स्पेनलाई विश्वकप जिताएकी कार्मोनाले म्याचपछि थाहा पाइन्- पिताको स्वर्गवास भयो – Nepal Press

स्पेनलाई विश्वकप जिताएकी कार्मोनाले म्याचपछि थाहा पाइन्- पिताको स्वर्गवास भयो

काठमाडौं । हिजो भएको महिला विश्वकपको फाइनलमा स्पेनले इङ्गल्यान्डलाई १-० ले पाखा लगाउँदै उपाधि जित्यो । स्पेनको जितमा कप्तान ओल्गा कार्मोनाको गोल निर्णायक बनेको थियो ।

आफ्नो देशलाई विश्व विजेता बनाएकी कार्मोनाका लागि हिजोको दिन खुशी र अवसादको दोभान बनेको छ । ट्रफी बोकेर विजयोत्सव मनाएको केही बेरमै उनी स्तब्ध बन्न पुगिन्, जब थाहा पाइन् कि उनका पिता यो धर्तीमा रहेनन् । फाइनल म्याच सकिएको केही बेरपछि मात्रै उनलाई यो समाचार सुनाइएको थियो ।

रोयल स्पेनिस फुटबल फेडरेसन (आरएफइएफ) ले कार्मोनाको पिताको निधन भएको औपचारिक जानकारी दिएको हो । फेडरेसनका प्रवक्ताले बताएअनुसार उनी फोक्सोको रोगबाट ग्रसित थिए र शुक्रवार नै उनको निधन भइसकेको थियो । तर, रियल मड्रिडकी २३ वर्षीया लेफ्ट ब्याकलाई उनको खेल प्रभावित हुन सक्ने भयका कारण यसबारे जानकारी दिइएको थिएन ।

‘हामीले दुखका साथ ओल्गा कार्मोनाको पिताको निधन भएको घोषणा गर्नुपरेको छ,’ फेडरेसनले सामाजिक सञ्जालमा लेखेको छ, ‘कार्मोनाले विश्वकप फाइनलपछि दुख समाचार थाहा पाइन् । हामी उनी र उनको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । ओल्गा, हामी तिमीलाई माया गर्छौँ, तिमी स्पेनिस फुटबलकी इतिहास हौ ।’

कार्मोनाले विजयी गोलपछि आफ्नो जर्सीभित्र लेखिएको शब्द ‘मेर्ची’ देखाएर सेलिब्रेट गरेकी थिइन् । यो शब्द उनले हालै दिवंगत भएकी आफ्नी एक साथीकी आमाको सम्झनामा लेखेकी हुन् ।

खेलपछि उनलाई उक्त शब्दका विषयमा सोधिएको थियो । उनले जवाफ दिएकी थिइन्, ‘यो जित मेरो एकदम मिल्ने साथीकी भर्खरै मात्र बित्नुभएकी आमाको लागि समर्पित गर्छु ।’

फाइनलको सिटी बजेपछि कार्मोनासहितका खेलाडीहरू मैदानमा नाचेर सेलिब्रट गरेका थिए । पोस्ट म्याच प्रिजेन्टेसनमा पनि उनले सामान्य रूपमा भाग लिएकी थिइन् ।

आइतबार कार्मोनाले सामाजिक सञ्जालमा पिताप्रति आफ्नो भावना सेयर गरेकी छन् ।

‘मलाई आशा छ तपाईँ आज राति कतैबाट मेरो खेल हेरिरहनुभएको थियो र ममाथि गर्व गरिरहनुभएको थियो, ‘उनले लेखेकी छन्, ‘तपाईँले नै मलाई आज यो जितको लायक बनाउनुभएको हो ।’

कार्मोनाले स्पेनको उद्धार गरेको एक साताभित्र यो दोस्रो खेल थियो । उनले मङ्गलवार मात्रै स्वीडेनविरुद्धको सेमिफाइनलमा ८९ मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर