राजेन्द्र लिङदेनको प्रस्ताव- खर्च कटौती गर्न सेना होइन जनप्रतिनिधि घटाऔं – Nepal Press

राजेन्द्र लिङदेनको प्रस्ताव- खर्च कटौती गर्न सेना होइन जनप्रतिनिधि घटाऔं

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली सेनाको औचित्यमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सेनाको संख्या घटाउने कुरा बहसमा ल्याउन नहुने उनको भनाइ छ ।

खर्च कटौती गर्ने भए सेना नभएर जनप्रतिनिधि घटाउनुपर्ने उनले बताए ।

लिङदेनको भनाइ जस्ताको तस्तै

बेमौसमी ढंगले संसद र बाहिर पनि नेपाली सेना संख्या कटौतीको विषय चर्चामा आइरहेको छ । सेनाको औचित्वमाथि प्रश्न उठाउने काम भइरहेको छ । के प्रयोजन र कसको खुसीको लागि यो भइरहेको छ । यो जानेर भएको हो कि कसैको उक्साहटमा भएको हो ? नेपालको एकीकरण विश्वमा शान्ति स्थापना, आन्तरिक सुरक्षा, प्राकृतिक प्रकोपमा सहयोगलगायतको सम्पूर्ण आयाममा सहयोग पुर्‍याएको सेनामाथि किन प्रश्न उठिरहेको छ ।

खर्च कटौतीको नाममा सेनाको संख्या कटौती गर्ने अथवा सेनाविहीन राज्यको परिकल्पना गर्ने कुराहरू किन प्रवेश गरिरहेका छन् ? रक्षामन्त्रीले संसदमा स्पष्ट पार्नुपर्‍यो यो छलफलको विषय हो कि होइन ? हामीले सेनालाई खर्च गर्न रकम अभाव भएको भएपनि खर्च कटौती गर्ने अर्को उपायहरू छन् ।

यति सानो देशमा ४० हजार जनप्रतिनिधि किन चाहियो ? प्रदेश किन चाहियो ? माथिल्लो तहमा राष्ट्रिय र प्रतिनिधिसभा किन चाहियो ? एउटा संसद राखौं केन्द्र राखौं बलियो स्थानीय तह राखौं । र खर्च कटौती हामीबाट सुरू गरौं । तर, खर्च कटौतीको नाममा सेनाको औचित्यमा प्रश्न उठाएर बहसमा नल्याऔं । अहिले सेनालाई बलियो बनाउन जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर