चिकित्सा शिक्षा आयोग उपाध्यक्षको रेसमा ९ जना – Nepal Press

चिकित्सा शिक्षा आयोग उपाध्यक्षको रेसमा ९ जना

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि नौ जनाको आवेदन परेको छ । आवेदन दिनेमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा.प्रवीण मिश्र, प्रा.डा.मनेनप्रसाद गोर्खाली, डा.विधाननिधि पौडेल, प्रा.डा.श्रीकृष्ण गिरी, प्रा.डा.संगितासिंह भण्डारी र प्रा.डा.सुमनकुमार श्रेष्ठ रहेका छन् ।

क्यान्सर रोग विशेषज्ञसमेत रहेका झा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष भइसकेका छन् । झा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मधेशी समुदायभित्र खुला केन्द्रीय सदस्यको उम्मेदवार थिए । दन्तरोग विशेषज्ञ रहेकी मिश्र पूर्व स्वास्थ्य सचिवसमेत हुन् । भण्डारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भइसकेकी छन् । आयोगका वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले कार्यकाल दोहोर्‍याउन चाहेर आवेदन दिएका छन् भने निजामती कर्मचारी अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले पनि उपाध्यक्षका लागि आवेदन दिएका छन् ।

उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सूचना प्रकाशित गरेको छ । उम्मेदवारहरुले सोचपत्रको प्रस्तुतिकरण भदौ १५ गते ३ बजेभित्र समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा पेश गर्न भनिएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले साउन २६ गते सूचना प्रकाशित गरेको थियो । दरखास्त पेश गर्ने उम्मेदवारमध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली समितिले प्रकाशित गरेको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार उपाध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । उपाध्यक्ष आयोगको पूरा समय काम गर्ने प्रमुख कार्यकारी पद हो ।

उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न लोक सेवा आयोगका अध्यक्ष माधप्रसाद रेग्मीको संयोजकत्वमा सरकारले गठन गरेको सिफारिस समितिले नाम छनौट गरेको हो । समितिको सदस्यमा मुख्य वा मुख्य सचिवले तोकेको मन्त्रिपरिषद्को कार्यालयको सचिव, चिकित्सा क्षेत्रका प्राध्यापकमध्ये सरकारले तोकेका एक जना महिला रहेका छन् । सिफारिस समितिले आफ्नो काम सुरु गरेको मितिले ३० दिनभित्र उपाध्यक्ष पदमा नियुक्तिका लागि सरकार समक्ष तीन जनाको नाम सिफारिस गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

उपाध्यक्ष नियुक्तिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्तको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्रापत् गरी चिकित्साशास्त्रको कुनै पनी विधामा कम्तीमा २० वर्षको अनुभव भएको वा चिकित्सा शिक्षको क्षेत्रमा १० वर्षको अनुवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्नेछ ।

शिक्षण संस्थाका बहालवाला वा अवकाश प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक वा चिकित्सा शिक्षा विज्ञको रुपमा ख्याति प्राप्त गरेको, सम्बद्ध क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप र कौशल प्रदर्शन गरेको, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, चिकित्सा शिक्षाको क्षेत्रमा निजी स्वार्थ नभएको, उच्च नैतिक चरित्र कायम गरेको हुनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर