‘नाङ्गो गाउँ’ गाउँमा के छ ? यसो भन्छन् दयाहाङ र मिरुना – Nepal Press

‘नाङ्गो गाउँ’ गाउँमा के छ ? यसो भन्छन् दयाहाङ र मिरुना

काठमाडौं । अभिनेता दयाहाङ राईले आफ्नो नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेको बताएका छन् ।

चलचित्र हेरेर दर्शकले अहिलेको अवस्था आउनुमा जनताको पनि दोष रहेछ भनेर मनन गर्न सक्ने उनको भनाइ छ । राईले अहिलेको समाजको राजनीतिक चेतना नै सिनेमाको मुख्य विषय भएको पनि बताए ।

उनी भन्छन्, ‘अहिलेको राजनीतिक अवस्थाभित्र हामी कहाँ छौँ, कसरी ग्रसित छौँ, के सोच्छौँ । हाम्रो नेतृत्वको दिमाग कस्तो छ, उनीहरूको सोच कस्तो हुन्छ त्यही विषयमा यो सिनेमा हो । एउटा गाउँमार्फत अहिलेको अवस्था देखाएका छौँ । जनताको आक्रोश, अपेक्षा र हामीले भोगिरहेको समाजको एक अंश हो ।’

निर्देशक दीपेन्द्र लामाको भनाइमा नेतामाथि मात्रै होइन अब प्रश्न जनतामाथि पनि उठाउनु पर्ने बेला भएको छ ।

उनी भन्छन्, ‘गलत नेता जितेर आएको जनताकै कारण हो । असल नेता चयन गर्ने जिम्मेवारी जनता पनि हो । इमानदार नेता मात्रै होइन जनता पनि हुनुपर्छ ।’

नेपाली राजनीति उत्तरदायी नहुनुमा जनताको पनि दोष रहेकोमा दयाहाङ पनि सहमत छन् । पटक पटक खराब नेता छनोट गर्नु जनताको पनि गल्ती भएको उनको ठम्याइ छ ।

‘हामी नेता खराब भए भनेर आलोचना गर्छौँ । निर्वाचनमा तिनै आलोचना गरेका नेतालाई जिताउँछौँ,’ दयाहाङ भन्छन्, ‘त्यसैले नेताले देश बिगारे भनेर भनिरहँदा सायद यसमा हामी पनि त्यसमा दोषी छौँ कि भन्ने हाम्रो बुझाइ छ । यही नै सिनेमाको कथा हो ।’

‘नाङ्गो गाउँ’ हेरेर अहिलेको अवस्था आउनुमा जनताको पनि दोष रहेछ भनेर मनन गरे त्यही नै सिनेमाको सफलता हुने उनको बुझाइ छ ।

‘सायद आर्टिस्टले यसै गरी नै सामाजिक परिवर्तनमा भूमिका खेल्ने होला’, उनी भन्छन्, ‘कलाकारले गर्न सक्ने भनेको यति नै हो । कलाकारले समाज परिवर्तन गर्ने होइन प्रश्न उठाउने मात्रै हो भन्ने लाग्छ ।’

नायिका मिरुना मगरले राजनीतिबारे आफूलाई पर्याप्त जानकारी नभए पनि बुझ्ने प्रयास गरेको बताइन् । सामाजिक सञ्जालले नेपाली राजनीति बुझ्न आफूलाई धेरै सहयोग गरेको उनको भनाइ छ ।

दीपेन्द्रको लेखन तथा निर्देशन रहेको सिनेमामा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । सँगै कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्रसिंह झालगायत कलाकारको मुख्य भूमिका रहेको छ । ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते रिलिज हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *