परदेशी-२ को निर्माण टीम फिल्म प्रचारका लागि मोफसलमा – Nepal Press

परदेशी-२ को निर्माण टीम फिल्म प्रचारका लागि मोफसलमा

काठमाडौं । आगामी असोज २६ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझी निर्देशित सिनेमा परदेशी २ टीम अहिले मोफसल दौडमा छ ।

निर्माण टीम काठमाडौंका कलेजपछि अहिले नारायणगढ पुगेको छ । त्यहाँका विभिन्न कलेजमा पुगेर निर्माण टीमले दर्शक फकाइरहेको छ ।

सिनेमा युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित छ ।
सिनेमाको कथा बुझाउन नाटक समेत तयार गरिएको छ । त्यही नाटक लिएर काठमाडौंपछि सिनेमाको टिम यतिबेला मोफसल दौडाहामा छ ।

असोज १२ गतेसम्म पश्चिम नेपालका विभिन्न शहरहरुमा सिनेमाको मोफसल टुर जारी रहने निर्माण टीमले जनाएको छ ।

बिहीबार र शुक्रबार नारायणगढका केही कलेजमा नाटक देखाउँदै निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारीले त्यहाँका तन्नेरी विद्यार्थीहरुलाई परिवारसहित सिनेमा हेर्न निम्तो दिएका छन् ।

नाटकलाई विद्यार्थीहरुले रुचाएका छन् । नाटक हेर्दा कति विद्यार्थी भावुक भएको निर्देशक रायमाझीले बताए ।

सिनेमाका निर्देशक रायमाझीले परदेशी र परदेशी २ को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक रहेको दाबी गरेका छन् । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको निर्देशक रायमाझीको भनाई छ ।

अभिनेता प्रकाश सपुतले कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रुपमा जोडिएको जानकारी दिए ।

उनले भने-‘गीतसंगीत गर्नु र सिनेमा गर्नु विल्कुलै फरक रहेको र परदेशी २ मा जोडिँदा चुनौती नै मोलेर सिनेमामा आवद्ध भएपनि निर्देशक नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन् ।’

अभिनेत्री केकी अधिकारीले सिनेमाको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको बताइन् ।

अभिनेता प्रशान्त तामाङ अभिनीत २०७२ सालमा रिलिज भएको सिनेमा ‘परदेशी’ सुपरहिट भएको थियो । यसपटक पनि उनी सिनेमामा विशेष भूमिकामा देखिने छन् ।

नीर शाह, दीलिप रायमाझी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको सिनेमा नारायण रायमाझी र राजेश बंशलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

सिनेमामा गीतकार रमेश विजीको कथा लेखन, मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर