महरामाथिको छानबिनमा प्रचण्डको भूमिकाले गठबन्धनमा आशंका- सघाउलान् कि चोख्याउलान् ? – Nepal Press

महरामाथिको छानबिनमा प्रचण्डको भूमिकाले गठबन्धनमा आशंका- सघाउलान् कि चोख्याउलान् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएको सुन प्रकरणबारे छानबिन गर्न पार्टीभित्रैबाट नेताहरूले दबाब बढाएका छन् । सरकारले भ्रष्टाचारविरोधी अभियान चलाइरहेको बेलामा पार्टीकै नेताहरूको पनि नाम जोडिएपछि सत्यतथ्य छानबिन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा महरा र उनका छोरा राहुलको संलग्नतासहितको अनुसन्धान प्रतिवेदन सीआईबीले पेश गरेको थियो । तर, महरा बाबुछोराले आरोप खारेज गरेका छन् ।

महराको नाम यो प्रकरणमा जोडिएपछि प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाएर सीआईबीका प्रमुख र आईजीपीलाई समेत छलफल गरिसकेका छन् । तीन दिनअघि बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको कुराकानीमा प्रधानमन्त्रीले महरालाई प्रतिवादी बनाएर छानबिन गर्न निर्देशन दिइसकेको बताएका थिए ।

‘मैले सीआईबीका प्रमुख र आईजीपीलाई बोलाएर महराको नाम समावेश गर्नु गल्ती कि प्रतिवादी नबनाएर गल्ती गरेको हो ? सोधेँ, जवाफमा उनीहरूले नाम समावेश हुनु गल्ती हो भने’, प्रचण्डको प्रष्टीकरण थियो ।

आफूनिकट रहेर लामो समयदेखि काम गर्दै आएका नेता यो प्रकरण मुछिएपछि प्रचण्डलाई टाउको दुखाइको विषय बनेको केही नेता बताउँछन् । गृहमन्त्री पनि माओवादीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।

महराले सुन तस्करी प्रकरणका आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारमा आफूले फोन गरेको स्वीकारेका छन्। तर, सुन भन्ने आफूलाई थाहा नभएको उनको प्रष्टीकरण छ ।

ती व्यापारीसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताउँदै मंगलबार दाङ पुगेर भने, ‘उनी फलफूल व्यापारी हुन् । म सँग टेलिफोन वार्ता भएको पनि होइन, मसँग भेटेर, उनले हाम्रो फलफूल । उनको एकजना साथीले त्यो सुन. सुनको कुरै गरेनन्, सुनको स पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट भेपको सामान आछ भन्सारमा छुटाउन मद्दत गर्नुपर्‍यो भनेपछि मैले लिगल सामान हो भने कानूनअनुसार काम गर्नुहोला भनेको मात्रै हुँ ।’

महराले आफूले अनुसन्धानका लागि बोलाउन भनेपनि कसैले नबोलाएको बताएका थिए ।

महराको चिनियाँ व्यापारीसँग भएको हिमचिमको कारणले प्रमाण जुट्दै गएपछि प्रधानमन्त्री प्रचण्डलाई सकस परेको हो । त्यसो त प्रचण्डले पछिल्लो पार्टीको बैठकमा कुनै प्रकरणमा दोषी देखिए सजाय भोग्न तयार हुनुपर्छ भन्ने आशयको अभिव्यक्ति दिइसकेका छन् ।

कुनै पनि प्रकरणमा नाम जोडिएपछि निष्पक्ष छानबिन हुनुपर्ने माओवादी केन्द्रका सचिव राम कार्कीको जोड छ ।

उनले भने, ‘महराजीको बारेमा पार्टीको बैठकमा औपचारिकरूपमा छलफल भएको त छैन । तर, कुनै प्रकरणमा जोडिएपछि छानबिनको लागि सघाउनुपर्छ भन्ने नै छ ।’

प्रधानमन्त्रीले प्रचण्डले आफूनिकटका व्यक्तिलाई जोगाउन लागेको भन्ने कुरामा सत्यता नभएको उनको दाबी छ ।

‘प्रधानमन्त्री आफैंले अहिले सुशासनको कुरालाई प्राथामिकता दिएर छानबिन प्रक्रिया अगाडि बढाउँनुभएको छ । छानबिन नगर्न उहाँबाट दबाब हुन्छ जस्तो लाग्दैन । भएको पनि छैन’ उनले थपे ।
तर, नेताहरूले महरामाथि प्रश्न उठेपछि प्रष्ट पार्नुपर्ने दबाब बढाइरहेपनि प्रधानमन्त्री दुई साताअघि बसेको बैठकमा यसलाई एजेण्डा नै बनाएनन् । यद्यपि, नेताहरूले प्रश्न उठाएपनि प्रचण्डले जवाफ दिएनन् । तर, महराजस्तै प्रकरणमा प्रश्न उठेका उपमहासचिव बर्षमान पुनले पार्टी बैठकलाई प्रष्टीकरण दिए ।

त्यसो त महरामाथि प्रश्न उठेको यो पहिलो प्रकरण होइन । यसअघि पनि २०६४ मा माओवादी शिविर प्रकरण, संसद सचिवालयकी कर्मचारी बलात्कार प्रकरण लगायत धेरै छन् । बलात्कारको आरोप लागेपछि महराले सभामुखबाट समेत राजीनामा दिनु परेको थियो । त्यही प्रकरणबाट उन्मुक्ति पाएर राजनीतिमा सक्रिय भएलगत्तै अहिले सुन प्रकरणमा मुछिएका छन् । भलै, लडाकु शिविर प्रकरणमा प्रचण्डकै नाम समेत जोडिन्छ ।

प्रचण्डले अहिले महरालाई विचार मिल्ने शक्तिहरुसँग पार्टीमा भित्र्याउँन पहल गर्ने महत्वपूर्ण जिम्मेवारी दिएका छन्। अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सरकारमा केन्द्रित भइरहेको बेलामा अध्यक्षको निर्देशनअनुसार महराले गृहकार्य गरिरहेका हुन्छन् । उनैमार्फत् अहिले नेकपाका महासचिव नेत्रविक्रम चन्द्रलाई पार्टीमा भित्र्याउने अन्तिम तयारीमा छन् ।

प्रचण्ड पनि विप्लवलाई महासचिव बनाएर भित्र्याउन तयार भएपछि उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा सन्तुष्ट छैनन् । विप्लवसँग महरामार्फत् प्रचण्ड नजिकिएसँगै पुन र शर्मा एकैठाउँमा उभिएर पार्टीभित्र दबाब बढाउने प्रयास गरिरहेका छन् । त्यसो त कतिपयले महराको यो प्रकरण पार्टीभित्रको आन्तरिक विवादको ‘साइड इफेक्ट’ को भएको समेत माओवादी वृत्तमा चर्चा छ ।

के भन्छन् माओवादी नेता ?

तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाई पार्टीमा प्रचण्डलाई अहिले कसैले घेराबन्दी गर्न नसक्ने दाबी गर्छन् । सरकार आफैँ भ्रष्टाचारविरोधी अभियानमा लागेको भएकाले आफू निकटकालाई पनि प्रधानमन्त्री जोगाउन खोजेको कुरामा सत्यता नभएको उनको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्रीजीले आफैंले बोलिराख्नुभएको छ । सीआईबीको प्रतिवेदन भनेर बाहिर चर्चा गरिएको छ । हामीले कसैलाई नसमात्नु भनेको छैन । कुन अपराधको कार्यमा संलग्न भए, राज्यको निकायले अनुसन्धानको लागि कुनै पनि बेला जसलाई पनि समात्न पाउँछ भनिराख्नुभएको छ । कुनै प्रकरणमा जोडिए मलाई पनि समात्नु भनेर अहिलेसम्म कुनै प्रधानमन्त्रीले भनेको छ र ? उहाँले बोल्नुभयो । म, मेरो परिवार, पार्टी र मेरो सहकर्मी जसलाई पनि समात्न सक्नुहुन्छ भनिसक्नुभयो ।’

दोषी देखिएर छानबिनको लागि महरालाई पक्राउ गरे माओवादी नेता कार्यकर्ता न जुसुल लगाउन नजाने प्रष्ट पारे ।

‘आरोप लागेपछि जो पनि अनुसन्धानमा उभिएर जवाफ दिन तयार हुनुपर्छ । आफू संलग्न छैन भने क्लिन चिट लिएर आउने अवसर पनि हुन्छ’ उनको भनाइ छ ।

त्यसो त माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले पनि महरामाथि उठेको प्रश्नमा छानबिनका लागि प्रधानमन्त्रीले नरोको दाबी गरे । उनले भने, ‘उहाँले पार्टीभित्र वा बाहिर जो भएपनि छाड्दैनौं भनिसक्नुभएको छ । त्यसैले उहाँले छानबिन नै नगर्नु भनेर कसैलाई दबाब दिनुभएको छैन ।’

गठबन्धनमा आशंका

प्रधानमन्त्री प्रचण्डलाई गठबन्धनभित्र पनि महरामाथि छानबिन अघि बढाउन दबाब छ । सीआईबीले प्रमाण भेट्दासमेत महरालाई अनुसन्धानमा नल्याएपछि गठबन्धनमा आबद्ध दलका नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीमाथि नै प्रश्न गरेका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकमा महामन्त्री गगन थापाले भनेका थिए, ‘यो तस्करी सानो मान्छेले गर्नसक्ने कुरा होइन । सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ । महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँटसमेत गरेको छैन ।’

कांग्रेसका अधिकांश सांसदहरू प्रधानमन्त्री र गृहमन्त्रीको कदममाथि प्रश्न उठाउँदै विकल्प खोज्नुपर्नेसमेत सभापति शेरबहादुर देउवालाई सुझाव दिएका थिए ।

शरणार्थी प्रकरण, पार्टीका सांसद सुनिल शर्मा पक्राउ लगायतको विषयले कांग्रेस पनि झस्किएको छ । प्रधानमन्त्रीमाथि शरणार्थी प्रकरणमा देउवालाई दबाबमा राख्ने, ललिता निवास प्रकरणमा माधव नेपाल र गौर प्रकरणमा उपेन्द्र यादवलाई दबाबमा राखेर आफू बलियो हुन खोजेको आरोप छ ।

प्रचण्डले विपक्षीलाई छानी छानी समातेर आफूनिकटलाई जोगाउन खोजेको कांग्रेसका अधिकांश सांसदहरूको बुझाइ छ । गठबन्धन दलभित्र आशंका पैदा भइरहेको बेलामा शीर्ष तहको बैठकमा पनि महराबारे छलफल भएको थियो । तर, गृहमन्त्री श्रेष्ठले फोन कलकै आधारमा छानबिन अगाडि बढाउन नसक्ने बताएपछि बालुवाटार बैठकले सफाइ दिएको थियो ।

यता, प्रधानमन्त्रीको कदमले कांग्रेस पनि झस्किएपछि सत्ता समीकरण फेरिनसक्ने चर्चा पनि छ । त्यो कुरालाई प्रधानमन्त्री प्रचण्ड स्वीकार्न तयार छैनन् ।

बिहीबार रामेछापको दोरम्बा पुगेर प्रचण्डले भने, ‘गठबन्धनभित्र कुनै समस्या छैन । हामी एक ढिक्का छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर