कस्ता पत्रकार, कसका मिडिया हाउस ? – Nepal Press

कस्ता पत्रकार, कसका मिडिया हाउस ?

लगानीकर्ताको आवरण र आचरणको कारण प्रश्न र अविश्वासको घेरामा सञ्चारमाध्यम

नेपालको सबैभन्दा ठूलो सञ्चार गृह भएको दाबी गर्ने कान्तिपुर मिडिया ग्रुपमा पनि श्रमजीवी पत्रकार तथा कर्मचारीको व्यवस्थापनमा समस्या रहेको सार्वजनिक भइरहेको छ । सञ्चार गृहमा तलब दिन दबाबस्वरूप आन्दोलन नै गर्नुपर्ने अवस्था आएको छ । अन्नपूर्ण पोष्ट, नागरिक दैनिकदेखि राजधानी दैनिकमा कार्यरत पत्रकारले पनि तलब नपाएको भन्दै धर्ना तथा जुलुस गर्नुपरेको यथार्थ छ । आफूलाई अब्बल संस्था दाबी गर्ने सञ्चार गृहले पनि तलबमा आनाकानी गर्नु नियतमै खोट भएको स्पष्ट हुन्छ ।

श्रमिकलाई पारिश्रमिक दिने कुरामात्र होइन सञ्चारमा लगानी नै अपारदर्शी हुने गरेका अनेकौं उदाहरण छन् । यस्ता समस्या समाधानका लागि नयाँ विकल्पको खोजी आवश्यक छ । केही वर्ष पहिले अवैध मुद्रा अपचलनको मुद्दामा नेशनल टेलिभिजनका सञ्चालक पक्राउ परे । लाखौं भारतीय नोट उनको साथबाट बरामद भएको समाचार आयो । त्यसबाहेक लागुऔषध कारोबारमा पनि उनको मुद्दा छ । उनी अहिले पनि कारागारमै छन् ।

त्यसैगरी सगरमाथा टेलिभजिनका सञ्चालक निर्मल गुरुङ पनि गोरखा विकास बैंकको रकमको विषयमा प्रहरीको पक्राउ सूचीमा परेका थिए । केही समय उनी फरार नै भए । त्यसबेला झण्डै २०० करोड रकम अपचलन गरेको आरोप उनलाई लागेको थियो । त्यसो त केही समयअघि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कान्तिपुर मिडियाका अध्यक्षविरुद्ध त्यस्ता केही आरोपहरू सार्वजनिक रूपमा लगाए । कान्तिपुरका अध्यक्षले मिडिया मालिकको आवरणमा अवैध काम गरेको लामिछानेको भनाइ थियो ।

करोडौं रुपैयाँ लगानी गरेर सञ्चालन गरेका धेरै मिडिया हाउसका सञ्चालकका विषयमा सार्वजनिक प्रश्न उठिरहेका छन् । तैपनि सानो विज्ञापन बजार रहेको देशमा सयौं टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन मिडिया सञ्चालन भइरहेका छन् । सरकारी तथ्याङ्क हेर्ने हो भने अहिले पनि त्यसको क्रम घटेको छैन । अझ बढ्दै छ । विज्ञापनको सानो बजार पाठक तथा स्रोता/दर्शकको कमी हुँदा पनि सञ्चार गृह खोल्ने क्रम जारी रहनुले पनि नेपाली सञ्चार उद्योग र त्यसका लगानीकर्ताप्रति सार्वजनिक प्रश्न उठिरहेको हो । त्यसको उचित जवाफ लगानीकर्ताले दिइरहेका छैनन् । प्रश्न बढिरहेको छ ।

सानो विज्ञापन बजार रहेको देशमा सयौं टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन मिडिया सञ्चालन भइरहेका छन् । सरकारी तथ्याङ्क हेर्ने हो भने अहिले पनि त्यसको क्रम घटेको छैन । अझ बढ्दै छ । विज्ञापनको सानो बजार पाठक तथा स्रोता/दर्शकको कमी हुँदा पनि सञ्चार गृह खोल्ने क्रम जारी रहनुले पनि नेपाली सञ्चार उद्योग र त्यसका लगानीकर्ताप्रति सार्वजनिक प्रश्न उठिरहेको हो ।

माथिका केही प्रतिनिधि घटनामात्र हुन् । आम सञ्चारमाध्यमप्रति जनविश्वास गुमाउने काम सञ्चालकले गरेका अरू धेरै उदाहरणहरू छन् । अझ कालो धनलाई सेतो बनाउन सञ्चार उद्योगमा लगानी गर्ने गरेको आरोप पनि सुनिन थालेको छ । करोडौं लगानी गरेर मनग्ये नाफा कमाउन सक्ने क्षेत्र हुँदा पनि सञ्चारमा लगानी गर्नुको भित्री रहस्य बेलाबखत खोजी हुने गरेको छ । तथापि प्रश्न अझै अनुत्तरित नै छ । त्यसो त टेलिभिजन सञ्चालक जमिम शाह केही समय अघि मारिए । तर, उनलाई मार्नुको कारण सञ्चारसँग सम्बन्धित विषय नभइ अन्य कुनै कारण भएको तथ्य बाहिर आयो । कारागारमै थुनिएको अवस्थामा नेशनल टेलिभिजनका सञ्चालक अन्सारीमाथि गोलीसमेत प्रहार भयो । कारागारभित्रै पुगेर गोली प्रहार हुनुले पनि उनलाई जसरी पनि मार्ने योजना रहेको स्पष्ट देखिन्छ ।

पछिल्ला दिनमा सञ्चार गृह सञ्चालन गर्ने क्रम बढेको देखिन्छ । त्यसो त सरकारी निकायमा दर्ता भएका टेलिभिजन र अनलाइनको सङ्ख्या हेर्ने हो भने पनि देशको विज्ञापन बजारको तुलनामा धेरै हो । तर, यी सञ्चारमाध्यम कसरी चलिरहेका छन् भन्ने प्रश्न चाहिँ सधैं आइरहन्छ । सञ्चालन सुरु भएको एक वर्ष नपुग्दै कर्मचारीलाई तलब दिन नसक्ने सञ्चार गृहको सङ्ख्या ह्वात्तै बढेको छ ।

प्रजातन्त्र पुनःस्थापनासँगै नेपालमा सञ्चारमाध्यम खोल्ने क्रम धेरै बढेको हो । अझ सञ्चालन खर्च नै महँगो भएको टेलिभिजन खोल्ने क्रम पनि त्यति नै छ । केहीबाहेक सञ्चालन भइरहेका टेलिभिजनले बैलैमा तलब दिएका छैनन् । कतिपय सञ्चारमाध्यममा कार्यरत पत्रकार ९० दिनको एक महिना मानेर गुजारा चलाइरहेका छन् । अनि केहीबाहेकको सञ्चालनको स्रोत पनि पारदर्शी छैन । यसले पनि आम सञ्चारमाध्यमप्रति जनताको विश्वास कम हुँदै गएको हो ।

तलब नपाएपछि सम्झौतामा समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी र नाजायज फाइदाका लागि समाचार बङ्ग्याउने सञ्चालकका कारण पनि थप समस्या आइरहेको छ । आम सञ्चारमाध्यममा विश्वास घट्यो भन्ने प्रमाण पटक पटक सार्वजनिक भएका छन् ।

मधु आचार्यको नेतृत्वमा डा. भूमिराज चापागाईं, डा सुधांशु दाहाल, कुन्द दीक्षित र रमेशप्रसाद अधिकारी संलग्न भएको एक टोलीले गरेको अध्ययनमा सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घटेका छन् । सञ्चारविज्ञसहितको टोलीले कोरोना महामारीपछि गरेको अध्ययनअनुसार टेलिभिजनका दर्शकमा १२.२, रेडियोका स्रोता १४ र पत्रपत्रिकाका पाठक १७ प्रतिशतले घटेका छन् । समाचार ग्रहणका लागि यी माध्यमको प्रयोग मानिसले अनिवार्य नभइ आक्कलझुक्कल रूपमा गर्न थालेको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ । यद्यपि, समसामयिक सूचना र आएका सूचनाको विश्वसनीयताका दृष्टिले यी माध्यमको औचित्य कायमै रहेको उल्लेख छ ।

कालो धनलाई सेतो बनाउन सञ्चार उद्योगमा लगानी गर्ने गरेको आरोप पनि सुनिन थालेको छ । करोडौं लगानी गरेर मनग्ये नाफा कमाउन सक्ने क्षेत्र हुँदा पनि सञ्चारमा लगानी गर्नुको भित्री रहस्य बेलाबखत खोजी हुने गरेको छ । तथापि प्रश्न अझै अनुत्तरित नै छ ।

मुलुकभरका १८ वर्ष उमेरमाथिका ५ हजार ५८२ जनाबीच स्थलगत अध्ययनका आधारमा ‘शेयरकास्ट इनिसिएटिभ नेपाल’ले प्रकाशन गरेको ‘नेपाल मिडिया सर्भे, २०२२’ ले सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूको प्रयोग, विश्वसनीयता र सञ्चार उद्यमी तथा सञ्चारकर्मीहरूका लागि भावी लक्ष्य कोर्न बाटो देखाइदिएको छ । सर्वेक्षणमा सहभागीमध्ये रेडियोको प्रयोगको सङ्ख्या ४५.२, टेलिभिजनको प्रयोग ४८.५, मोबाइल र इन्टरनेटको प्रयोगको सङ्ख्या ६३, अनलाइन न्युजपोर्टलको प्रयोग ३० र पत्रपत्रिकाको प्रयोग १५ प्रतिशतले गर्ने गरेका छन् । पछिल्लो समयमा पत्रपत्रिकाको उत्पादन सङ्ख्या घट्न थालेको छ ।

लामो समयदेखि प्रकाशन भइरहेको हिमाल खबर पत्रिका बन्द नै भयो । पत्रपत्रिकाहरूले अनलाइन संस्करणबाट आफ्ना पाठकलाई जोड्न थालेका छन् । पत्रपत्रिकको उपलब्धता नहुने भएकाले तथा आफ्नो पेसा व्यवसायका कारण समय दिन नसकिने हुँदा पत्रपत्रिका पढ्ने प्रवृत्ति घटेको देखिएको छ । प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरूको पछिल्लो आँकडा चार हजारभन्दा बढी छ । काउन्सिलको पछिल्लो प्रतिवेदनले पनि सञ्चारमाध्यमलाई सामाजिक सञ्जालका कारण चुनौती थपिएको स्पष्ट उल्लेख गरेको छ ।

सर्वसाधारण कुन मिडिया हो, कुन सामाजिक सञ्जाल हो, को पत्रकार हो र को होइन भनेर छुट्याउन सक्ने अवस्थामा देखिएका छैनन् । आमसञ्चारका सबै क्षेत्रलाई समेट्नु र नागरिकको विश्वास बढाउनु आजको आवश्यकता हो । अनलाइन सञ्चारमाध्यमका समाचारलाई विश्वसनीय र सन्तुलित बनाउन अझै आवश्यक छ । नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकले विश्वसनीय, सन्तुलित र खोजमूलक समाचार दिन नसकेको पाठकको बुझाइ छ ।

केहीबाहेक सञ्चालन भइरहेका टेलिभिजनले बैलैमा तलब दिएका छैनन् । कतिपय सञ्चारमाध्यममा कार्यरत पत्रकार ९० दिनको एक महिना मानेर गुजारा चलाइरहेका छन् । अनि केहीबाहेकको सञ्चालनको स्रोत पनि पारदर्शी छैन ।

अनलाइन सञ्चारमाध्यमको सङ्ख्या वृद्धि भएको छ । तर स्रोत, साधन र व्यवस्थापनमा अभाव कायम छ । त्यस्ता सञ्चारमाध्यमका सञ्चालक सुरुमा धेरै उत्साही हुने तर काम गर्दै जाँदा झारा टार्ने प्रवृत्ति र हुबहु सार्ने अवस्थामा पुगेका छन् । पत्रकारिता अनुभव नभएका व्यक्तिलाई अनलाइन सञ्चारमाध्यम सञ्चालन चुनौतीपूर्ण छ । पत्रकारिता गर्दैगर्दा त्यसको आधारभूत मूल्य, मान्यताबारे जानकार हुनुपर्छ । पत्रकारिताको अनुभव र सीपको अभावमा नजानेर पनि गल्ती भइरहेको हुन्छ । पत्रकारिताको अनुभवविना यस क्षेत्रमा प्रवेश गर्दा गुणस्तरीय पत्रकारितामा चुनौती थपिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा जोकोही पत्रकार जस्ता देखिन्छन् । सञ्चारमाध्यम सञ्चालकको योजनामा सामाचार तयार हुने कारण जनमानसमा उनीहरूप्रतिको विश्वास कम हुँदै गएको छ । केही करोड रुपैयाँ जोरजाम गरेर सञ्चारमाध्यम सञ्चालन गर्ने अनि कार्यरत पत्रकार तथा कर्मचारीलाई तलब नदिने प्रवृत्तिले पनि सञ्चारमाध्यमको विश्वसनीयतामा कमी आएको पक्कै हो । यसतर्फ सरकारी निकायले चासो राख्न आवश्यक छ । अन्यथा विकृति घट्ने अवस्था देखिँदैन ।

त्यसो त सञ्चालनमा रहेका सञ्चारमाध्यम ‘मर्जर’को व्यवस्था गरेर सक्षम र भरपर्दो मिडिया सञ्चालनको अवस्था तयार गर्नु अहिलेको आवश्यकता हो । सञ्चारमाध्यम सञ्चालनपूर्व केही रकम धरौटी राखेरमात्र अघि बढ्न सकिने अवस्था सिर्जना गर्न आवश्यक छ । सञ्चालकले केही रकम धरौटी राखेपछि कार्यरत पत्रकार वा कर्मचारीले सोही धरौटीबाट पारिश्रमिक लिने अवस्था सिर्जना हुनसक्छ । अन्यथा नेपाली सञ्चारमाध्यम सरकारले केही राजस्व सङ्कलन गर्ने माध्यममात्र बन्नेछ । विकृत धन्दा गर्नेहरूले सञ्चारमाध्यममा लगानी गर्ने वातावरण अन्त्य गर्न ठोस पहल गर्न ढिला भइसकेको छ ।

(याे लेखकको निजी विचार हाे ।)


प्रतिक्रिया

3 thoughts on “कस्ता पत्रकार, कसका मिडिया हाउस ?

  1. लेखकको मन्साय सत्य नै रहेको छ।स,चार प्रतिको पढ्ने रुचि घट्नु ,समाजिक संजाल्को सुविधा र संचारमा कपी पेस्ट प्रबृतिले अबिस्वास्नियता बढदै छ।राज्यले कठोर्ता पुर्वक निगरानी गर्नुपर्ने खाँचोलाई स्वीकारेको छैन।

  2. बिचारोत्तेजक यश लेखले संचारको आडमा अदृश्य धन्धाको खेती खोतल्ने प्रयास गर्नु भएको छ।उमा सिंहको हत्याको कारण त्यहि मिडियाको आवरणमा भैइरहेको काला धन्धा प्रती सुक्ष्म अध्यन गर्न शुरु गरेको परिणाम उन्को हत्या भएको बुझिन्छ।
    अगाडि देखिने एक्थोक भएपनिअन्तर पट्ट्मा हुने अद्दृस्री खेल्को निगरानी,अध्ययण,छ।न्विन खै राज्यले गरेको? यसरी कसरी हुन्छ संचारगृहहरुको स्वस्थ्यता?

Leave a Reply

Your email address will not be published. Required fields are marked *