कमल थापाको आत्मसमीक्षा : ‘राजा’ लाई एकोहोरो आरोपित गर्नु जीवनकै ठूलो भूल (भिडिओ) – Nepal Press

कमल थापाको आत्मसमीक्षा : ‘राजा’ लाई एकोहोरो आरोपित गर्नु जीवनकै ठूलो भूल (भिडिओ)

‘भविष्यमा मन्त्री र उपप्रधानमन्त्री बन्दिनँ, प्रधानमन्त्रीको अवसर पाउन कठिन छ’

‘आजको दिनमा तपाईँ राजावादी कि गणतन्त्रवादी ?’ 

राष्ट्रिय झन्डा र पार्टीको झण्डाबीच कुर्सीमा अडेस लागेर आफ्नो ब्राण्डेड जुँगामुनि हल्का मुस्कुराइरहेका रहेका कमल थापालाई सोधिएको यो पहिलो प्रश्न थियो । उत्तर के देलान् भन्ने खासै कौतूहल भने थिएन, किनकि उनले गणतन्त्रबाट राजतन्त्रको एजेन्डामा फर्किन ब्याक गियर थिचिसकेका छन् । यद्यपि, उनले ‘स्ट्रेट फरवार्ड’ जवाफ दिएनन् ।

मुस्कान पन्छाएर चेहरामा गम्भीरता ल्याउँदै थापाले यसरी भूमिका बाँधे :

आफ्नो राजनीतिक चेतनाको विकास भएसँगै मैले नेपालका लागि राजसंस्था आवश्यक छ भन्ने मान्यतामा विश्वास गर्दै आएको हुँ । अनेक राजनीतिक आरोह–अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छु । जतिसुकै कठिन परिस्थितिका बाबजुद नेपालमा राजसंस्थाको आवश्यकता छ भन्ने मान्यताबाट हलचल भएको छुइनँ ।

२०७८ साल फागुन ७ गतेपछि हामीले राजसंस्थाप्रतिको मान्यता कायम राख्दाराख्दै नेपालमा राजसंस्था पुनर्स्थापनालाई पार्टीको एजेन्डा बनाएनौँ । आजका दिनसम्म पनि राप्रपा नेपालको एजेन्डामा राजसंस्था पुनस्र्थापना छैन । तर, अब हामी पार्टीले लिएको नीतिमा पुनर्विचार गर्दैछौं । देशको धरातलीय अवस्था पार्टी कार्यकर्ताको चाहना र मेरो आफ्नो अनुभवलाई दृष्टिगत गर्दै पार्टीको केन्द्रीय समिति बैठकले यो विषयलाई गम्भीरताका साथ छलफल गर्छ र राजसंस्थाको पुनर्स्थापनालाई कार्यनीति नबनाउने विगतको नीतिमाथि समीक्षा गरेर उपयुक्त निर्णय गर्ने अवस्थामा हामी पुगेका छौँ ।

भनेपछि, अहिले गणतन्त्रबाट राजतन्त्रको एजेन्डामा फर्किने संक्रमणकालमा हुनुहुन्छ ?

त्यस्तो पनि होइन । आधिकारिक रुपमा भन्नुपर्दा अहिले पनि हाम्रो घोषणापत्रमा प्रष्ट रुपमा नेपालको भूराजनीतिक अवस्था र धार्मिक सामाजिक परिवेशमा राजसंस्थासहितको प्रजातन्त्र उपयुक्त हुन्छ भनेर नै लेखिएको छ । तर राप्रपा नेपालले अहिले यसलाई कार्यनीति नबनाएको मात्र हो । अब चाहिँ यसमा पुनर्विचार गर्छौँ ।

यति छिटो पुनर्विचार गर्नुपर्ने के आइपर्‍यो ? यो त साह्रै अस्थिर राजनीति भएन ?

यो राम्रो प्रश्न सोध्नुभयो । यसका तीन वटा कारण छन् । पहिलो त, मेरो आफ्नो रियलाइजेसन नै हो । ०६३ सालपछि राजासहितको प्रजातन्त्रको अवधारणालाई मैले नै अघि बढाइरहेको थिएँ र यही नै मेरो लिगेसी थियो । यो डेढ वर्षको अनुभवको आधारमा, म आत्मालोचनासहित भनिराखेको छु, राजनीतिक जीवनको उत्तरार्द्धमा मैले आफ्नो लिगेसीलाई नै निरन्तरता दिनु उपयुक्त हुन्छ भन्ने रियलाइजेसन मलाई भएको छ ।

दोस्रो, हामीले राजसंस्था पुनर्स्थापनालाई कार्यनीति नबनाएको स्थितिमा देशमा तात्त्विक परिवर्तनको आशा बाँकी थियो । तर, त्यस्तो कुनै पनि संकेत देखिएन । देशको अवस्था झन्–झन् बिग्रिएको छ । यहाँबाट सुधारका लागि पनि हामीले आफ्नो कार्यनीतिमा पुनर्विचार गर्नुपर्ने भयो ।

तेस्रो, मैले यो डेढ वर्षको अवधिमा राजसंस्था पुनर्स्थापनालाई कार्यनीतिक एजेन्डा नबनाउँदा कतैबाट पनि सकारात्मक प्रतिक्रिया पाइनँ । गणतन्त्र पक्षधरले मलाई कुनै प्रोत्साहन दिएनन् । एक जना पनि गणतन्त्रवादी राप्रपा नेपालमा आकर्षित भएनन् । बरु धेरै राजसंस्था पक्षधर साथीहरू मसित दुखी, असन्तुष्ट र आक्रोशित भए । मैले धेरैको चित्त दुखाएँ । पार्टीभित्र बहुसंख्यकको धारणा पनि पुनर्विचार गर्नुपर्छ भन्ने भएपछि हामी यो बिन्दुमा पुगेका हौँ ।

पार्टीभित्रको चुनाव हारेपछि पूर्व राजालाई धाराप्रवाह गाली गरेकोमा अहिले आत्मग्लानि भएको हो ?

मैले त्यस बेला जे कुराहरू भनेँ, भाषा–शब्द ठिक भयो–भएन आफ्नो ठाउँमा छ । तर, मैले ज्यान हत्केलामा राखेर जुन राजसंस्थाको परिकल्पना गरेको थिएँ, त्यो एउटा आदर्श र सबैको साझा संस्था हो । त्यसले राजनीतिमा हस्तक्षेप गर्दैन भन्ने थियो । तर त्यो मेरो मान्यतामा आघात पुगेको महसुस मैले गरेकै हो । त्यसको प्रतिक्रिया स्वरुप अभिव्यक्तिहरू दिन पुगेँ ।

अहिले फर्केर हेर्दा वास्तवमा राजा भनेको राजनीतिक दल होइन, नेता होइन । जसले आफूमाथि लागेका आरोपहरू, आलोचनाहरूको जवाफ दिन सक्ने र खण्डन गर्न सक्ने स्थिति रहँदैन, त्यस्तो व्यक्ति वा संस्थाविरुद्ध मेरो प्रतिक्रिया ठिक भएन भन्नेमा आज सहमत छु । कुरा ठीक भए पनि शैली र माध्यम ठिक भएन ।

भनेपछि क्षणिक आवेश र उत्तेजनामा नै त्यसरी अभिव्यक्ति दिनुभएको थियो ?

कसैले पछाडिबाट छुरा हान्यो भने मुखबाट स्वतः ऐया निस्किन्छ । तर, मेरो प्रस्तुति ठीक भएन भन्ने म आफैँले महसुस गरेको छु । यसमा आत्मालोचना छ ।

छुरा चाहिँ हानिएकै हो ?

अहिले त्यता धेरै चर्चा गरिराख्नु उपयुक्त ठान्दिनँ ।

तपाईँले यु–टर्न लिनुका पछाडि पूर्व राजासँग भेटवार्ता भएर कुनै समझदारीमा पुग्नुभएको हो कि ?

राजासँग भेटघाट हुने–नहुने आफ्नो ठाउँमा छ । म त्यसलाई महत्त्व दिन चाहिन्न । विनम्रतापूर्वक मनको कुरा भनिराखेको छु, यो मेरो अन्तरात्माको रियलाइजेसन हो । कमल थापा अस्थिर र चञ्चल छ भन्ने पर्छ होला । तर, कमसेकम राजनीतिक जीवनको उत्तरार्द्धमा आफ्नो लिगेसीको निरन्तरता चाहन्छु ।

तपाईँ एउटा हिन्दूत्वको वकालत गर्ने नेता पनि हो । तर, हिन्दू धर्मको पवित्र ग्रन्थ गीता छोएर खाएको कसम तोड्दै राप्रपा फोर्नुभयो । त्यसमा चाहिँ आत्मालोचना छ कि छैन ?

प्राविधिक रूपमा मैले आफ्नो बचनबद्धतालाई तोडेको छैन भन्नेमा म विश्वस्त छु । तर प्रकारान्तरले मेरा सहयोगी र शुभचिन्तकमा नकारात्मक छाप पर्न गएको छ । गीता छोएर खाएको कसमको मूलभूत मर्मलाई मैले जोगाएको छु भन्ने लाग्छ, तर मान्छेले यसरी सोचेनन् । मैले जतिसुकै बचाउ गरे पनि मेरो कुरालाई बहुसंख्यक मान्छेले पत्याएनन् । यो पनि मैले महसुस गरेको छु ।

हिन्दूवादी भएर गीताको कसम त तोड्नुभयो भने तपाईँको राजनीतिमा अब कसले विश्वास गर्ने ?

गीताको कसम तोडेँ भन्ने पटक्कै लाग्दैन । धेरै सोचविचार गरेर कसम खाएको हुँ । कतै असर पर्छ कि पर्दैन भनेर विचार पुर्‍याएर राप्रपाबाट अलग भएको छु । पार्टी फुटाउन चाहेको भए त ४० प्रतिशतभन्दा बढी सदस्य लिएर कानून बमोजिम नै गर्न सक्ने हैसियतमा थिएँ ।

मैले कठिन बाटो रोजेको हुँ । एक्लै निस्किएको हुँ । मसित मेरो आफ्नै छोरी पनि आइनन् । भतिजा अभिषेक थापा राप्रपाको निर्वाचित केन्द्रीय हो । उसलाई पनि मसित आऊ भनेर ल्याइनँ । एक महिनापछि रियलाइज गरेछन् र आफैँ आएछन् । म त एक्लै गएको हो नि । यसलाई पार्टी फुटाएको भन्न मिल्दैन ।

म गीतामा बहुतै आस्था राख्ने व्यक्ति हुँ । गीताको नियमित पाठ र अध्ययन गर्छु । गीताका धेरै श्लोक कण्ठाग्र छन् । शब्द शब्द र भावनाबाट अभिप्रेरित छु । गीतामा कृष्णले अर्जुनलाई प्रेरित गर्ने क्रममा अन्याय–अत्याचारसँग सम्झौता गर्नु सबैभन्दा ठूलो अपराध हो भन्नुभएको छ । अन्तरात्माको आवाज सुन्न प्रेरणा दिनुभएको छ । म त्यो भावनाबाट प्रेरित छु ।

हो, मैले धेरै साथीहरूलाई चोट दिएँ । तर, म पनि साधारण चोटले ३० वर्ष काम गरेको, रगत पसिना बगाएको पार्टीबाट अलग भएको होइन नि ।

निर्मल निवासलाई आरोपित गर्ने, राजसंस्थाको एजेन्डा छोड्ने र राप्रपा फुटाउने कार्यले तपाईँको व्यक्तिगत लोकप्रियतामा कति ह्रास आएको महसुस भएको छ ?

ठूलो ह्रास आयो । कैयन् मानिसहरू दुखी छन् मसित । मेरो राजनीतिक यात्रामा धेरै नकारात्मक प्रभाव परेको छ । अब फेरि यसलाई सुधार र ‘रिपेयर’ गरेर अगाडि बढ्ने प्रयासमा छु । मसित अझै समय छ । विगतका त्रुटि–कमजोरीबाट पाठ सिकेर पार्टीका कार्यकर्ता–शुभचिन्तक र आमजनताको मन जित्न सक्छु भन्ने लाग्छ ।

राप्रपा छोडेकोमा पछुतो छ कि छैन ?

त्यो त छैन । म बस्न सक्ने अवस्था नै थिएन ।

तर, प्रजातान्त्रिक तवरबाट भएको निर्वाचनको परिणाम त तपाईँले स्वीकार्नुपर्थ्यो नि ? हारेपछि मैदान छोडेर भाग्न मिल्छ ?

यसमा पनि सत्यता छैन । मैले तीन महिना त पर्खेकै हो नि । महाधिवेशनको दुई महिनापछि अध्यक्ष राजेन्द्र लिङ्देन मेरो निवासमै आउनु आउनुभो । भावनात्मकरुमा प्रस्तुत हुनुभयो । म तपाईँलाई सहयोग गर्छु भनेँ, तर उहाँले मेरो सानो माग सुन्नुभएन ।

राजसंस्थालाई नै आदर्श मानेको पार्टीले राजामाथि छानबिन गर्ने तपाईँको माग सुनवाइ गर्न कसरी सम्भव थियो र ?

मैले राजामाथि छानबिन गर्ने भनेको थिइनँ । गलत भाष्य बनाएर म विरुद्ध दुष्प्रचार गरिएको मात्र हो ।

खैर, यो पुरानो कुरा भयो । अब राप्रपा नेपाललाई कसरी अगाडि बढाउनुहुन्छ ? चुनावमा त तपाईँको पार्टीले अस्तित्व जोगाउन सकेन ?
हामी सडक आन्दोलनको तयारीमा छौँ ।

के विषयमा आन्दोलन गर्ने ?

संघीय गणतन्त्रको नाममा कायम भएको भ्रष्ट व्यवस्था अन्त्य गर्नुपर्छ भन्ने हाम्रो मुख्य एजेन्डा हो ।

भनेको गणतन्त्रको अन्त्य हुनुपर्‍यो ?

अहिलेलाई मैले भनेको शब्द मात्रै उद्धृत गर्नुस, बाँकी केन्द्रीय समिति बैठकपछि खुलेर भन्न सकिन्छ ।

तपाईँले राप्रपासँग सहकार्यको कुरा पनि गर्न थाल्नुभएको छ । त्यस्तो सम्भावना पनि छ र ?

एकदम सम्भावना छ । नेतृत्वको समस्या छैन । राजेन्द्र लिङ्देनलाई नेता मानेर जान तयार छु । आवश्यक परे पार्टी एकता गर्न पनि तयार छु । तर, हाम्रो बटम लाइन भनेको जनसंघर्ष र जनआन्दोलनबाट आफ्ना मान्यता स्थापित गर्ने संकल्प हो । राप्रपाले सरकारमा जाने सोच त्याग्नुपर्‍यो । सडकमा आउनुपर्‍यो ।

त्यसो गरे राप्रपामा पार्टी मर्ज गराउन पनि तयार हुनुहुन्छ ?

केही फरक पर्दैन ।

एकताका लागि पहल अघि बढाउनुहुन्छ त ?

मैले सार्वजनिक रूपमा आह्वान गरेको छु । उहाँहरूले कुन रूपमा लिनुहुन्छ थाहा छैन ।

तपाईँले राप्रपा फेरि सरकारमा जाला र आफ्ना अलिअलि भएका नेता–कार्यकर्ता पनि त्यतै सोहोरिएलान् भन्ने त्राशले एकताको पासा फ्याँक्नुभएको भन्दैछन् नि राप्रपाका नेताहरू ?

यो मेरो इमानदारीपूर्ण प्रयास हो । म राजनीतिक जीवनको उत्तरार्द्धमा पुगेको छु । मलाई कुनै छलकपट गर्नु छैन ।

तपाईँ इमानको भन्दा अवसरवादीताको राजनीति गर्नुहुन्छ भन्ने त अस्तिको संसदीय चुनावमा पनि देखियो । आफू एउटा पार्टीको अध्यक्ष हुँदाहुँदै अर्को पार्टीको चुनाव चिन्हबाट चुनाव लड्नुभयो । यो निर्णय कति पछुताउनुभएको छ ?

यही कुरा अरू पार्टीका नेताहरूले गर्दा सहज र प्रजातान्त्रिक अभ्यास मानिएको छ । बहुदलीय संस्कार भनिएको छ । मेरो हकमा मात्रै प्रश्न उठाउनु उचित होइन ।

तर, अध्यक्षले नै अर्को पार्टीको चुनाव चिन्हबाट लड्दा पार्टी पंङ्तिमा कस्तो सन्देश गयो होला ?

पक्कै राम्रो सन्देश गएन । यसले धेरै ठूलो क्षति भयो । तर, यो नितान्त चुनाव जित्ने उद्देश्यले लिइएको निर्णय थियो । म एमाले अध्यक्ष ओलीलाई धन्यवाद नै दिन चाहन्छु । मेरै चुनाव चिन्हबाट लड्ने चाहनालाई सम्मान गरेको भए अझै धेरै आभारी हुन्थेँ ।

उहाँले तपाईँ जसरी पनि संसदमा आउनुपर्छ, चुनाव चिन्ह भनेको चुनावी प्रयोजन मात्र हो भनेर कन्भिन्स गर्नुभयो । ‘गाई’ भएको भए कर गर्दैनथेँ, ‘तीर’ कसैले चिन्दा पनि चिन्दैन, ‘सूर्य’बाट लड्नुस् भनेर अनुरोध गर्नुभएपछि मैले नाइँ भन्न सकिनँ । दुर्भाग्यवश हारियो । राजनीतिक यात्रामा यस्ता गल्ती कमजोरी हुन्छन् ।

अब फेरि अर्को चुनावसम्ममा तपाईँको राजनीतिमा नयाँ ट्वीस्ट आउने भयो होइन ?

मैले चुनावलाई केन्द्रबिन्दुमा राखेकै छैन । अर्को चुनाव लड्छु कि लड्दिन पनि ठेगान छैन । मेरो सत्ताप्रतिको मोह निकै घटिसकेको छ । यदि चुनाव लडेँ भने पनि सरकारमा जाने एक प्रतिशत पनि सोचाई छैन ।

आज यस्तो कुरा गर्दा मलाई ढोँगी भन्लान्, तर इमानदारीपूर्वक भन्दै छु । म भविष्यमा मन्त्री, उपप्रधानमन्त्री बन्दिनँ । म पदीय राजनीतिबाट अघाइसकेँ । पर्याप्त भइसक्या छ । मलाई त अब पार्टीमा पनि नेतृत्वदायी भूमिका चाहिएको छैन । यही अध्यक्ष पद पनि बोझ भइरहेको छ । राजेन्द्र लिङ्देन यदि महाधिवेशनको लाइनमा अडेर आन्दोलनमा आउनुहुन्छ भने उहाँलाई अध्यक्ष मानेर वरिष्ठ नेताका रूपमा आरामसँग सहयोग गर्न तयार छु ।

भविष्यमा कुनै लोटरी परेर प्रधानमन्त्री बन्ने मौका जुर्‍यो भने ?

प्रधानमन्त्री हुने स्थिति सहज बन्छ जस्तो लाग्दैन । त्यो स्थिति आएछ भने बेग्लै कुरा हो । हाम्रा मान्यताहरू स्थापित हुन सम्भव देखियो भने प्रधानमन्त्रीका लागि तयार हुन सकिएला । होइन भने मलाई अब सत्ताकेन्द्रीत राजनीति गर्नु नै छैन । हाम्रो पार्टीले चुनाव लड्छ, सरकारमा जाँदैन ।

अब मेरो प्राथमिकता आन्दोलन हो । एक–डेढ वर्ष तयारी गर्छु । मेची–महाकाली घुम्छु । संगठन निर्माण गर्छु र सबैलाई समेटेर निर्णायक आन्दोलनमा होमिन्छु ।

तपाईँको पार्टीसँग भएको झिनो संगठनले के निर्णायक आन्दोलन होला र ?

नभए मेरो के जान्छ ? अहिले के छ र के जान्छ ? मैले गुमाउने केही पनि छैन । इमानदारीपूर्वक प्रयास गर्ने हो । सफल भएँ भने म जिन्दगीभर मात्र होइन, मरेपछि पनि जनताले सम्झिराख्छन् । सम्मान गर्छन् । असफल भए पनि गुमाउने कुरा केही छैन ।

यो उमेरमा नयाँ पार्टी खोलेर शून्यबाट सुरु गर्नुपर्दा कत्तिको हैरानी भएको छ ?

त्यस्तो विल्कुल छैन । म अहिले पनि उत्तिकै ऊर्जावान् छु, जस्तो पहिले थिएँ । शारीरिक र मानसिकरुपमा एकदमै फिट छु । अझै पनि धेरै गर्न सक्छु भन्ने छ ।

पार्टी चलाउन कत्तिको धौधौ परेको छ ? पार्टीको आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ ?

कठिनाइ त छ । तर, हामी सबैले आ–आफ्नो क्षमताअनुसार पार्टीमा योगदान गरिरहेका छौँ । म आफैँले महिनाको न्यूनतम ५० हजार रुपैयाँ पार्टीलाई दिन्छु । पार्टीमा ३० हजारसम्म दिने पदाधिकारी छन् । अनि, हरेक केन्द्रीय सदस्यले महिनाको ५ सय रुपैयाँ अनिवार्य लेवि तिर्नुपर्छ । तीन महिना लगातार लेवी बुझाएन भने केन्द्रीय सदस्य पद नै गुम्ने प्रावधान बनाइएको छ । यसरी नै चलिराखेको छ ।

एकाएक राष्ट्रिय राजनीतिको मेनस्ट्रिमबाट बाहिर हुँदा पट्यार लागेको छैन ?

यसको सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । चुनाव जितेको भए मैले आफ्ना विचार र मान्यताहरू संसदमा राख्न सक्ने थिएँ । त्यो अवसर गुमेको छ । सकारात्मक कोणबाट हेर्दा मैले अर्को आफ्नो पोलिटिकल लिगेसी सुदृढ गर्ने अवसर पाएको छु भन्ने पनि लाग्छ ।

०००

राप्रपाबाट बहिर्गमनसँग कमल थापा राष्ट्रिय राजनीतिको मूलधारबाट बाहिर हुत्तिएका छन् । उनको दल राप्रपा नेपाल अस्तित्व संकटमा छ । गएको चुनावमा पार्टीले शर्मनाक नतिजा ल्यायो । थापा स्वयम्ले एमालेको चुनाव चिन्हबाट लडेर पनि जित्न सकेनन् । आफ्नै पूर्ववर्ती पार्टीका ‘चेला’ दीपक सिंहबाट उनी पराजित भए, त्यसको बेग्लै चोट छ ।

हिङ नभए पनि हिङ बाँधेको टालो भने कमल थापासँग अवश्य छ । नेपाली राजनीतिमा उनी आफैँमा एउटा ब्रान्ड हुन् । सञ्चारमाध्यमहरूमा अहिले पनि डिमान्डेड नै छन् । उनका फेसबुक स्टाटसहरु समाचार बनिरहेकै हुन्छन् ।

थापाको राजनीति अनेकन् आरोह–अवरोहबाट गुज्रिँदै यो बिन्दुमा आइपुगेको हो । उनको राजनीतिक जीवनको पूर्वार्द्ध असाध्यै चम्किलो र आशालाग्दो थियो । पञ्चायतकालमै उनी फूलमन्त्री भइसकेका थिए । राजा वीरेन्द्र थापालाई २०४३ सालमा सञ्चारमन्त्री बनाउँदा उनको उमेर मात्र ३१ वर्ष थियो ।

अतितः सेनामा जान उमेर नपुग्दा मोडिएको बाटो

थापाको पुर्ख्यौली थलो तनहुँ हो, तर उनी काठमाडौंको डिल्लीबजारमा जन्मिएका हुन् । उनका बुवा, बाजे, बराजु सबै सेनामा थिए । बुवा कर्णेल छत्रबहादुर थापा राजा महेन्द्रसँग असाध्यै निकट थिए । सेनाबाट रिटायर्ड भएपछि राजाले नारायणहिटी राजदरबार बनाउने घर काजको प्रमुख छत्रबहादुरलाई बनाए । यति मात्र होइन, १७ सालको परिवर्तनपछि ओखलढुंगामा भएको भीषण विद्रोहलाई साम्य पार्न छत्रबहादुरलाई त्यहाँ बडाहाकिम बनाएर पठाइएको थियो । उनी सफल पनि भए ।

आन्दोलन निस्तेज पारेपछि पूर्वपश्चिम राजमार्गको जिम्मेवारी पनि उनले पाए । राजा महेन्द्रले दुई सेक्टरमा बाँडेर पूर्वपश्चिम राजमार्गको थालनी गरेका थिए । मेचीदेखि गैंडाकोटको भूभाग एउटा सेक्टरमा र गैंडाकोटदेखि महाकालीको भूभाग अर्को सेक्टरमा थियो । पूर्वी सेक्टरको कमाण्ड छत्रबहादुरले गरेका थिए । महेन्द्रको प्रभावबाट छत्रबहादुरले राजनीति पनि अलिकति चाखे । उनी राष्ट्रिय पञ्चायत सदस्यमा उठेर थोरै मतले पराजित भएका थिए ।

बुवा मात्र होइन, कमल थापाका दाइ नेत्रबहादुर थापा पनि सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हुन् । विद्या भण्डारी राष्ट्रपति रहँदा दुवै कार्यकालमा नेत्रबहादुरलाई आफ्नो सुरक्षा सल्लाहकार बनाएकी छन् । कमल थापाका कान्छा भाइ गणेश थापा नेपाली फुटबलका हस्ति हुन् । उनले पहिले खेलाडीका रूपमा र पछि फुटबल संघको अध्यक्षका रूपमा नेपाली फुटबलको लामो समय सेवा गरे ।

कमल थापा पढाइ सानैदेखि पढाइमा अब्बल थिए । उनले एसएलसी १३ वर्षको उमेरमा पास गरेका हुन् । काठमाडौंको सेन्ट जेभियर्समा ३ कक्षा पढ्दापढ्दै छुटाएर बुवाले हेटौँडामा ७ क्लासमा भर्ना गरिदिए । हेडमास्टरलाई बोलाएर बुवाले भनेको सम्झिन्छन्, ‘मेरो बुढेसकालका छोराहरू हुन् । चाँडै एसएलसी गराउनुपर्छ, माथिल्लो क्लासमा राख्दिनुस् ।’ हेडमास्टरले नाइँ भन्ने सम्भावना नै थिएन ।

एकै पटक चार कक्षा टप्दा पनि थापा असफल भएनन् । एसएलसीको परीक्षा उनले काठमाडौंकै पद्मोदय हाइस्कुलबाटट दिए र उच्च अंक ल्याएर पास गरे । एसएलसीपछि डाक्टर बन्ने उद्देश्यसहित अमृत साइन्स क्याम्पस भर्ना गए । त्यहाँ बाबुराम भट्टराई र उपेन्द्र देवकोटा उनका सहपाठी थिए । उनीहरूसँग त्यति धेरै हिमचिम भने भएन ।

आइएस्सीपछि भने उनको डाक्टर बन्ने मोह हरायो । साइन्सको पढाइ छोडेर उनी त्रिचन्द्र कलेजमा बीए पढ्न थाले । बीए पढ्दापढ्दै सेनामा ट्राइ मार्न खोजेका थिए । तर, तीन महिना उमेर पुगेन । त्यसपछि प्रयास नै गरेनन् । राजनीतिमा रस पसिसकेको थियो ।

१६ वर्षको उमेरबाट राजनीतिमा लागेका थापा २०३१ सालमा राष्ट्रवादी विद्यार्थी मण्डलको संस्थापक अध्यक्ष भए । यही मण्डलको नाममा अहिले पूर्वपञ्चहरुलाई ‘मण्डले’ भन्ने गरिन्छ । २०३३ सालसम्म उनले सो मण्डलको नेतृत्व गरेका थिए । २०३४ सालमा उनी नारायणी अञ्चलमा गाउँ फर्क राष्ट्रिय अभियानको सदस्य सचिव बने ।

उमेर नपुगेका कारण २०३५ सालको राष्ट्रिय पञ्चायत चुनाव थापाले लड्न पाएनन् । २०३८ सालमा भने उनी चुनाव लडे, तर पराजित भए । त्यो चुनाव जितेको भए आफू २०४६ सालभित्रै प्रधानमन्त्री बन्ने उनको दाबी छ । उनी राजा वीरेन्द्रले निकै रुचाएका युवा थिए । राजाले आफूलाई सिधै मनोनीत गर्ने आश्वासन दिँदादिँदै आफू निर्वाचनमा होमिएको उनी बताउँछन् ।

‘मलाई राजाले तिमीलाई मनोनीत गरेर ल्याउँछु भनेर आश्वासन दिनुभएको थियो । तर, मैले राजाका मान्छे त जनताबाट अनुमोदित भएर आउने हो । म चुनाव जितिहाल्छु नि भनेर राजालाई आश्वस्त पारेँ । दुर्भाग्यवश चुनाव हारियो,’ उनले सम्झिए । २०४३ सालको चुनाव भने उनले जिते र सिधै सञ्चारमन्त्री नियुक्त भए ।

राजनीतिमा मात्र होइन, खेलमा पनि चम्किरहेका थिए कमल । अमृत साइन्स कलेजमा पढ्दा काठमाडौंको ए डिभिजन टीमबाट खेल्थे । उनले पहिले विद्यार्थी खेल मण्डलबाट र पछि संकटाबाट खेले । नारायणी अञ्चलको प्रतिनिधित्व गरेर दुई पटक नेशनल च्याम्पियन भए । राष्ट्रिय टिममा पनि छानिए । केही समय कप्तान पनि भए । २०३४ सालमा उनलाई राजाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा मनोनीत गरेका थिए । २०३६ सालमा उनी अखिल नेपाल फुटबल संघको अध्यक्ष भए, जति बेला उनी मात्र २३ वर्षका मात्र थिए ।

 

अवसरवादी राजनीतिको आरोप : मुसा प्रवृत्तिको कहावत

आलोचकहरू भन्छन्– कमल थापा अति अवसरवादी नेता हुन् । उनी निष्ठाको होइन, पदको राजनीति गर्छन् । यो अहिले मात्र लागेको आरोप होइन । एकताका उनले पार्टीभित्र देखाएको अवसरवादी चरित्रलाई ‘मुसा प्रवृत्ति’ को संज्ञा दिइएको थियो । यो २०५३ सालपछिको कुरा हो । तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पदबाट हटाउन उनकै सरकारमा रहेका कमल थापा लगायतका केही सांसदले भूमिका खेलेका थिए । यसलाई लिएर चन्दले पछि ती सांसदहरूलाई ‘जहाज प्वाल पार्ने मुसा’ को संज्ञा दिए ।

थापा २०५३ सालको देउवा मन्त्रिपरिषदमा कानून न्याय तथा स्थानीय विकास मन्त्री बनेका थिए । उक्त सरकार ढालेर एमालेले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनायो । चन्द सरकारमा पनि थापा आवास तथा भौतिक योजना तथा परराष्ट्र मन्त्री भए । त्यो सरकार धेरै दिन टिकेन । त्यसपछि कांग्रेसको समर्थनमा राप्रपाकै सूर्यबहादुर थापा प्रधानमन्त्री बने । मन्त्रीको कुर्सीमा बसेर नै कमल थापाले सरकारको विपक्षमा मत हाले र सूर्यबहादुर थापातिर लहसिए । थापाले उनलाई परराष्ट्र र कृषि मन्त्री बनाए ।

प्रधानमन्त्रीबाट हटेपछि पार्टीका सांसदहरूको यस्तो प्रवृत्तिमाथि चन्दले भावुक टिप्पणी गरेका थिए ।

उनको भनाइको सार थियो, ‘यदि पानीजहाजमा मुसा पसे भने जहाजलाई नै प्वाल पार्न थाल्छन् । जब त्यो जहाज डुब्न थाल्छ, सबैभन्दा पहिले नै उनीहरू अर्को जहाजमा हाम्फाल्छन् । अर्को जहाजलाई पनि त्यसरी नै प्वाल पारेर डुबाइदिन्छन् । यस्ता मुसा बोक्न रहर गर्ने जहाजवालाहरू मेरो जहाज डुबेकोमा खुशी नहुनुहोला । यी मुसाले अन्ततः तपाईँको जहाज पनि डुबाइदिनेछन् ।’

चन्दको यो अभिव्यक्तिपछि यसरी पार्टीभित्र एकपछि अर्को क्याम्प बदल्ने सांसदको समूहलाई ‘मुसा सांसद’ भन्न थालिएको थियो । अहिले यो प्रसंगले सबैभन्दा कमल थापालाई पिरोल्छ । तर, उनी चन्दले आफूलाई मुसाको संज्ञा दिएको स्वीकार गर्दैनन् ।

‘लोकेन्द्रबहादुर चन्दले मलाई तोकेर कतै पनि भन्नुभएको छैन । पत्रिकाले जबरजस्ती मेरो नाम जोडिदियो र त्यही स्थापित भयो । जबकि त्यस बेला गुट बदल्नेमा प्रकाशचन्द्र लोहनी, पद्मसुन्दर लावती, बालाराम घर्तिमगरजस्ता सिनियर नेता पनि हुनुहुन्थ्यो । म त मझौला नेता थिएँ ।’

गुट बदलेकोबारे उनको प्रष्टीकरण छ, ‘पार्टीले चन्दलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने भनेर औपचारिकरुपमा निर्णय गर्‍यो । मैले लोकेन्द्रजीलाई साथ दिएँ । पछि पार्टीले नै औपचारिक रूपमा उहाँलाई राजीनामा गर्न निर्देशन दियो । उहाँले मान्नुभएन । त्यसपछि हामी पार्टीको निर्णयमा उभिएर उहाँको साथ छोड्यौँ । पार्टी निर्णयको अवज्ञा गर्ने आदर्शवादी र पार्टीको निर्णय पालना गर्ने गलत प्रवृत्ति हुन्छ ? यो ममाथि टार्गेटेड प्रपोगाण्डा बाहेक अरू केही होइन ।’

यद्यपि, २०५३ सालमा देउवा सरकारमै छँदा केही साथीहरूको उक्साहटमा प्रधानमन्त्री विरुद्ध चहलपहल गरेको उनको स्वीकारोक्ति छ ।
‘मन्त्री हुँदाहुँदै सरकार ढाल्ने भित्री खेलमा सहभागी हुनु चाहिँ गल्ती थियो जस्तो लाग्छ । यद्यपि, देउवा सरकार हाम्रो कारणले भने ढलेन,’ उनले भने ।

थापाको नजरमा तीन राजा: महेन्द्र सबैभन्दा अब्बल

थापाले राजा महेन्द्रसँग नजिक भएर काम गर्ने अवसर पाएनन् । उनी राजनीतिमा उदाउँदा नउदाउँदै महेन्द्रको अवसान भइसकेको थियो । आज उनी राजा महेन्द्रलाई नै आफ्नो आदर्श मान्छन् ।

थापाले राजा महेन्द्रलाई दुई पटक भेट्ने अवसर पाए । पहिलो पटक १० वर्षको उमेरमा हेटौँडाको भुटनदेवी स्कुलका विद्यार्थीहरूको समूहमा । त्यस बेला विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरूलाई सिकाएका थिए– राजासमक्ष ‘माध्यमिक विद्यालय चाहियो सरकार’ भनेर बिन्ती बिसाउनु । उनीहरूले त्यसै गरे । नभन्दै राजा महेन्द्रले माध्यमिक विद्यालय बनाइदिए पनि ।

दोस्रो पटक उनी तत्कालीन राष्ट्रवादी विद्यार्थी मण्डलको प्रतिनिधिमण्डलमा गएर भेटेका थिए । उक्त भेटमा महेन्द्रबाट औधी प्रभावित भए उनी ।

राजा महेन्द्रलाई उनी यसरी सम्झिन्छन्:

उहाँ एउटा राष्ट्र प्रेमी, चतुर र दूरदर्शी राजा हुनुहुन्थ्यो । अहिलेको पिँढीले थाहा पाइराख्नुपर्छ कि महेन्द्र राजगद्दीमा आउनुभन्दा अगाडि नेपालले कहिल्यै आफ्नो स्वतन्त्रता र सार्वभौमसत्ताको पूर्ण उपयोग गर्न सकेको थिएन । २००७ सालभन्दा अगाडि राणाहरूले ब्रिटिस र नेहरुलाई रिझाएरै आफ्नो अस्तित्व जोगाउन खोजेका हुन् । नेपाल भारतको सुरक्षा छातामा रहनुपर्छ भन्ने नेहरुको मान्यता थियो ।

हामी २००७ सालको परिवर्तनपछि प्रजातन्त्र आयो भनेर गर्व गर्छौँ । तर, त्यो ‘प्रजातन्त्र’ भारतको पूर्ण नियन्त्रणमा थियो । भारतीय प्रतिनिधिले मन्त्रिपरिषदको बैठकमा बसेर निर्णयको माइन्यूट लेख्थे । राजाको सल्लाहकारका रूपमा दैनिक काममा सहयोग गर्ने पनि भारतीय थिए । नेपालको आफ्नो मुद्रा प्रचलनमै थिएन । नेपालको आफ्नो पाठ्यक्रम थिएन । अधिकांश भारतीय पाठ्यपुस्तकको पढाइ हुन्थ्यो । नेपालको आफ्नो हुलाक व्यवस्था थिएन । विदेशबाट आउने चिठी पत्र भारतीय दूतावासमा आउँथे र उसले नै सर्कुलेट गर्थ्यो । सानो समस्या पर्दा सिंगो क्याबिनेटका मन्त्रीहरू जहाज चढेर दिल्ली जान्थे र नेहरुको आदेश लिएर फर्किन्थे ।

नेपालमा प्रजातन्त्र ल्याउन र त्रिभुवनलाई पुनर्स्थापना गर्न नेहरुले धेरै ठूलो मद्दत गरेका थिए । त्यसैले राजा त्रिभुवन उनीप्रति अत्यधिक अनुग्रहित भए । नेपालको स्वतन्त्र अस्तित्व कायम रहोस् भन्ने त्रिभुवनको पनि चाहना थियो होला । तर, उनी नेहरुको आदेशमा चल्न अभिसप्त भए ।

जब महेन्द्र राजगद्दीमा आए, यो सबै स्थिति फेरियो । भारतको चंगुलबाट मुक्त गरेर नेपाललाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउन राजा महेन्द्रले धेरै ठूलो आँट गरेका हुन् । एक–एक कदम अगाडि बढाउँदै उनले नेपालको स्वतन्त्र अस्तित्व कायम गरे । ममा राष्ट्रियताप्रतिको चेतना र राष्ट्र भक्तिको भावना जगाउन महेन्द्रको प्रभाव छ ।

राजा महेन्द्रको महेन्द्रको धेरै चाँडो निधन भयो । ५२ वर्षकै उमेरमा उनी बिते । जम्मा १० वर्ष त हो काम गरेको । यति छोटो समयमा के मात्र गरेनन् । शीतयुद्धको बेलामा भारत, चीन, अमेरिका, रुस सबैको विश्वास जितेर, सहयोग जुटाएर नेपालको विकास अघि बढाए । सायद राजा महेन्द्र एकाध वर्ष थप बाँचेको भए नेपालमा त्यस बेला नै बहुदलीय व्यवस्था आउँथ्यो । त्यसको अन्तिम तयारी भइसकेको थियो । कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेलामा उहाँले गोप्यरुपमा संविधान संशोधनको तयारी गर्न लगाउनुभएको थियो । चितवनको दियालो बंगलामा निधनभन्दा केही दिनअघि कीर्तिनिधि र शम्भु ज्ञवालीलाई बोलाएर मस्यौदामा छलफल भएको थियो । सुवर्ण शमशेरलाई त्यहीँ बोलाइएको थियो । बिपीसँग फाइनल कुराकानी गर्ने तयारी थियो । तर, दूर्भाग्यपूर्णरुपमा राजा महेन्द्रको आकस्मिक निधन भयो ।

राजा वीरेन्द्रलाई सोझो र राष्ट्र प्रेमी राजाको रूपमा चिन्छन् थापा । महेन्द्रमा जस्तो चातुर्य नभए पनि वीरेन्द्रमा देशलाई आधुनिकीकरण गर्ने सोच भएको उनको मूल्यांकन छ । यद्यपि, देश विकासको काम जति हुन सक्थ्यो, वीरेन्द्रको पालामा त्यति नभएको थापा बताउँछन् ।

वीरेन्द्र पनि महेन्द्रजस्तै राष्ट्रवादी राजा हुन् भन्ने दर्शाउन उनले एउटा दृष्टान्त सुनाए:

पञ्चायतको अन्तिम कार्यकालमा म सञ्चार मन्त्री थिएँ । भारतले आर्थिक नाकाबन्दी लगाएको थियो, झण्डै १३/१४ महिना । भारतसँग घुँडा नटेकीकन नेपाली जनतालाई रासन, पानी, तेल, डिजेलको उपलब्धता गराउन त्यो बेलाको अवस्थामा कति कठिन थियो होला । तर वीरेन्द्रबाट सम्भव भयो ।

नाकाबन्दीको फाइदा लिएर पञ्चायतविरुद्ध आन्दोलन पनि भयो । एकातिर आन्दोलन थियो भने अर्कोतर्फ नाकाबन्दी । आन्दोलन चरमोत्कर्षमा भएको बेलामा भारतले विदेश सचिव एसके सिंहलाई नेपाल पठाएको थियो । उनी एउटा सन्धिको मस्यौदा बोकेर आएका थिए । त्यो सन्धिमा नेपाललाई भारतको छाताभित्र राखेर यहाँको सुरक्षा, परराष्ट्र र आर्थिक क्षेत्र उसको नियन्त्रणमा रहने आशय थियो । त्यो प्रस्ताव माने आन्दोलनलाई भोलि नै मत्थर पार्ने आश्वासन लिएर सिंह आएका थिए । प्रधानमन्त्री मरीचमान सिंह थिए भने म सञ्चार मन्त्री थिएँ ।

परराष्ट्र मन्त्रीबाट भर्खरै शैलेन्द्रकुमार उपाध्यायले राजीनामा दिनुभएको थियो । मरीचमान सिंहले एसके सिंहलाई राजाको सन्देश सुनाएर भन्नुभयो कि यो दस्ताबेजमा छलफल नै हुँदैन । आवश्यक परे आफ्नै जनतासँग झुक्छु तर, भारतसँग झुक्दिनँ भन्ने राजाको स्पष्ट अडान थियो ।
यद्यपि, राजा वीरेन्द्रका दुईवटा कमजोरी उनी खुट्याउँछन् । पहिलो– उनी बडामहारानीबाट बढी प्रभावित र निर्देशित थिए । दोस्रो, आवश्यकताभन्दा बढी सरल र सोझा थिए । अन्यथा वीरेन्द्र पनि जनप्रेमी र असल राजा भएको उनको ठम्याइ छ ।

अनि राजा ज्ञानेन्द्र ?

यतिबेला उनी राजा ज्ञानेन्द्रको आलोचना गर्ने मुडमा छैनन् । देश प्रेमी र केही गरौँ भन्ने हुटहुटी बोकेको राजाका रूपमा उनले ज्ञानेन्द्रको गुणगान गाए ।

थापा भन्छन्:

‘राजा ज्ञानेन्द्रको लामो कार्यकाल भएन । उहाँले २०६१ सालमा शासन सत्ता आफ्नो हातमा लिनुभयो । नेपालमा निरंकुश व्यवस्था स्थापना गर्ने वा पञ्चायत फर्काउने नियतले उहाँले त्यो कदम चाल्नुभएको थिएन । मैले राजाको कुराहरू सुनेको छु । उहाँसँग नजिक रहेर काम गरेको छु । उहाँले असल नियतले नै प्रत्यक्ष शासनको अभ्यास गर्नुभएको हो । तीन वर्षपछि दलहरूलाई नै फिर्ता दिने भन्ने थियो ।

राजाले सत्ता हातमा लिइसकेपछि राज्य सञ्चालनका निम्ति जुन पात्रहरूको छनोट भयो, त्यो उपयुक्त भएन । तीनै पात्रहरूको कारणले गर्दा राजा र दलहरूको दूरी बढेर गयो । राजाको टेकओभरपछि केही नेतासँग भेटघाट हुँदा उनीहरूले माओवादीलाई ठेगान लगाएमा समर्थन गर्छौँ भनेर ‘बेनिफिट अफ डाउट’ दिएका थिए । तर, बिस्तारै राजाले छनोट गरेका पात्रले दलहरूप्रति घृणा पैदा गर्ने काम गरे । शाही आयोग बनाएर पार्टीका नेतालाई छानिछानी जेल हालियो । त्यो कमजोरी भयो भन्ने लाग्छ ।

कतिपयले सोच्छन् कि ज्ञानेन्द्रले चाहेका भए सेनालाई प्रयोग गरेर राजसंस्था जोगाउन सक्थे । कम्तीमा त्यो प्रयास गर्न सक्थे । थापा के ठान्छन् ?
‘राजसंस्था जानुमा ज्ञानेन्द्रको दोष छैन । उहाँले त दलहरूसँग सम्झौता गरेर सेफ ल्यान्डिङ गरेको हो । सार्वभौमसत्ता पार्टीहरूलाई सुम्पिएको हो । तर त्यसपछि आन्दोलनको रापतापबीच देशी विदेशी शक्तिको दबाबमा राजालाई एम्बुसमा पारेर राजसंस्था समाप्त गर्ने काम भयो । त्यो निर्णयलाई पनि राजाले शालीनताका साथ स्वीकार गर्नुभयो । त्यो बेलासम्म नेपाली सेनाको परमाधिपति त राजै हुनुहुन्थ्यो । तर, आफ्नो अधिकारको एक्सरसाइज गर्नुभएन । मान्य हुन्थ्यो कि हुँदैनथ्यो आफ्नो ठाउँमा छ । तर, त्यतापट्टि सोचाई नै भएन ।’

देउवा, प्रचण्ड र ओलीको सरकारमा काम गर्दा

अहिलेका तीन शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल तिनैजनाको सरकारमा मन्त्री बनेका छन् थापा । देउवा र ओलीसँग त उनको दुई–दुई पटक सहकार्य भयो । प्रधानमन्त्रीका रुपमा यी तीन जना नेताको कार्यसम्पादनलाई उनी कसरी मूल्यांकन गर्छन् ?

शेरबहादुर देउवा– २०५२ सालमा उहाँ प्रधानमन्त्री छँदा म स्थानीय विकास मन्त्री थिएँ । त्यस बेला उहाँमा युवा जोश–जाँगर थियो । आफूले गरेका निर्णयमा अडान लिनुहुन्थ्यो । मन्त्रीहरूलाई पनि काममा उत्प्रेरित गर्नुहुन्थ्यो । त्यही सरकारमा स्थानीय विकास मन्त्री छँदा मैले पहिलो पटक देशमा महानगरपालिका स्थापना गरेको हुँ । उहाँको साथले काठमाडौं महानगरसहित थुप्रै नगरपालिकाहरूको घोषणा गर्न सफल भएँ । त्यस बेला मैले नै प्रत्येक वडामा एक महिलाको अवधारणा ल्याएको हो । स्थानीय सरकारको अवधारणा पनि हाम्रो हो ।

तर, दोस्रो पटक सहकार्य गर्दा उहाँमा कुनै ऊर्जा पाइनँ । उहाँ शिथिल भइसक्नुभएको थियो । कुनै कुरामा अड्न पनि सक्नुहुन्नथ्यो । कसैले दबाब दिए सजिलै झुक्नुहुन्थ्यो ।

केपी ओली: ओलीजीसँग सहकार्यको मेरो सुखद अनुभव छ । उहाँ पहिलो पटक प्रधानमन्त्री बन्दा भारतले कडा नाकाबन्दी लगाएको थियो । म परराष्ट्र मन्त्री थिएँ । भारतसँग अलिकति पनि नझुकिकन र राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिईकन नाकाबन्दीको सामना गर्न हामी सफल भयौँ । यसमा प्रधानमन्त्रीसँग मेरो ट्युनिङ मिलेको थियो ।

सोही कार्यकालमा नेपालले चीनसँग पारवहन सन्धि पनि गर्‍यो । यो अर्को ऐतिहासिक उपलब्धि हो । हामी भारतवेष्ठित मानसिकताबाट बाहिर निस्किन सफल भयौँ । चीनसँग व्यापार, पार वाहन, रेल, तेल र बिजुलीको क्षेत्रमा दीर्घकालीन सम्बन्ध एवं विकासको खाका कोर्न मैले पनि महत्त्वपूर्ण योगदान दिएको छु ।

पुष्पकमल दाहाल: प्रचण्ड जीसँग असाध्यै छोटो सहकार्य भयो । तर, उहाँ मप्रति औधी सकारात्मक हुनुहुन्थ्यो । वास्तवमा उहाँले मलाई माया गर्‍या हो । हाम्रा पार्टीको महाधिवेशनमा आएर भाषण गर्दा मेरो प्रशंसा गर्नुभएको थियो । कमल थापासँग राष्ट्रियताको कुरामा मेरो केमेस्ट्री मिल्छ भन्नुभएको थियो ।

उहाँको सरकारमा म उपप्रधानमन्त्रीका रूपमा सहभागी हुँदा विमलेन्द्र निधिले मर्यादाक्रमको झमेला उठाउन खोजे । तर, प्रचण्डजीले कमलजी तपाईँभन्दा सिनियर हो र मपछिको उपप्रधानमन्त्री कमलजी हो भनेर स्पष्ट शब्दमा भनिदिनुभयो । यसरी उहाँले मलाई सेकेन्ड म्यान बनाउनुभएको थियो । मैले राजीनामा बुझाउन जाँदा हातै समातेर भन्नुभो– कमलजी नछाड्नुस्, सँगै बसेर धेरै काम गर्न बाँकी छ ।

उहाँको एउटा गुण भन्ने कि अवगुण भन्ने, अलिकति अस्थिर स्वभावको हुनुहुन्छ । एक्स्ट्रीममा स्वीङ गर्न सक्ने लचकता छ । भावुक भएर पनि होला, मान्छेले पटक–पटक प्रयोग गरेको म देख्छु । मुटु चाहिँ राष्ट्र विरोधी छ भन्ने मलाई लाग्दैन ।

आफूले व्यहोरेका प्रधानमन्त्रीमध्ये क्षमता र कार्यसम्पादनका हिसाबले उनी कसलाई अगाडि राख्छन् ?

थापाले दुई नाम लिए– सूर्यबहादुर थापा र केपी ओली ।

निजी जीवन : बुढेसकालमा पनि फिट, पारिवारिक सन्तुष्टि

आफ्नो पारिवारिक जीवनसँग निकै सन्तुष्ट सुनिन्छन् कमल थापा । आफूले जुन बाटो लिए पनि परिवारका सदस्यहरूले बेहिचकिचाहट साथ दिन्छन् भन्ने आत्मिक सन्तोष उनलाई छ ।

थापा भन्छन्, ‘मेरा कतिपय कदमहरूमा परिवारका सदस्यको रिजर्भेसन पनि रहला, तर पनि उनीहरूले मेरा प्रत्येक कदममा मिलिट्यान्ट भएर साथ दिएका छन् । एकताबद्ध परिवार पनि मेरो शक्तिको स्रोत हो ।’

कमल थापाका एक छोरा, तीन छोरी र सात नातिनातिना छन् । उनका छोरा राजनीतिमा लागेनन् । व्यवसायिक काममा लागेर राम्रै आयआर्जन गरिरहेका छन् । दुई जुम्ल्याहा छोरीहरूमध्ये एउटी डाक्टर हुन्, जो ह्याम्स हस्पिटलमा कार्यरत छिन् । अर्की छोरी कम्प्युटर इन्जिनियर हुन् र बेलायतमा सेटल भएकी छन् । एमबीएसम्मको अध्ययन गरेकी कान्छी छोरी चाहिँ राजनीतिमा बुवालाई साथ दिइरहेकी छन् । उनी राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

सबै जना आ–आफ्नो ठाउँमा सक्षम भएकाले थापालाई परिवारको आर्थिक दायित्व छैन । घर भाडा र बैंकको बचतबाट आउने ब्याजको पैसा पनि उनी पार्टीको काममा खर्च गर्छन् । मासिक न्यूनतम ५० हजार रुपैयाँ पार्टीलाई दिने गरेको थापाले बताए ।

राजनीतिमा लागेर कति पैसा कमाउनुभयो त ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिए:

‘धेरै कम राजनीतिकर्मीमा म पनि पर्छु जसलाई भ्रष्टाचार गर्‍यो भनेर औँला ठड्याउने ठाउँ छैन । म पहिल्यै उच्चमध्यमवर्गीय परिवारको सदस्य हो । खान–लाउन बाबुबाजेले कमाइदिएको नै पर्याप्त छ । ५० वर्षको राजनीतिक यात्रामा राजनीतिकरुपमा धेरै पटक विवादित भएँ होला, तर नैतिकता र चरित्रको मामलामा प्रश्न उठाउन दिएको छैन । व्यापारीदेखि कर्मचारीसम्मलाई मेरो विषयमा सोध्नुभयो भने हुन्छ ।’

थापाको जीवनशैली पनि सरल र स्वस्थकर छ । आफूमा एउटा पनि खराब लत नभएको उनी बताउँछन् ।

‘मलाई रक्सीको टेस्ट अहिलेसम्म थाहा छैन । चुरोट, सुर्ती केहीको पनि अम्मल छैन । रेस्टुरेन्टमा गएर खाने खुवाउने मान्छे पनि म होइन । कुनै कफी सपमा ५ जनालाई कफी खुवाउनुपर्‍यो भने पनि बडो चिन्ता लाग्छ । दुई सय रुपैयाँको कफी खुवाउन पैसा पार्टीमा हाल्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने ।

उमेरले वृद्धावस्थामा लागे पनि शारीरिक र मानसिकरुपमा एकदमै फिट छन् थापा । शरीरलाई कुनै रोगले गाँजेको छैन । अहिले पनि दैनिक ब्याडमिन्टन खेल्छन् । बुढाहरूको ब्याडिमिन्टन र टेनिसमा हरेक वर्ष प्रतिस्पर्धा गर्ने गरेका छन् । यसपालि मात्रै ४ वटा प्रतियोगितामा पहिलो भए । अस्ति भर्खर दार्जिलिङमा जितेर आएका हुन् ।

उनी प्रत्येक दिन बिहान ३ किलोमिटरदेखि आठ–१० किलोमिटर हिँड्छन् । प्रत्येक हप्ता साइक्लिङ गर्छन् ।

‘हिजो मात्रै २८ किलोमिटर साइकल चलाएँ,’ बच्चाझैँ फुर्केर सुनाए ।

थापाको बिहानको रुटिनबाट चार काम कहिल्यै हट्दैनन्– दारी काट्ने, नुहाउने, पूजापाठ गर्ने र ब्याडमिन्टन खेल्ने । यीमध्ये कुनै एउटा काम गर्न पाएनन् भने पनि मरेझैँ हुन्छ । मन्त्री भएका बेला क्याबिनेट बैठक कहिलेकाहीँ बिहानै पर्दा उनी गाडीमै र्‍याकेट बोकेर हिँड्थेँ । क्याबिनेट मिटिङ सकिनासाथ कोर्टतिर कुदिहाल्थे ।

‘विगत २०–२५ वर्षदेखि दारी नकाटेको र ननुहाएको दिन छैन । ओछ्यानबाट उठ्दासाथ पहिलो कामै दारी काट्ने हो,’ सदाबहार ह्यान्डसम देखिनुको एउटा रहस्य उनले खोलिदिए ।

नजिकबाट चिन्नेहरू भन्छन् कमल थापाको चाँडै आवेशमा आउने कमजोरी छ । उनी तुरुन्तै प्रतिक्रिया दिन तम्सिहाल्छन् । यसलाई उनले करिब–करिब स्वीकारे ।

‘हो म अलिकति छिटो आवेशमा आउँछु । कसैले आफ्नोबारे नभएको कुरा बोल्यो वा लेख्यो भने एक छिन त रिस उठ्छ नि । तर, छिट्टै कुल डाउन पनि हुन्छु,’ उनी भन्छन् ।

आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा छन् कमल थापा । माथि नै उनले भने कि पदीय राजनीतिमा उनको मोह बाँकी छैन । त्यसो अब उनका अतृप्त आकांक्षाहरु के छन् त ?

‘म केवल अब आफ्नो लिगेसीको रक्षा गर्न चाहन्छ,’ उनी खुले, ‘एक पटक मौका पाए प्रधानमन्त्री बनौँ भन्ने चाहना छ । तर, चाहना राख्दैमा हुने होइन । हाम्रो पार्टीको संगठनात्मक शक्तिबाट यो असम्भवजस्तो देखिन्छ । यद्यपि, राजनीति हो । कहाँ पुगिन्छ भन्न सकिन्न ।’

अहिले ६८ वर्षमा हिँड्दैछन् थापा । अझै कति वर्ष राजनीति गर्लान् ? के आफैँले कुनै समय सीमा निर्धारण गरेका छन् ?

‘म शारीरिक र मानसिकरुपमा एकदमै सबल छु । त्यसैले आफ्नो विचारलाई निरन्तर अघि बढाउनका लागि म शरीर र मस्तिष्कले साथ दिउन्जेल प्रयास गर्छु । आफ्नो राजनीतिक एजेन्डा र मलाई साथ दिने साथीहरूको भविष्यको सुरक्षा गर्न सक्ने वातावरण भयो भने मलाई अब कुनै पदको आवश्यकता छैन ।

अतिरिक्त आकांक्षा केही छन् । पढ्न चाहेर घर ल्याएका किताबहरू थुप्रै छन्, तर पल्टाउन पाएको छैन । दोस्रो, देशभित्रकै पनि कयौँ ठाउँहरू घुम्न मन लागेर जान पाएको छैन । केही तीर्थस्थलहरू जान चाहन्छु । बढीभन्दा बढी समय परिवारको बीचमा बिताउन चाहन्छु ।

आफ्ना राजनीतिक जीवनका अनुभव संगालेर एउटा पुस्तक निकाल्ने तयारीमा छन् थापा । आफ्नो पुस्तकमा घटना मात्र नभएर विचार पनि हुने उनको भनाइ छ ।

‘लेखन कार्य धेरै अगाडि बढाइसक्या छु,’ उनले भने ।

अन्तिम प्रश्न: तपाईँले जीवनकालमा गरेको सबैभन्दा ठूलो गल्ती के हो ?

यसको जवाफमा उनले केही बेर गम खाए । अनि भावुकता मिश्रित आवाजमा भने, ‘मैले जानीजानी कुनै गल्ती गरेको छैन । तर, गलत निर्णय भनौँ वा विवेक नपुगेको भनौँ, मैले भावावेशमा आएर राजालाई जुन किसिमबाट सार्वजनिकरुपमा आरोपित गरेँ, यही नै सबैभन्दा ठूलो गल्ती हो जस्तो लाग्छ ।’


प्रतिक्रिया

One thought on “कमल थापाको आत्मसमीक्षा : ‘राजा’ लाई एकोहोरो आरोपित गर्नु जीवनकै ठूलो भूल (भिडिओ)

  1. अहा – कस्ताे राम्राे स्पन्दनशील उन्नत विचार !
    गीताकाे कण्ठाग्रता र श्लोकहरू बारे मधुरता पस्किएकाे देखेपछि ज्यादै आनन्द लाग्याे । किन्तु अलिकति ध्यानाकर्षण पनि गराउन चाहन्छु कि “परमात्माकाे गीत भनेकाे नै गीता” — जसले मानव जीवन लाई नित्य-सचेत र नित्य-नवीन बनाउछ भने सिहझैं निर्भय र मृगझैं सजगताले जीवन पद्धति चलाउन सिकाउछ । गीताले असल कर्म गरेर वास्तविक मानव जीवन सफल बनाउने उन्नत बाटाे देखाएर स्वाभाविक दिव्य आनन्दका साथ आत्मालाई परमात्मा संग एकाकार भएकाे अनुभूति दिलाउछ ।
    श्रीमद्भागवत गीताले उपदेश गरेकाे सातवटा मेरूदण्डीय चक्र मध्ये आनन्द , ज्ञान र जीवन शक्तिको कृपा प्रदान गर्ने भनेकाे आज्ञा चक्र हाे जसलाई दिव्य नेत्र भनिन्छ । किन्तु त्याे चक्र बक्र भयाे भने अहंकार नामक राक्षसले त्यहाँ डेरा जमाएर राज गर्न थाल्छ । जब त्याे राक्षस बक्र भएकाे आज्ञा चक्रमा थर्पु जमाएर बस्छ त्यसपछि उसले प्रशंसा बाहेक अरू कुनै कुरा सुन्दैन भने चापलुसी बाहेक अरू सबैलाई चिन्न छाेड्छ ।
    आज्ञा चक्र बक्र बनाएर बसेकाे राक्षस लाई सत्य तिताे लाग्छ त्यसकारण उसले चिनी जस्ताे गुलियाे मात्र खाेज्ने गर्दछ । चापलुसी र प्रशंसा भनेकाे त्याे क्षणिक र क्षणभंगुर हाे भन्ने उसले बुझ्दैन । त्यसैकारण मान्छेले हाेइन …. आज्ञा चक्रमा थर्पु जमाएर बसेकाे त्याे राक्षसले सधैं गुलियाेमा रमाउदा सत्य भेट्याे भने …. तिताे लागेर दुर्वासा भन्दै आफु नजिक बाट टाढा भगाउने गर्दछ ।
    आलाेचनामा शुद्ध सुगन्ध हुन्छ तर आज्ञा चक्र बक्र भएर प्राणशक्ति भित्र राज गरेर बसेकाे त्याे राक्षसले त्यस्ताे स्वास्थ्यकर सुगन्धकाे सुमधुर आनन्द लिन मान्दैन । उसलाई प्रशंसाकाे दुषित दुर्गन्ध चाहिन्छ किनकि त्यसाे नभए त्याे अहंकार नामक राक्षस कामाेत्तेजक , कामुक , क्राेधित , लालसी र लिप्त हुनै सक्दैन ।
    गीतामा उल्येख ज्ञान , कर्म र उपासना कण्ठाग्र गरेपछि मान्छेकाे इच्छाशक्तिले कल्पना गर्छ ……… आफ्नाे बाेली र व्यबहार लाई एकाकार बनाउन सकाैं अनि स-साना सङ्कल्प हरूपनि पूरागर्ने अभ्यासकाे थालनी गराैं । किन्तु इच्छाशक्ति प्रवल भएर पनि बक्र स्थानमा बसेकाे राक्षसले प्राणशक्ति भित्रकाे विवेकशक्ति अपहरण गरि कामेन्द्रिय वासनामा हिरिक्क बनाएर “आफु ताक्छु मुढाे — बन्चराे ताक्छ घुंढाे” भन्ने उखान चरितार्थ गराउदछ । किनकि इन्द्रिय आसक्त मन भनेकाे यस्ताे चन्चलता हाे … जसले चेतना र सत्व हटाएर मान्छेलाई आँखा भएर पनि अन्धाे बनाई दिन्छ ।
    आफ्नाे इन्द्रियलाई नियन्त्रणमा राख्न नसक्नु , लालच र लिप्सालाई कर्मेन्द्रियले बांध्न नसक्नु , आफ्नाे विचारलाई आफ्नै धारणा संग लगेर सामंजस्य गर्न नसक्नु , आफैं भित्र रहेकाे बुराइकाे बिज नष्ट गर्न नसक्नु र आफुले आफैंलाई भराेसा गर्न नसक्नुकाे मूल कारण भनेकाे आज्ञा चक्र बक्र भएर हाे । त्यसैकारण महर्षि व्यास द्वारा रचित महाभारतमा माथि उल्येखित चरित्रलाई अन्धाे धृतराष्ट्र भनेकाे छ ।
    अत: श्रीमद्भागवत गीता काे प्रसङ्ग उठेकाले यसैकाे सेरोफेरो बाट एकइन्च पनि तलमाथि नभई के निवेदन गर्दछु भने — आज्ञा चक्र बक्र बन्दा मस्तिष्कीय सिंहासनमा राज गरेर बसेकाे अहंकार नामक राक्षस लाई आफ्नाे प्राणशक्ति बाट हटाउनै पर्दछ । त्यसका लागि कसैकाे सहयोगकाे अपेक्षा नगरी आफ्नै चन्चल इन्द्रियलाई मनले , मनलाई बुद्धिले र बुद्धिलाई विवेकले नियन्त्रण गर्ने हाे भने …… बक्र भएकाे आज्ञा चक्र सुचक्र भई परम आनन्दकाे जीवन चक्र पुनः प्रारम्भ हुनेछ ।
    पाण्डवहरू गुप्तवास जानु अघि श्रीकृष्णले भन्नु भएकाे छ – हे पार्थ ! सर्वश्व गुमेपनि धैर्यता गुमेन भने … सबैचिज फेरि प्राप्त हुन्छ किन्तु त्यसका लागि सत्य , चैतन्य र सजगताकाे अनिवार्य पालना हुनु पर्दछ ।
    अन्तमा श्लोक बाटनै इतिश्री गर्दछु — “क्षमा वीरस्य भुषणम ” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live