पूर्वराष्ट्रपति भण्डारीको जन्मगाउँ आमबोटेको प्राविधिक शिक्षालयमा १६ जनालाई पालिकाको छात्रवृत्ति – Nepal Press

पूर्वराष्ट्रपति भण्डारीको जन्मगाउँ आमबोटेको प्राविधिक शिक्षालयमा १६ जनालाई पालिकाको छात्रवृत्ति

टक्सार । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बाली विज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट संचालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बाली विज्ञान पढने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृति सहयोग गर्न लागेको हो ।
रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५ मानेभञ्याङ, आमबोटेमा गत वर्षबाट श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेसँगै बाली विज्ञान कक्षा संचालन हुँदै आईरहेको छ । गाउँपालिका भित्र रहेका ८ वडाका दुई–दुई जना गरी १६ जना विद्यार्थीहरुलाई बाली विज्ञान अध्ययनका लागि गाउँपालिकाले छात्रवृृतिको व्यवस्था गरेको गाउँपालिका प्रशासन शाखाका अनन्त राईले जानकारी दिए । राईका अनुसार बहुप्राविधिक शिक्षालयमा ३ वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) मा अध्ययन गर्ने विद्यार्थीले पालिका मार्फत छात्रवृत्ति पाउने छन् ।
गाउँपालिका शिक्षा शाखा प्रमुख दान बहादुर भट्टराईका अनुसार छात्रवृत्ति प्रदान गर्ने विषयमा गाउँकार्यपालिका र शिक्षा समितिले निर्णय गरिसकेको छ भने छात्रवृत्तिको लागि आवेदन समेत माग गरिएको छ । गाउँपालिकाका अनुसार छात्रवृत्ति पाउन एसईई परीक्षामा कम्तिमा १.६ जीपीए ल्याएको हुनुपर्ने छ ।
आफनै पालिकामा शिक्षालय संचालनमा रहेकोले स्थानीय स्तरमा नै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति दिन लागिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । छात्रवृत्तिको लागि परेका आवेदनमा जेहेन्दार र विपन्नलाई प्राथमिकरण गरिने छ । गाउँपालिका अध्यक्ष राईले भने, ‘पालिकाले भोजपुर बहुमुखी क्याम्पसमा पढने विद्यार्थीहरुलाई समेत छात्रवृति उपलब्ध गराई रहेको छ, यो आफनै पालिकामा रहेको बहुप्राविधिक शिक्षालयमा पनि अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि छात्रवृति दिने निर्णय गरिएको हो ।’ यसले प्राविधिक शिक्षा तर्फ आर्कषण पनि बढछ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफनै जन्मगाउँ मानेभञ्याङको आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको हो । भोजपुर जस्तो दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न भण्डारीको पहलमा ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण भएको थियो । ५५ रोपनी क्षेत्रफलमा निर्माण भएको प्राविधिक शिक्षालयलाई पूर्वराष्ट्रपति भण्डारीले ३७ रोपनी र उनको अन्य परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गरेकी छन् ।
शिक्षालयमा एकाडेमिक भवनका साथै होस्टल, स्टाफ क्वाटर, कम्प्युटर ल्याव, प्रयोगात्मक भवन पनि निर्माण भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटीइभिटी)बाट सम्बन्धन प्राप्त शिक्षालयमा बाली विज्ञानको अध्ययन अध्यापन भई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर