प्रेममा छिन् गायिका रचना रिमाल, तर कोसँग ? – Nepal Press

प्रेममा छिन् गायिका रचना रिमाल, तर कोसँग ?

रचना भन्छिन्- छ्या.. होइन हौ....

काठमाडौं । गायिका रचना रिमाल र क्रिकेटर ललितनारायण राजवंशीको निकटताले केही समयदेखि टिकटकमा सरगर्मी बढाइरहेको छ । उनीहरुलाई धेरैले प्रेमी-प्रेमिका ठान्न थालेका छन् ।

रचना बारम्बार ललितसँग टिकटक बनाएर लभ इमोजीसहित पोष्ट गरिरहन्छिन् । यस्ता टिकटकमा धेरैले उनीहरुलाई ‘ब्यूटिफुल कपल’ भन्दै बधाई दिएको भेटिन्छ । कतिपय टिकटक प्रयोगकर्ताले त नेपाली क्रिकेटरहरुको ‘जोडी’ मा उनीहरुलाई पनि समावेश गरेर भिडिओ बनाउन भ्याइसकेका छन् । क्रिकेटका फ्यानहरुले रचनालाई ‘भाउजू’ भन्न थालेका छन् ।

यसरी प्रेम चर्चा छ्याप्छ्याप्ती भइसक्दा पनि रचना र ललित दुवैले आफूहरुको सम्बन्धबारे मुख खोलेका छैनन् । न कमेन्टहरुमा कसैलाई जवाफ दिएका छन् ।

संस्कृतमा भनाइ छ- ‘मौनम् स्वीकृति लक्षणम्’ अर्थात् मौनता नै स्वीकृतिको संकेत हो । के रचना र ललितले मौन बसेर आफूहरुको सम्बन्धबारे स्वीकारोक्ति व्यक्त गरेका हुन् ?

रचनासँग निकटस्थ व्यक्तिहरु भने उनीहरु प्रेममा रहेको विश्वास गर्दैनन् । रचनाले टिकटकमा भ्यूज र पपुलारिटीका लागि मात्रै ललितसँगको भिडिओ पोस्ट गर्ने गरेको उनीहरुको अनुमान छ ।

रचनासँग निकट एक गायकले भने, ‘रचना केही समयदेखि प्रेममा छिन् तर, ललितसँग होइन ।’

ती गायकका अनुसार रचना करिब दुई वर्षदेखि विष्ट थरका एक युवकसँग अफेयरमा छिन् । ती युवक पोडकास्ट चलाउँछन् र स्टेज शोहरु होस्ट पनि गर्छन् । उनी सेलिब्रिटी फिगर भने होइनन् ।

‘मलाई थाहा भएसम्म उनीहरुको प्रेममा दरार आएको छैन । ललितसँगको प्रेम टिकटककै खपतका लागि मात्र हुन सक्छ’, उनले भने ।

रचना भन्छिन्, ‘भिडिओ हाल्दैमा प्रेम हुन्छ त ?’

नेपाल प्रेससँगको कुराकानीमा रचनाले ललितसँग आफू प्रेममा नरहेको स्पष्ट पारिन् । टिकटक भिडिओ बनाउँदैमा प्रेमी भनेर बुझ्न नहुने उनको भनाइ छ ।

ललितसँगको प्रेमबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘छ्या… होइन हौ… हाम्रो त्यस्तो केही छैन । भिडिओ हाल्दैमा प्रेम हुन्छ त ?’

कहिलेकाहीं भेटेको बेला धेरैवटा भिडिओ बनाएर टाइम-टाइममा अपलोड गर्ने गरेको उनको भनाइ छ । आफू नेपाली क्रिकेटरमध्ये ललित र भीम सार्कीसँग बढी नजिक रहेको पनि रचनाले बताइन् ।

‘म क्रिकेटको फ्यान हुँ र सबै खेलाडीलाई सपोर्ट गर्छु । ललित हाम्रो पूर्वतिरकै हो नि त ! एउटा कार्यक्रममा भेट भएको थियो । त्यसपछि हामी बोल्न थाल्यौं र बिस्तारै साथी भयौं’, उनले भनिन् ।

रचनाले साथीका रुपमा ललित राम्रो लागे पनि प्रेम रहने सम्भावना नरहेको बताइन् । उनले टिकटकमा आउने कमेन्टहरुलाई सहज रुपमा लिएकी छन् । रचना भन्छिन्, ‘दर्शकले मन पराउनु राम्रो कुरा हो नि ! तर, उहाँहरुले लेखेको कुरा रियल चाहिँ होइन ।’

तपाईं अरु कसैसँग प्रेममा हुनुहुन्छ भन्ने प्रश्नमा उनले खुलेर जवाफ दिइनन् । आधा हाँस्दै, आधा लजाउँदै भनिन्, ‘छैन हौ ….।’

तपाईं सिंगल नै हो त ?

‘अँ…हो… त्यही भनेर लेख्नु न !’

खेल र खेलाडीलाई अत्यधिक माया गर्ने गायिकाको रुपमा चिनिन्छिन् रचना । उनी विशेषगरी नेपालको फुटबल र क्रिकेट म्याच हुँदा टीमलाई समर्थन गर्न सकेसम्म मैदानमै पुग्ने गर्छिन् । यसले उनलाई खेलप्रेमीहरुबीच निकै लोकप्रिय बनाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *