मृत फेला परेका टिचिङ फार्मेसी अधिकृतमाथि भइरहेको थियो औषधिमा हिनामिना गरेको छानबिन – Nepal Press

मृत फेला परेका टिचिङ फार्मेसी अधिकृतमाथि भइरहेको थियो औषधिमा हिनामिना गरेको छानबिन

काठमाडौं । संघीय राजधानीको महाराजगञ्जस्थित त्रिवि टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो एन्ड भास्कुलर सेन्टरमा शुक्रबार बिहान झुन्डिएको अवस्थामा फेला परेका फार्मेसी अधिकृत अमृत पोखरेलको शव अझै प्रहरीले उठाउन सकेको छैन ।

कर्मचारी र मृतकका आफन्तहरुले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रहरीका अनुसार दुई तलामाथि रहेको स्टोर रुमको भर्‍याङमा ३५ वर्षीय पोखरेल बिहान पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेका थिए । उनी बिहान ६ बजे घरबाट निस्किएका थिए ।

‘उहाँ बिहान पढाउन गएर अफिस आउनु हुने रहेछ । तर, आज पढाउन जानुभएको थियो कि थिएन भन्ने केही खुलेको छैन’, अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘अहिलेसम्म शव उठाउन सकिएको छैन । कसैले जाहेरी पनि दिएको छैन ।’

मृतककी श्रीमती नर्स हुन् । उनी पनि सोही अस्पतालमा काम गर्दै आएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानमा अस्पताल प्रशासनले पोखरेलमाथि छानबिन गरिरहेको पाइएको छ । औषधिमा हिनामिना गरेको आरोपपछि उनलाई फार्मेसी इन्चार्जको जिम्मेवारीबाट हटाएर छानबिन चलिरहेको थियो । छानबिनकै बीच पोखरेल झुन्डिएको अवस्थामा भेटिएको अनुसन्धान अधिकारी बताउँछन् ।

घटनास्थलबाट प्रहरीले सुसाइडट नोट पनि फेला पारेका छन् । त्यसमा उनले आफूमाथि भइरहेको छानबिन र हिनामिनाको विषयमा उल्लेख गरेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर