एमालेमा ‘बिदा’ बसेका मणि थापाका तीन विकल्प – Nepal Press

एमालेमा ‘बिदा’ बसेका मणि थापाका तीन विकल्प

कैलाली । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा अहिले पार्टीमा निष्क्रिय छन् । पार्टीमा पत्र नै दिएर ‘बिदा’ बसेका थापालाई पार्टीले कुनै पनि जिम्मेवारी दिएको छैन र उनी पनि अहिले जिम्मेवारी लिने मुडमा छैनन् ।

नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दै अन्तर पार्टी निर्देशन जारी गर्दा मणिचन्द्र थापाको जिम्मेवारीमा एमालेले ‘बिदा’ उल्लेख गरेको छ ।

थापा कहिले सम्म बिदामा बस्ने र त्यसपछि थापाको योजना के छ भन्ने विषयमा एमाले भित्र अहिले चर्चा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले थापाको निष्क्रियताप्रति चासो राखेको थियो ।

‘उहाँ पार्टीको बैठक र गतिविधिमा देखिनु भएको छैन । त्यस विषयमा सचिवालय बैठकमा कुराकानी भएको हो ’ एक नेताले भने, ‘ उहाँलाई चाँडै सक्रिय बनाउने गरी छलफल गर्ने जिम्मा पार्टी महासचिवलाई दिइएको छ । ’

अहिले एमाले महासचिव शंकर पोखरेल थापासँग समन्वयमा छन् । तर, अध्यक्ष ओलीसँग भने थापाको कुराकानी भइरहेको छैन ।

एमाले नेताहरूका अनुसार मणि थापा चुनाव अघिदेखि नै सक्रिय थिएनन्।

‘मिसन ग्रासरूट’मा उनको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश तोकिएको थियो। त्यति बेला वैशाखदेखि सुरु हुने ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’लाई देखाएर थापा कार्यक्षेत्रमा गएका थिएनन्। सङ्गीत अभियात्रा लिएर भने उनी धनगढी पुगेका थिए ।

त्यस बेला नेपाल प्रेसको नेपाल टकमा उनले भनेका थिए, ‘पुरानो एमालेको भूत जाग्यो, कुरा सुन्ने मामिलामा ओलीभन्दा प्रचण्ड डेमोक्य्राट ।’

उनले जनयुद्धबारे एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्ति प्रति पनि आलोचना गरेका थिए ।

‘१२ बुँदेहरूले जनयुद्धलाई विरोध गर्न मिल्दैन । म फेरि त्यो बेला १२ बुँदेको विरोधबाट प्रचण्डसँग विद्रोह गरेको मान्छे हो । १२ बुँदेले विरोध गर्न मिल्दैन । यसमा माधव कमरेडको धेरै ठुलो भूमिका छ’ उनले अगाडी भने, ‘ नेकपाको दस्ताबेजमा जनयुद्धको अहम् भूमिका छ भनेका छौँ । अहिले पनि त्यो लेखिएको छ । प्रचण्डलाई आतङ्ककारी भन्नुहोस् तर, माओवादी आतङ्ककारी नभन्नुहोस् ।’

एमाले अध्यक्ष ओली प्रति थापा त्यस अघिबाटै रुष्ट थिए । ओली पनि थापासँग रुष्ट छन् ।

गत वर्ष साउनमा घनश्याम भुसालसहित केही नेताले काभ्रेको बल्थली रिसोर्टमा वामपन्थी आन्दोलनबारे विमर्श गरेका थिए। उक्त छलफलमा मणि थापा पनि थिए। त्यो छलफलमा थापाले दिएको अभिव्यक्तिले ओली चिढिएको धेरैको बुझाइ छ ।

थापाले उक्त विमर्शमा एमाले दक्षिणपन्थी भासतिर अघि बढेको मात्रै भनेनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीको शैलीमाथि पनि प्रश्न उठाएका थिए।

काभ्रेको बल्थली रिसोर्टमा थापाले भनेको अभिव्यक्तिबारे औपचारिक रूपमा भने छलफल भएको छैन । तर, थापालाई भने आफू एमाले भित्र नमिलेको आभास भइरहेको छ । उनी अहिले एमालेमै रहने वा नरहने भन्ने विषयमा पनि अनिर्णीत छन् ।

‘मैले कुनै निर्णय गरेको छैन । के गर्ने भन्ने विषयमा कुनै योजना छैन’ उनले नेपाल प्रेसलाई भने तर, यस्तो अनिर्णय भएर धेरै बस्दिन केही समय भित्रै ठोस निर्णय दिन्छु । ’

आगामी स्थायी कमिटी बैठक आह्वान हुँदा सम्म आफ्नो मार्ग चित्र प्रस्ट गर्ने थापाको बुझाइ छ । थापाका अगाडी तीन विकल्प रहेको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद अगाडी बढाएर, छलफल गरेर एमालेमै सक्रिय रहने, पार्टीबाट बिदा भएर साहित्यका कामहरू अगाडी बढाउने वा पार्टी परिवर्तन गर्ने ।

थापा विप्लव नेतृत्वको नेकपा प्रवेश गर्ने तयारी गरेका विषयहरू सार्वजनिक नभएका होइनन् । तर, त्यसमा सत्यता नभएको उनको दाबी छ । ‘विप्लप जीसँग मेरो सम्बन्ध निकै राम्रो हो । कुराकानी पनि हुन्छ तर, उहाँको पार्टीमा जाने भन्ने विषयमा अहिले कुनै तयारी वा छलफल भएको छैन’ उनले प्रस्ट पारे ।

थापा पार्टी भित्रको अवस्थाका कारण आफू बिदामा रहेको बताउँछन् । उनको बुझाइमा एमालेले सुरुमा भनेको नेकपाको निरन्तरता हुन सकिरहेको छैन ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादी पूर्ववत् अवस्थामा पुराएपछि माओवादी जनयुद्ध लडेका थापा सहित रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी लगायत नेताहरूले एमाले रोजेका थिए ।

एमालेको चितवनमा सम्पन्न १० औँ महाधिवेशनमा स्थायी कमिटी सदस्यको जिम्मेवारी दिइएको थियो । तर, उनी अहिले निष्क्रिय छन् ।

माओवादीमा रहँदा पनि थापा विद्रोही स्वभावका थिए । २०६२ मा भारतको नयाँ दिल्लीमा तत्कालीन सात दल र माओवादीबिच १२ बुँदे सहमतिप्रति विमति जनाउँदै उनले पार्टी परित्याग गरे।

माओवादी छोडेका रवीन्द्र श्रेष्ठ र थापाले क्रान्तिकारी कम्युनिस्ट केन्द्र खोलेका थिए। २०७३ मा मात्रै थापा माओवादीमा फर्किएका हुन्। श्रेष्ठ त्यसअघि नै एमालेमा प्रवेश गरेका थिए।

नेकपा विघटन भएर एमालेमा रहेका थापाले अध्यक्ष ओलीको कार्यशैली प्रति सार्वजनिक रूपमै प्रश्न उठाइरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर