बार्बी: प्लास्टिकको पुतलीले देखाएको सामाजिक यथार्थ – Nepal Press
चलचित्र चर्चा

बार्बी: प्लास्टिकको पुतलीले देखाएको सामाजिक यथार्थ

हाम्रो आँखाबाट हामीले हाम्रो खेलौना/गुडियाहरुको संसार देखेका छौं, आफैंले कल्पना गरेर विभिन्न परिदृश्यमा उनीहरुलाई राखेका पनि होला । अब सोच्नुहोस्, यही हामीले खेलाउने सधैं राम्रो पहिरन लगाएकी खुशी देखिने सुन्दर गुडियाको आँखाबाट हाम्रो संसार कस्तो देखिएला ? बार्बीले यही कुरा चित्रण गरेको छ ।

बार्बीले आफ्नो ट्रेलरमा उल्लेख गरेको छ, यदि तपाईं बार्बी मनपराउनुहुन्छ भने यो चलचित्र तपाईंको लागि हो, यदि मनपराउनु हुन्न भने पनि यो तपाईंको लागि हो ।

यथार्थ भन्नुपर्दा- आई एम नट अ बार्बी गर्ल, सानो हुँदा नबुझिकन मैले गीत गाउँथें । सायद मेरो उमेरमा हुर्केका धेरैले गीतको बोलको अर्थ थाहा नपाइ ‘यू क्यान ब्रस माइ हेयर अन ड्रेस मी ए वेरिवह’ भन्दै गाउनुभयो होला । भजाइना अर्थात योनी नभएको गुडिया किन सेक्सुअलाइज भइन् भन्ने कुराले समाजको ऐना देखाउँछ । त्यतिमात्र हैन मेरो निम्ति बार्बीले पूँजीवादको उपभोक्तावादी पक्षलाई प्रतिविम्बित गर्दछ । तर पनि मलाई बार्बी हेर्न जिज्ञासा धेरै नै भयो । म उपभोक्ताकरणको शिकार भएँ कि भइनँ मलाई थाहा छैन । तर, मलाई यदि कसैले फेरि बार्बी हेर्न जाम भन्यो भने म फेरि पनि टिकट लिएर हलभित्र पुग्न तयार छु । हो, म अझै पनि बार्बी पूँजीवादको प्रोडक्ट हो भन्छु, जुन सानोमा मध्यम वर्गीय परिवारमा हुर्केको मैले कहिल्यै खेल्न पाइनँ ।

तर, म बार्बी एकचोटी हेर्नुपर्ने चलचित्र भनेर आफ्नो मत राख्छु । बार्बीको छायांकन, कथा, कलाकारको प्रस्तुति र यसले उठाएको विषयवस्तु भने साँच्चिकै हेर्नुपर्ने खालको छ ।

चलचित्रको सुरुवातमा बार्बील्याण्डमा भएकी पहिलो बार्बी जब आफूसँग दैनिक रुपमा नसोचेको घटना घट्न थाल्छ, उनी त्यसको कारण पत्ता लगाउन रियल वर्ल्ड अर्थात वास्तविक मानिस भएको संसारमा पुग्छिन् । उनलाई उनको यात्रामा साथ दिन केन उनीसँगै आउँछन् । चलचित्र बार्बील्याण्ड र रियल वर्ल्डको परिवेशको बीचको सेरोफेरोमा घुमेको छ ।

बार्बील्याण्ड वास्तविक दुनियाँभन्दा फरक छ । यहाँ महिलाले सोचेको पूरा हुन्छ । यहाँ महिला स्वतन्त्र रुपले आफ्नो चाहनाअनुरुप काम गर्छन् । यहाँ कुनै पनि समाज र पुरुषले बार्बीहरुलाई रोक्दैनन् । तर, वास्तविक दुनियाँ भने पितृसत्ताले भरिएको छ ।

बार्बी ग्रेटा गेर्विगद्वारा निर्देशित चलचित्र हो । ग्रेटाले निर्देशन गर्ने पात्रहरु जिज्ञासु, फेमिनिस्ट, र सामाजिक प्रतिबन्धका विद्रोही हुन्छन् । उनको निर्देशनमा मानवीय र यथार्थवादी लेन्स हुन्छ । उनले यो चलचित्रमा उनको लेन्स बिर्सिएकी छैनन् । बार्बील्याण्ड वास्तविक दुनियाँभन्दा फरक छ । यहाँ महिलाले सोचेको पूरा हुन्छ । यहाँ महिला स्वतन्त्र रुपले आफ्नो चाहनाअनुरुप काम गर्छन् । यहाँ कुनै पनि समाज र पुरुषले बार्बीहरुलाई रोक्दैनन् । तर, वास्तविक दुनियाँ भने पितृसत्ताले भरिएको छ । जसरी महिलाको अस्तित्व वास्तविक जीवनमा समाजले पुरुषसँग जोड्छ, केनले आफ्नो अस्तित्व बार्बीसँग बार्बील्याण्डमा जोडेका छन् । तसर्थ बार्बील्याण्ड आफैंमा महिलावादी भए पनि समानता नभएको कारण आदर्शवादी छैन ।

बार्बी जति रियल वर्ल्डमा असहज महसुस गर्छिन्, केन उति नै आफूलाई महत्वपूर्ण र प्रभावकारी भएको महसुस गर्छन् । पितृसत्ताले कसरी पुरुषको अहंकार वृद्धि गर्छ र कसरी उसलाई खोक्रो पुरुषत्व दिन्छ भन्ने कुरा रयानगस्लिंगलेले आफ्नो पात्र केनबाट दर्साएकाछन् । वास्तवमा भन्नुपर्दा केनले हामीलाई हाम्रो समाज हेर्ने नयाँ आँखा दिएका छन् । सोच्नुस् त के कोही जन्मिँदैमा गलत र सही भएर जन्मिन्छ र ? जसरी केनले पितृसत्ताबारे सिके, हरेक दिन हामी घरमा, छरछिमेकमा, आफन्त भाइसँग त्यो सिकिरहेका छौं र सिकाइ पनि रहेका छौं । पाहुना आउँदा चाहे महिलाले चिया पकाउने होस् वा पुरुषले त्यही भान्सामा महिला खाना बनाएको बेला बाहिर बसेर राजनीतिबारे गफ गर्ने होस्, यो चलिरहेको समाजको चलनले धेरै आमजीवनमा भएका केन र बार्बीलाई पितृसत्ताको पाठ पढाइरहेका छन् ।

मार्गोटरोबीले बार्बीलाई आफ्नो अभिनयले जीवन्त पारेकी छन् । तर, चलचित्रमा सबैभन्दा यथार्थपरक पात्र अमेरिकाफेर्ररोले निभाएकी छन् । उनले वास्तविक दुनियाँको महिलालाई लिएर गरिने दोग्लो टिप्पणीको आलोचनामात्र गर्दिनन्, तर हरेक महिलाले दैनिकीमा भोग्ने भोगाइको कुरा गर्छिन् । महिला बन्न साँच्चिकै असम्भव छ । यो कुनै नयाँ कुरा हैन, यो कुनै नसोचिएको कुरा हैन । यो हरेक महिलाको अन्तर्मनको द्वन्द्व हो । तर, जब महिलाले महिलाको कथा भन्छन्, संवेदनशील भएर भन्छन् ।

कतै कतै यसले ग्रेटाद्वारा निर्देशित जेन अस्तेनको नोवेलमा आधारित लिटल वोमेनमा जोले भनेको मोनोलग याद दिलाउँछ । हामीले सन् १९५२ मा बनेकी बार्बीलाई समयअनुरुप बदलिँदो प्रगतिशील दिशामा अघि राखी मत र समाज भने प्रतिगामी मानसिकतामै अल्झेको छ । आधुनिक समाज सैद्धान्तिक रूपमा समयअनुरुप अघि बढ्यो । तर, के समाजले व्यवहारिकतामा त्यो सिद्धान्त लागू गर्‍यो ? चलचित्र हेरेपछि तपाईं यस्तै प्रश्नमा अल्झिनुहुन्छ ।

नारीत्व र सशक्तीकरण तथा फेमिनाइन इनर्जीको प्रतीक गुलाबी रंग

महिलाले गुलाबी रंगलाई सशक्तीकरणसँग जोडेको यो पहिलो चोटी हैन । तपाईंले भारतको गुलाबी ग्याङबारे सुन्नुभएको होला । यो त्यो महिलाको जमात हो, जो महिलालाई घरेलु हिंसा, यौन हिंसा र उत्पीडनविरुद्ध रक्षा गर्न प्रशिक्षण दिन्छ ।

बार्बील्याण्डमा सबै कुरा गुलाबी छ । गुलाबी रंगले मुख्यतः रोमान्स, आकर्षण, मिठास, स्त्रीत्व, एकता, सहानुभूति , र सौन्दर्यता जनाउँछ । बार्बीको निम्ति यो उत्साह, उमङ्ग र सशक्तीकरणको पहिचान पनि हो । यो उनको आफ्नै दुनियाँ हो, जहाँ उनलाई अरु कसैको भरपर्नु पर्दैन । बार्बी आत्मनिर्भर छिन्, उनी साहसी र आफ्नो कामप्रति विश्वस्त छिन् ।

महिला बन्न साँच्चिकै असम्भव छ । यो कुनै नयाँ कुरा हैन, यो कुनै नसोचिएको कुरा हैन । यो हरेक महिलाको अन्तर्मनको द्वन्द्व हो तर जब महिलाले महिलाको कथा भन्छन्, संवेदनशील भएर भन्छन् ।

एक दृश्यमा एक बार्बीले उनी वकिल भए पनि तथ्य, भावाना र तर्कलाई सँगै लान सक्छिन् भनेर भन्छिन् । यसले आफूभित्र रहेको फेमिनाइन एनर्जी लाइन लुकाई आत्मविश्वाससाथ अघि बढ्ने सन्देश दिन्छ । सफल हुन आफूलाई परिणत गर्नुपर्दैन भन्ने कुरा गुलाबी रंगले संकेत दिएको छ । केटी जस्तो रुने हो ? यस्तो अभिव्यक्ति मैले मेरो वरिपरि रहेको दाजुभाइले रुँदा अरुले दिएको निकै देखेको छु । तर, आफ्नो भावना व्यक्त गर्दा कोही कमजोर कसरी हुन्छ ? जब कोही महिलाले रिस पोख्छन्, तब उनलाई कस्तो अभद्र भनेर कराउने समाज कति दोग्लो छ । पुरुष र महिलाका निम्ति कति फरक नियम छन् यी समाजमा । एक खुला मनले रुन पाउँदैनन् र अर्को आक्रोश, निराशा पोख्न पाउँदैनन् । महिला सधैं कोमलताको प्रतीक र पुरुष सधैं जिम्मेवारीबोधमा रहनुपर्ने यो समाजले साँच्चै जबसम्म लैंगिक विभेद अन्त गर्दैन तबसम्म सबैले आफ्नोभित्रका भावहरु लुकाइ रहनुपर्ने हुन्छ । यहाँ महिलामात्र हैन पुरुष पनि यो सामाजिक टिप्पणीसँग जुधिरहेका छन् । मानसिक रुपमा सबै टीकाटिप्पणीसँग जुधिरहेका छन् ।

बार्बी, ब्राण्डिङ र भविष्य

बार्बीले समग्रमा राम्रो सन्देश दिए पनि, केही अन्य पक्षमा फिल्म फिक्का जस्तो देखिन पुग्छ । यसले केही पात्रहरुसँग न्याय गर्न सकेको छैन । ब्राण्डिङ हरेक उमेर समूहको लागि भनेर गरे पनि यो १३ वर्षमुनिको बालबालिकाको लागि सान्दर्भिक महसुस हुँदैन । बार्बीले समाजको यथार्थ महिलाको नजरबाट दर्शाए पनि यसले भौतिकवादको समर्थन गर्छ । महँगा पहिरन र सनेल जस्ता ब्याग बोक्ने बार्बी हरेक वर्गका निम्ति बनेकी हुन् त ?

पूँजीवाद र उपभोक्तावादको लागि बनेकी बार्बीले समानताको कुरा गर्दा कति ठाउँमा अनौठो लाग्छ । बार्बी गुडिया बनाउने मतेल कम्पनीको सेल्स यो चलचित्रको ब्राण्डिङले गरेर आफैं बढ्नेछ । बार्बी समयअनुरुप बदलिरहने छिन् । उनी आधुनिक दुनियाँको महिला भनेर विश्व व्यापीकरण भएकी थिइन्, हुन्छिन् र हुनेछिन् । तर, के हाम्रो वास्तविक दुनियाँ प्लास्टिकको बार्बीको दुनियाँ जस्तो महिलाको निम्ति अघि बढ्ने हुन्छ त ? यदि प्लास्टिकको गुडियाको चलचित्रले मलाई महिला सशक्तीकरण, आफूलाई स्वीकार्न र साहसी भएर आफ्नो लक्ष्य र आफ्नो पहिचानबारे सिकाउँछिन् भने सायद मलाई उनी हेर्न केही आपत्ति छैन ।


प्रतिक्रिया

One thought on “बार्बी: प्लास्टिकको पुतलीले देखाएको सामाजिक यथार्थ

  1. पुरुषबिरोधि अमानवीय चिन्तन बोकेकी महिलाको नारिवादी लेख!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर