रूपन्देहीमा एकै वर्ष २ सय उद्योग बन्द, चलेकामा पनि ३५ प्रतिशतभन्दा कम उत्पादन – Nepal Press

रूपन्देहीमा एकै वर्ष २ सय उद्योग बन्द, चलेकामा पनि ३५ प्रतिशतभन्दा कम उत्पादन

घरेलुमा १७ हजारभन्दा बढी उद्योग दर्ता, नवीकरण १०८४ मात्र

रुपन्देही । औद्योगिक क्षेत्रको रूपमा परिचित रुपन्देहीमा एक वर्षमा करिब २ सय उद्योग बन्द भएका छन् । आर्थिक मन्दीका कारण धमाधम यी उद्योगहरू बन्द भएपछि चुनौती थपिएको छ ।

देशमा सबैभन्दा बढी उद्योग भएको जिल्लामा कोरानाकालपछिको आर्थिक मन्दीले धराशायी भएका उद्योगहरू बन्द भएपछि नयाँ उद्योग गर्न चाहने पनि निराश छन् । सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा यो समस्या आएको उद्योगीहरूको गुनासो छ ।

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार एक वर्षमा १ सय ९० वटा उद्योग बन्द भए । यसले सयौंको रोजगारीसमेत गुमेको छ । लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैंकको चर्को ब्याजदर मुख्य समस्या भएको उद्योगीहरूको भनाइ छ । चलिरहेका उद्योगहरू पनि दैनिक ५-६ घण्टामात्र सञ्चालन हुने उनीहरू बताउँछन् ।

बजेटमा आएको नीतिका कारण रुपन्देहीमा लामो समयदेखि सञ्चालनमा रहेका फलाम उद्योग, स्टिल उद्योगलगायत विभिन्न खालका उद्योगहरू बन्द भएका छन् ।

सिमेन्ट उद्योग, मैदा उद्योग, चाउचाउ, बिस्कुट, उद्योग अधिकांश दैनिक बढीमा ६ घन्टामात्र चल्ने गरेका छन । पूर्णरूपमा स्वदेशी लगानी स्थापना भएका रुपन्देहीका १ सय ९० उद्योग आर्थिक बर्ष ७९।८० मा बन्द भएका हुन् । यी मध्ये उत्पादन क्षेत्रका ७४ र कृषि क्षेत्रका १४ रहेका छन् । त्यसैगरी उद्योग सेवातर्फ ५४, पर्यटनतर्फ ४८ उद्योगहरू बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालले जानकारी दिए । यो कार्यालयले असार २६ सम्म तयार गरेको अधावधिक तथ्यांक हो । कार्यालयमा दर्ता भएको उद्योगहरू बन्द भएपनि वाणिज्यमा भने त्यति धेरै बन्द भएका छैनन् ।

बैंकले लगानी नगर्नु र कर्जा लगानी गरेबापत महंगो ब्याज उठाउनु अर्को समस्या भएको व्यवसायीको गुनासो छ । उद्योग सञ्चालनमा समस्या भएको भन्दै फर्म बन्द गर्नेहरूको संख्या पनि बढ्दो रहेको घरेलु तथा साना उद्योग कार्यालय भैरहवाले जनाएको छ । कार्यालयका प्रमुख अर्जुन थापाले आर्थिक वर्ष २०७९।८० मा १९० जना उद्योगीले आफ्नो फर्म बन्द गराएको बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल औद्योगिक क्षेत्रको रूपमा चिनिएको रुपन्देहीमा एकै वर्ष धेरैमात्रामा उद्योग बन्द हुनु सामान्य नभएकोले सरकार गम्भीर हुनुपर्ने बताउँछन् ।

‘कोभिड महामारीपछि यसैपनि उद्योगीहरू थला परेका थिए, त्यसमाथि चालू वर्षमा पूँजीगत खर्चले उस्तै निराशा बनायो, ७/८ प्रतिशतमा ब्याजमा लिएका बैंकमा १८ प्रतिशतसम्म पुग्यो, र सरकारको नीति पनि उद्योगमैत्री भएन र उद्योगहरू चल्नै नसक्ने भएका हुन्, बन्द भएका भन्दा केही घन्टा मात्रै चलेका उद्योगहरू धेरै छन्’ उनले भने ।

अर्थतन्त्र चलायमान हुन नसक्नु, अन्तर्राष्टिय विमानस्थल बनेर पनि नचल्नु, पर्यटन क्षेत्रको लगानी उठ्न नसक्नुलगायतका कारण ३५ प्रतिशत पनि उत्पादन नभएको उनको भनाइ छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु उद्योगधन्दा बन्द हुनुमा सरकारले समयमा ध्यान नदिँदा र स्पष्ट औद्योगिक नीतिको अभाव र भएका पनि कार्यान्वयन नहुनु समस्या देख्छन् । अहिले पनि रुग्ण अवस्थामा रहेका कतिपय उद्योगहरूको अवस्था दिन प्रतिदिन निराशाजनक भएकोले सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा उनको जोड छ ।

कसजु भन्छन्, ‘राज्यकै नीति कमजोर हुँदा राज्य संयन्त्रको अभावको कारण अहिलेको अवस्था आएको हो, यो अझ बिकराल बन्ने छ, यसमा सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

रुपन्देहीमा घरेलुमा मात्रै करिब १४ हजार उद्योग दर्ता छन् । घरेलुमा उत्पादन, पर्यटन, अन्य व्यसायलाई समेत दर्ता गरिएकाले यति धेरै क्षेत्र भएका हुन् । जिल्लामा उत्पादन क्षेत्रमा मात्रै करिब करिब ४ हजार उद्योग छन् । १ हजारभन्दा बढी त रुपन्देही उद्योग संघमै आवद्ध छन् ।

युवा उद्यमी यादव भण्डारीका अनुसार अर्थक्षेत्रमा भएको समस्या, बैंक ब्याज र बजारको समस्याले साना उद्योगलाई समस्या भएको हो ।

‘पटक-पटक फेरिने उद्योग नीति, विभिन्न कर प्रणाली, बजारको समस्याले साना उद्योग बन्द भएका हुन् । ठूला झ्याप्पै बन्द गर्न समस्या छ, बैंकको लगानी धेरै हुन्छ, घरजग्गा धितो हुन्छ, उनीहरूलाई घाटामा नि चलाउन बाध्य हुनुपरेको छ’ उनले भने ।

नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एजाज आलम उद्योगीहरू अहिले उद्योग कसरी टिकाउने भन्ने विषयमा मात्रै केन्द्रीत भएको बताए । धेरै लगानीका उद्योगहरूलाई लगानी सल्टाउनका लागि पनि चलाउनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।

नवीकरणमा छैन उत्साह

साना तथा घरेलु उद्योग कार्यालय रुपन्देहीमा दर्ता भएका अधिकांश उद्योगहरू नवीकरण हुँदैनन् । १७ हजारभन्दा बढी उद्योग दर्ता रहेको घरेलु कार्यालयमा एक हजार ८४ उद्योगमात्र नवीकरण छन् । कार्यालयका अनुसार दर्ता भए पनि नवीकरणमा अत्यन्तै कमी भएको बताए ।

घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण भएको कागजात अन्य कार्यालयमा नवीकरण गर्दा नखोज्ने गरेकाले पनि नवीकरण नहुने गरेको उनको भनाइ छ । अन्तर कार्यालय समन्वयको अभावमा घरेलुमा दर्ता भएका उद्योगहरू नवीकरण नभएको हुनसक्ने सूचना अधिकारी भुसाल बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *