कोशी : संविधानको हुर्मत नलिन गठबन्धनलाई एमालेको चेतावनी – Nepal Press

कोशी : संविधानको हुर्मत नलिन गठबन्धनलाई एमालेको चेतावनी

'सभामुखको हस्ताक्षरमा बहुमत पुर्‍याउँदा चैँ ठीक, उपसभामुख बिरामी भएर आउन नपाउँदा चैँ असंसदीय ?’

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधान र कानूनको हुर्मत नलिन सत्तागठबन्धनलाई चेतावनी दिएका छन् । जारी प्रदेशसभामा बैठकमा बोल्दै सत्तागठबन्धनले संविधानको धेरै पटक हुर्मत लिएकोले अब पनि हुर्मत लिने दुस्साहस नगर्न उनले चेतावनी दिए । यसलाई एमालेले सामान्य रूपमा नलिने भण्डारीको भनाइ थियो ।

सभाको अध्यक्षता गरिरहेका प्रदेशसभा सदस्यलाई विश्वासको मतको पक्षमा मतदान दिन लगाउने प्रयास भइरहेको भन्दै प्रदेशसभाको ध्यानाकर्षणसमेत गराएका छन् ।

‘आज पनि संविधान र कानूनको हुर्मत लिन खोजिएको संकेत आउँदैछ यदि यस्तो गरे एमालेले अर्कै स्टेप चाल्छ । प्रदेश संरचनामाथि उत्पन्न परिस्थितिको जिम्मा लिन म आग्रह गर्छु ।’

मुख्यमन्त्री थापाले शपथ ग्रहण गर्दा निवर्तमान मुख्यमन्त्रीको कुर्सिसमेत नराखेर असहिष्णु व्यवहार देखाएको भन्दै भण्डारीले टिप्पणी गरे । सभामुखलाई सरकार गठनमा सहभागी गराएर संविधानको खिल्ली उडाएको इतिहासले कहिल्यै नबिर्सिने उनको भनाइ थियो ।

‘उपसभामुख बिरामी परेर सभामा उपस्थित हुन नसक्दा चैँ असंसदीय हुने । सभामुखको हस्ताक्षरमा मुख्यमन्त्री बनेर मुलुकको मूल्य, मान्यता र संविधानको ठाडै उल्लंघन गर्दा चैँ ठीक ?’, भण्डारीले प्रश्न गरे ।

‘लिखित सूचना दिएर बिदामा बस्न नपाउने ? सूचना दिएर र नियमावलीको पालना गरेर बिदामा बस्दा चैँ विरोध हुने ?’, उनले थपे ।

विश्वासको मत पाएमा मुख्यमन्त्री थापालाई आफूहरू पनि ताली पड्काएर स्वागत गर्ने, तर विश्वासको मत भने दिन नसक्ने भण्डारीले प्रष्ट्याए ।

गठबन्धनका नाममा संविधान र कानूनको हुर्मत लिने काम भएको भन्दै । अब पनि हुर्मत लिने काम भयो भने प्रदेशिक संरचनामाथिको आलोचना बढेर जाने बताए । संविधान र कानूनको विषयलाई ख्याल ठट्टा गर्ने काम भएको छ । आफू अनुकूल व्याख्या गरिएको छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर