नाम परिमार्जन गर्दा ‘एक भगवत गीता’ का पोस्टर र फ्लेक्स नाश, नयाँ बनाउन चटारो – Nepal Press

नाम परिमार्जन गर्दा ‘एक भगवत गीता’ का पोस्टर र फ्लेक्स नाश, नयाँ बनाउन चटारो

सुनिल थापा भन्छन्- चित्त दुःखेको छ, तर सबैको कुरा सुन्नैपर्‍यो

काठमाडौं । प्रदर्शोन्मुख चलचित्र ‘एक भगवत गीता’ को परिमार्जन गरी ‘एक भागवत र एक गीता (सामाजिक कथा) राखिएसँगै निर्माण पक्षलाई पोस्टर छपाइको चटारो थपिएको छ । यसअघि छापिएका पोस्टर टाँस्न नमिल्ने भएपछि नयाँ पोस्टर छाप्नुपरेको हो ।

आइतबार चलचित्र विकास बोर्डमा बसेको सर्वपक्षीय बैठकले ‘एक भगवत गीता’ नाम परिवर्तन गरी ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ नाम राख्ने सहमति जुटाएको थियो । सो सहमतिअनुसार निर्माण पक्षले चलचित्रको पोस्टर आजै परिवर्तन गरिसकेको छ । पुरानै पोस्टरमा नयाँ नाम राखेर सार्वजनिक गरिएको हो ।

निर्माता सुनिलकुमार थापाका अनुसार यसअघि चलचित्रका ८ हजार पोस्टर छापिएका थिए । ती पोस्टर अब थन्किने भएका छन् ।

‘८ हजार पोस्टर र १०० वटा फ्लेक्स छापेका थियौं । ब्यानर यताउता गरेर १०-१५ लाख खर्च भइसकेको छ । अब फेरि त्यति नै खर्च गर्नुपर्ने भयो’, थापाले नेपाल प्रेससँग भने ।

पुराना पोस्टर लागेका ठाउँहरुमा फेरि नयाँ पोस्टर बनाएर पठाउन लागिएको उनले बताए । ‘सम्भव भएका ठाउँहरुमा हामी नयाँ पोस्टर पठाउनेछौं । सम्भव नभएको ठाउँमा त कसरी पुर्‍याउनु र ? हामीसँग समय पनि कम छ, रिलिज डेट आइसक्यो’, उनले भने ।

पुरानो र नयाँ पोस्टरले खासै फरक नपर्ने उनको विश्वास छ । ‘त्यस्तो केही ठूलो परिवर्तन भएको छैन, थोरै परिमार्जन त भएको हो । दर्शकले बुझिहाल्नुहुन्छ’, उनले भने ।

युट्युबमा सार्वजनिक भएका ट्रेलर, टिजर र गीतमा समावेश भएको नाम भने पुरानै रहने सहमति भएको थापाले बताए । ‘परिवर्तन गर्न नमिल्ने ठाउँमा त यति छोटो समयमा कसरी गर्नु र ? जहाँ जहाँ गर्न सकिन्छ, त्यहाँ त्यहाँ हामी गर्छौं । बाँकी त्यतिकै रहनेछ’, उनले थपे ।

सर्वपक्षीय छलफलले गरेको निर्णयमा आफू सन्तुष्ट नरहेको थापाले संकेत गरे । ‘असन्तुष्टि त भइहाल्छ नि ! त्यत्रो खर्च गरेर चलचित्र बनायौं । अहिले दोहोरो खर्च हुने भएको छ । कहीं न कहीं चित्त त दुःखिहाल्छ । विपक्षीको कुरा पनि सुन्नैपर्‍यो । हिन्दू धर्ममा आस्था पनि राख्नैप¥यो । हामीले गर्दा कसैलाई अभर नपरोस्, त्यही हो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *