ठिंगन पञ्चायतको प्रधानपञ्च जिते । संसदीय राजनीतिमा अब्बल दाहालले ३ पटक मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् ।

२०४८, २०५६ र २०७४ मा विजयी भएका दाहाल २०७४ मा अर्थ समितिको सभापति भएर काम गरेका छन् । दाहालले २०५४ बाट २०६६ सम्म मकवानपुर एमालेको नेतृत्वमा रहेर काम गरे भने चितवनमा सम्पन्न एमालेको १० औँ केन्द्रीय महाधिवेशनबाट हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

पूर्वपोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ पाँचौ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका थिए । २०७४ को प्रदेशसभा सदस्यमा विजयी भएर पाँच वर्षसम्म बागमती प्रदेशको सभामुखको जिम्मेवारी प्राप्त गरेका उनले दुई पटक काठमाडौं महानगरमा निर्विरोध वडाध्यक्ष हुँदै २०५४ मा जिल्ला विकास समिति काठमाडौंको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । २०४६ मा नेकपा एमाले काठमाडौंको संस्थापक सचिव उनले त्यसअघि मालेको पनि नेतृत्व गरेका थिए ।

हाल बागमती प्रदेश कमिटी अध्यक्ष नुवाकोटका केशवराज पाण्डेलाई पनि स्वाभाविक दाबेदारको रूपमा हेरिएको छ । विद्यार्थी आन्दोलनबाट एमालेको मूलधारमा आएका पाण्डेसँग २०४५ सालमा अमृत साइन्स क्याम्पस काठमाडौंको स्ववियू सभापति हुँदै २०५४-२०६० सालसम्म एसियाली विद्यार्थी संगठनको सचिवको रूपमा काम गरेको अनुभव छ ।

एमालेको आठौँ महाधिवेशनपछि विदेश विभागको सचिव भएका पाण्डे २०७४ को प्रदेशसभा निर्वाचनमा विजयी हुँदै बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री र भौतिक पूर्वाधार मन्त्री भएर काम गरे ।

पाण्डे नेतृत्वको प्रदेश कमिटीमा सचिव रहेका विजय सुवेदीको पनि चर्चा छ । चितवनका सुवेदी २०३५ सालदेखि राजनीतिमा आवद्ध छन् । २०४३ सालमा राष्ट्रिय पञ्चायत निर्वाचनमा जागृतप्रसाद भेटवालको निर्वाचन प्रचार संयोजक बनेका उनी २०४७ सालदेखि पार्टीको जिल्ला कमिटीको भूमिकामा क्रियाशील छन् । २०७४ मा प्रदेश सांसद जितेर सुवेदी बागमतीको सामाजिक विकासमन्त्री समेत भइसकेका नेता हुन् ।

तवनकै अर्का नेता कृष्णभक्त पोखरेलको पनि सम्भावित अध्यक्षमा चर्चा छ । वरिष्ठ अधिवक्तासमेत रहेका पोखरेल चितवन जिल्ला एमालेमा जिल्ला सदस्यहुँदै २८ वर्ष आवद्ध भए । सोही क्रममा उनले दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी पनि निभाए ।

नेकपा एमाले र नेकपा माओवादी मिलेर नेकपा भएपछि उनी जिल्ला सचिव भएका थिए । पोखरेल अहिले प्रदेश कमिटी सदस्य हुन् । उनले चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएर प्रतिनिधिसभा सांसद पदको अभ्यास पनि गरिसकेका छन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा चितवन २ र त्यसपछि पनि सोही क्षेत्राबट निर्वाचित सांसद हुन् ।

धादिङ जिल्ला पार्टी अध्यक्ष भूमि त्रिपाठीले पनि प्रदेश अध्यक्षमा आकांक्षा देखाएका छन् । २०३६ सालदेखि राजनीतिमा क्रियाशील त्रिपाठी २०५५ सालदेखि नेकपा एमालेको धादिङ जिल्ला कमिटीमा रहेर काम गरे । २०७१ मा निर्वाचित र २०७८ मा सर्वसम्मत जिल्ला अध्यक्षका रूपमा दोहोरिएका उनी प्रदेश कमिटी सदस्य पनि हुन । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी अत्यधिक मतान्तरले विजयी भएका थिए ।

के भन्छन् चर्चामा रहेका नेता ?

बागमती प्रदेशको अधिवेशनको लागि प्रतिनिधि छनोटको तयारी अन्तिम चरणमा पुग्दा अध्यक्षका दाबेदारका चर्चा गरिएकाहरूले केन्द्र तथा प्रदेश तहमा आफूलाई सहयोग गर्न आन्तरिक लबिङ थालिसकेका छन् । उनीहरूले आफू अध्यक्ष बन्न बलियो कारण प्रस्तुत गर्दै अन्य दाबेदारसँग सहमतिको प्रयासमा लागेका छन् ।

कृष्णप्रसाद दाहालले आफू लामो समयदेखि पार्टीको काम र संसदीय गतिविधिमा सहभागी रहेको कारण पनि यो पटक प्रदेशको नेतृत्वका लागि स्वाभाविक हकदार भएको बताए । त्यसका लागि नेतृत्व र साथीभाइसँग परामर्शमा रहेको उनको भनाइ छ ।

अर्का दाबेदार कैलाश ढुंगेल पनि पार्टीले योग्य ठानेर जिम्मा दिएको अवस्थामा आफू काम गर्न तयार रहेको बताउँछन् । प्रतिनिधि छनोटको दिनससम्म यो विषयमा टुंगोमा पुग्ने उनले बताए । सानुकुमार श्रेष्ठले अहिलेसम्मका जिम्मेवारीले आफू अध्यक्ष भएर प्रदेश हाँक्न तयार रहेको आत्मविश्वास सुनाए ।

हालका प्रदेश अध्यक्ष पाण्डेले आफ्नो उम्मेद्वारीको चर्चालाई स्वाभाविक बताए भने सचिव सुवेदीले अब माथिल्लो पदमा स्वत: दाबी रहेको सुनाए । लामो समय चितवनको राजनीतिमा अब्बल देखिएका पोखरेल तथा धादिङका त्रिपाठीले पनि पार्टीले प्रदेशको जिम्मेवारी दिएको अवस्थामा सफलतापूर्वक काम गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर