मकवानपुरे साहित्यकार प्रियबन्दना र सहकारीकर्मी योञ्जनलाई जागरूक महिला सम्मान – Nepal Press

मकवानपुरे साहित्यकार प्रियबन्दना र सहकारीकर्मी योञ्जनलाई जागरूक महिला सम्मान

हेटौँडा । मकवानपुरे साहित्यकार शान्ति प्रियबन्दना र सहकारीकर्मी बाटुकुमारी योञ्जनलाई जागरूक महिला सम्मान २०८० प्रदान गरिएको छ ।

सामुदायिक रेडियो, रेडियो मकवानपुरले महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा शनिवार एक कार्यक्रमकाबीच दुई जनालाई जनही नगद १० हजार रुपैयाँसहित जागरूक महिला सम्मान प्रदान गरिएको हो ।

साहित्य र सहकारीको क्षेत्रबाट महिला सशक्तिकरणमा योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्मानपछि साहित्यकार बन्दनाले रेडियोले गर्दै आएको भूमिकाको प्रशंसा गरिन् । अहिले पनि समाजमा महिला हिंसा र थिचोमिचो कायमै रहेको भन्दै उनले महिलालाई गरिने यस्ता सम्मानले अरूलाई पनि हौसला मिल्ने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली लगायतले नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

रेडियोले स्थापनाकालदेखि नै तीजको सन्दर्भमा दुई महिलालाई जागरूक सम्मान प्रदान गर्दै आएको रेडियोका अध्यक्ष पराजुलीले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सहमहामन्त्री डिनाले चाडपर्वमा अनावश्यक खर्च नगर्न अनुरोध गर्दै संस्कृतिको जगेर्ना गर्ने गरी मनाउन आग्रह गरिन् ।

चाडपर्वको नाममा अनावश्यक विकृति भित्रिएको भन्दै उनले चिन्ता समेत व्यक्त गरिन् । कार्यक्रमका सहभागीमध्ये तीन जनालाई लक्की ज्वेलर्सले गोलाप्रथा मार्फत सुनचाँदीको गहना समेत प्रदान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *