बैङ्किङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्छ : डा. भट्ट – Nepal Press

बैङ्किङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्छ : डा. भट्ट

काठमाडौं । बैङ्किङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन) को अभ्यास र बढ्दो सूचना प्रविधिको कारण बैङ्किङ क्षेत्रका नैतिक अभ्यास अपरिहार्य बन्दै गएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् ।

शुक्रवार मोर्गन इन्टरनेसनल कलेजले आयोजना गरेको ‘इथिकल बैङ्किङ’ विषयक सेमिनारमा राष्ट्र बैंकका उपनिर्देशक डा। गुणराज भट्टले अबको बैङ्किङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए ।

काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजले नियमित शृङ्खला अन्तर्गत शुक्रवार बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार आयोजना गरेको हो ।

‘बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैङ्किङ क्षेत्रमै नैतिक अभ्यास आवश्यक पर्छ । सर्वसाधारणले पनि बैंक तथा वित्तीय संस्थाको नैतिक अभ्यासकै आधारमा मूल्याङ्कन गरेका हुन्छन्’, डा. भट्टले भने ।

राष्ट्र बैंकका अर्का उपनिर्देशक रामशरण पोखरेलले बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा ल्याउन वित्तीय संस्थामा हुने नैतिक अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

‘बैंक तथा वित्तीय संस्थालाई पारदर्शी र जबाफदेही बनाउन राष्ट्र बैंकले निरन्तर काम गरिरहेको छ । अबको दिनका बैंक तथा वित्तीय संस्थाहरू स्वनियमनमा रहनुपर्छ । त्यसलाई संस्था भित्रको नैतिक अभ्यासले सघाउँछ’, पोखरेलले भने ।

मोर्गन इन्टरनेसनल कलेजले विद्यार्थीहरूलाई बैङ्किङ क्षेत्रको असल अभ्यास र आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको क्याम्पस प्रमुख डा। दीपेन्द्र भण्डारीले बताए ।

‘विद्यार्थीहरूलाई व्यवहारिक रुपमै सक्षम बनाउनका लागि सेमिनारहरूले सहयोग गर्ने भएकाले नियमितरुपमा आयोजना गरिरहन्छौँ । स्रोत व्यक्तिहरूको अनुभव विद्यार्थीलाई सुनाउँदा पनि प्रशस्त ज्ञान हासिल गर्न सक्छन् । सोही उद्देश्यका लागि सेमिनार आयोजना गरिएको हो’, डा. भण्डारीले भने ।

सेमिनारमा कलेजका स्नातक तहका विद्यार्थी, अध्यापक एवं कर्मचारीहरूको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर